टेलिसिरियल 'मेरी बास्सै' बाट दर्शकमाझ गहिरो छाप छाडेका कलाकार जोडी हुन् सीताराम कट्टेल र कुञ्जना घिमिरे।
यो सिरियलबाट उनीहरू धुर्मुस–सुन्तलीको उपनामले दर्शकमाझ लोकप्रिय बने। अहिले पनि उनीहरू वास्तविक नामभन्दा सिरियलमा निर्वाह गरेको नामबाटै बढी चिनिन्छिन्।
२०७२ सालको भूकम्पपछि सामाजिक काममा लागेका उनीहरू लामो समय कलाकारिताबाट टाढा रहे।
गत वर्षदेखि फेरि कलाकारितामा फर्किएका उनीहरू यतिबेला देश विदेशका कार्यक्रममा व्यस्त छन्।
४५ दिनको युरोप टुर सकेर हालसालै नेपाल फर्किएसँगै उनीहरूले राष्ट्रिय नाचघरमा आयोजित गाईजात्रा महोत्सवमा प्रस्तुति दिइरहेका छन्।
यो महोत्सव आगामी सोमबारसम्म चल्नेछ। उनीहरूले एक दशकपछि गाईजात्रा महोत्सवमा प्रस्तुति दिएका हुन्।
यसैबीच यो जोडीलाई लिएर नयाँ खबर प्राप्त छ। धुर्मुस र सुन्तलीलाई ‘मेरी बास्सै’ मा फर्काउने तयारीका साथ छलफल भइरहेको छ।
सिरियलको उत्पादन गर्दै आएको मिडिया हब प्रा.लिका कार्यकारी निर्देशक सोम धितालले यसबारे जानकारी दिएका हुन्।
'उहाँहरूलाई मेरी बास्सैमा ल्याउन हाम्रो इच्छा छ। सोहीअनुसार छलफल पनि भइरहेको छ। उहाँहरू पनि आउन इच्छुक हुनुहुन्छ,' धितालले सेतोपाटीसँग भने, 'तर विभिन्न कुराहरू टुंगो नलाग्दा सहमति भइसकेको छैन।'
उनले फेरि छिट्टै धुर्मुस सुन्तलीसँग छलफल गर्ने र सहमति भए दर्शकले चाँडै सिरियलमा देख्न पाउने बताए।
यता धुर्मुसले पनि मेरी बास्सै आफूहरूको कलाकारिताको पहिलो घर भएकाले सिरियलमा फर्किने सम्भावना रहेकोतर्फ संकेत गरे।
'मिडिया हबबाट कुरा आइरहेको छ। त्यसलाई हामी एकदमै सम्मानपूर्वक हेरेका छौं,' उनले भने, 'तर हामी यतिका वर्षपछि कलाकारितामा फर्किएका छौं। अब कसरी अगाडि बढ्ने भन्नेमा छलफलमै रहेकाले टुंगो लागिसकेको छैन।'
उनले आफूहरू दर्शकहरूको चाहनाअनुसार नै अगाडि बढ्ने बताए।
'तत्कालका लागि अन्य कुराको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले छलफलकै क्रममा छौं,' उनले भने।
'मेरी बास्सै' मा धुर्मुस सुन्तलीले एक दशकभन्दा लामो समय अभिनय गरेका थिए।