शुक्रबारदेखि दुईवटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
रंग पत्रकारिता हुँदै निर्देशनमा लागेका लक्ष्मण सुवेदी निर्देशित 'सतीदेवी' र अभिनेता रमित ढुंगाना निर्देशित 'नमेटिने घाउ' आजबाट हलमा लागेका हुन्।
'सतीदेवी' मा मलिका महत शीर्ष भूमिकामा छिन्। साथमा हर्षिका ओली, मञ्जिला बानिया (बाल कलाकार), सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोला सापकोटा लगायतको अभिनय छ। यो फिल्मले लैंगिक समानताको कथा उठाएको छ। यसको कथा निर्देशक सुवेदी स्वयंले लेखेका हुन्।
त्यस्तै 'नमेटिने घाउ' विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथामा बनेको फिल्म हो। यसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले अतिथि भूमिकामा अभिनय गरेका छन्। फिल्मको शीर्ष भूमिकामा अधिकांश नयाँ कलाकार छन्।
यसको कथा शिवम् अधिकारीले लेखेका हुन्।