गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसियाभित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल २०२४’ मा छनोट भएको छ।
उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो।
जाफना सिनेमा फेस्टिभलको दसौं संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ। 'बुलाकी' प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म 'द रेड सुटकेस' ले जितेको थियो। फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुसी साटेका छन्।
उनले अर्को हप्ताबाट फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनी थालनीको तयारीमा रहेको समेत जानकारी दिएका छन्।
नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि विभिन्न अवार्ड पाइसकेको छ। पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
फिल्ममा विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय छ।