मिस नेपाल इन्टरनेशनल २०२४, करुणा राउतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी प्रजनन् स्वास्थ्यका विषयमा छलफल गरेकी छन्।
पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा राउतले ग्रामीण क्षेत्रमा महिलाको प्रजनन् स्वास्थ्यका क्षेत्रमा आफूले गर्न लागेको कामबारे जानकारी गराएकी थिइन्।
राउत दुई महिनापछि जापानमा आयोजना हुन लागेको मिस इन्टरनेशनलमा भाग त्यसतर्फ जाँदै छिन्। त्यसअघि उनले दिगो विकासका लक्ष्यअन्तर्गत ब्यूटी विथ प्रपोज विधामा नेपालको दुर्गममा महिलाको प्रजनन् स्वास्थ्यका विषयमा सेवामूलक कार्यक्रमको तयारी गरेकी छन्।
भेटका क्रममा स्वास्थ्यमन्त्री पौडेलले राउतले सुरू गर्न लागेको उक्त कार्यक्रमका लागि शुभकामना दिँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्री पौडेल र राउत दुवै तनहुँबासी हुन्। अष्ट्रेलियामा रजिस्टर्ड नर्स राउत हालै सम्पन्न मिस नेपाल प्रतियोगितामा भाग लिन स्वदेश फर्केकी थिइन्।