चर्चित हास्य सिरियल 'सक्किगोनि' ले बनाउन लागेको फिल्म 'लाज शरणम्' मा हरिश निरौला (कक्रोज) को पनि अभिनय रहने भएको छ।
सिरियलमा कक्रोज पात्रको भूमिकामा देखिँदै आएका उनी सोही नामबाट दर्शकमाझ परिचित छन्।
निर्माण कम्पनी जेपीटी क्रियसनले फिल्ममा कक्रोजलाई पनि लिइएको जानकारी गराएको हो। निर्माण टिमले बिहीबार सामाजिक सञ्जाल पोस्टबाट फिल्ममा उनलाई स्वागत गरिएको जनाएको छ।
फिल्म 'लाज शरणम्' लाई कुमार कट्टेल (जिग्री)ले निर्देशन गर्दैछन्।
फिल्ममा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) र प्रियना आचार्य (मुन्नी) को अभिनय रहने यसअघि सार्वजनिक गरिएको थियो। साथमा माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि फिल्ममा शीर्ष भूमिकामा अभिनय रहनेछ।
फिल्मको छायांकन भदौ तेस्रो सातादेखि सुरू गर्ने तयारी छ।
यसको निर्मातामा नवीन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन्। महाशिवरात्रीको अवसरमा फागुन १४ गतेलाई फिल्मको रिलिज तय छ।
कक्रोज सिरियलसँगै म्युजिक भिडिओमा पनि रूचाइएका कलाकार हुन्।