भोलिदेखि प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म 'सतीदेवी' र 'नमेटिने घाउ' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
मल्टिप्लेक्स हलहरूले फिल्मको शो तय गर्दै बुकिङ खुलाएका हुन्।
सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन 'सतीदेवी' लाई २५ शो दिएको छ।
काठमाडौं उपत्यकाका आउटलेटमा १३ शो र बाहिर १२ शो दिएको हो। क्युएफएक्सले 'नमेटिने घाउ' लाई २२ शो दिएको छ। काठमाडौंमा ८ र बाहिर १४ शो पाएको हो।
त्यस्तै, बिग मुभिजमा 'सतीदेवी' ले ३ शो पाएको छ। यसमा 'नमेटिने घाउ' लाई २ शो दिइएको छ।
आइएनआईले 'सतीदेवी' लाई ७ शो दिएको छ। 'नमेटिने घाउ' ले ३ शो पाएको छ।
वान सिनेमाजले दुवै फिल्मलाई ३–३ शो दिएको छ। एफक्युब, बिएसआर लगायतका मल्टिप्लेक्समा पनि बुकिङ खुला गराइएको छ।
लक्ष्मण सुवेदीको निर्देशन रहेको ‘सतीदेवी’ ले लैंगिक समानताको कथा उठान गरेको छ। यसमा मलिका महतले शीर्ष भूमिकामा अभिनय गरेकी छन्। साथमा हर्षिका ओली, मञ्जिला बानिया (बाल कलाकार), सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा लगायतको अभिनय छ।
त्यस्तै रमित ढुंगानाको निर्माण एवं निर्देशनमा बनेको 'नमेटिने घाउ' विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथामा बनेको फिल्म हो।
यसको शीर्ष भूमिकामा अधिकांश नयाँ कलाकार छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले यसमा अतिथि भूमिकामा अभिनय गरेका छन्।