सामाजिक कथामा बनेको फिल्म 'सतीदेवी' शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। यसलाई लक्ष्मण सुवेदीले लेखन एवं निर्देशन गरेका हुन्।
छोरीमाथि गरिने लैंगिक विभेदको कथालाई फिल्ममा उठान गरिएको छ। निर्देशक सुवेदी आफूले देखिरहेका घटनाहरूबाट प्रभावित रहेर यो फिल्म बनाएको बताउँछन्।
'यो काल्पनिक तर सत्य घटनाहरूबाट प्रभावित कथा हो,' उनले भने।
केही वर्षअघि काठमाडौं थापागाउँमा बस्दा आफूले नजिकबाट नियालेको घटनाबाट प्रभावित रहेर फिल्म बनाएको उनले बताए।
'त्यहाँ एउटा परिवारमा चारजना छोरीहरू थिए। छोरा भए हुन्थ्यो भन्ने मानसिकताले श्रीमान श्रीमतीबीच झै–झगडा भैरहन्थ्यो,' उनले भने, 'यो एउटा परिवारको मात्रै कथा होइन्। यो कथा भन्नुपर्छ। हाम्रो समाजमा मात्रै होइन्, संसारभरलाई देखाउनुपर्छ भन्ने लागेपछि फिल्म बनाएँ।'
फिल्मले मनोरञ्जनका साथै प्रशस्तै सन्देश दिने बताउँछन्। उनी भन्छन्, 'यो फिल्म अभिभावकले पनि हेर्नुपर्छ। सन्तानले पनि आमाबुवालाई फिल्म देखाउनुपर्छ।'
लक्ष्मण आफूले अन्तरमनदेखि इमानदार भएर फिल्म बनाएकाले दर्शकले रूचाउने विश्वास लिएका छन्।
फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतसंगीतलाई लिएर राम्रो प्रतिक्रिया आइरहेको छ। मंगलबार गरिएको प्रिमियरमा पनि फिल्मकर्मीबाट तारिफ पाएको छ।
यसअघि विभिन्न फिल्म फेस्टिभलमा समेत यसले अवार्ड जितिसकेको छ।
अब हलमा पनि फिल्मले दर्शकबाट राम्रो रेस्पोन्स पाउने विश्वास लक्ष्मणको छ।
'फिल्मको व्यवसाय दर्शकको हातमा छ। तर जतिले हेर्नुहुन्छ कोही निराश हुनुहुन्न भन्नेमा ढुक्क छु,' उनले भने।
फिल्ममा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन्। कतिपयले अभिनेत्रीलाई मुख्य भूमिकामा लिएर 'रिस्क' लिएको भनेर समेत उनलाई भनेका थिए।
लक्ष्मण भने आफूले 'कन्टेन्ट' मा फिल्म बनाउने आँट गरेको बताउँछन्। यो प्रयास व्यवसायिक रूपमा सफल भयो भने यसले नयाँ ट्रेन्ड सेट गर्ने र अन्य निर्माताले पनि यस्तो आँट गर्ने विश्वास रहेको उनले बताए।
लक्ष्मणले यसअघि 'एउटा साथी' लभस्टोरी र 'लालजोडी' कमेडी जनरामा निर्माण गरेका थिए।
अहिले महिलालाई केन्द्रमा राखेर 'सतीदेवी' बनाएका लक्ष्मणले यो फिल्म प्रदर्शनपछि 'पार्वती' बनाउने तयारीमा छन्।
आगामी फिल्म पनि महिलाकेन्द्रित हुने उनले बताए।