काठमाडौंस्थित रोयल थाई दूतावासले 'थाई फिल्म फेस्टिभल नेपाल २०२४' आयोजना गर्ने भएको छ।
भदौ १४ गते शुक्रबारदेखि तीन दिन फेस्टिभल हुने भएको हो।
सोमबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुवापोंग सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरू गर्न लागिएको बताए।
ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्स सिनेमा हलमा हुने फेस्टिभल १६ गते आइतबारसम्म चल्नेछ। यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो। यसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो।
राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए। साथै, उनले भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जनाए।
यस फेस्टिभलमा थाई फिल्म बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा फिल्महरू प्रदर्शन गरिनेछन्।
फेस्टिभलको उद्घाटन शुक्रबार बेलुका ५ः३० बजे 'हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज' फिल्मको प्रदर्शनसँगै हुनेछ।
त्यसपछि सोही दिन बेलुका 'प्याड थाई द मुभी' देखाइनेछ। भदौ १५ गते शनिबार मध्यान्ह १२ः१५ बजे 'टुगेदर द मुभी' र दिउँसो ३ बजे 'अन्डरटेकर' प्रदर्शन हुनेछ।
अन्तिम दिन भदौ १६ गते साँझ ५ः३० बजे 'ड्रिम अ लिटिल ड्रिम' र त्यसपछि साँझ ७ बजे 'ब्रोकन सोर्ड हिरो' चलचित्र प्रदर्शन हुनेछ। फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका फिल्महरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउने जनाइएको छ।