नवीन सुब्बाको फिल्म 'गाउँ आएको बाटो' लाई हङकङमा विशेष प्रदर्शन गरिएको छ। त्यहाँस्थित गोल्डेन सिन सिनेमाको हलमा आइतबार फिल्म प्रदर्शन गरिएको हो।
प्रदर्शनअघि आयोजित औपचारिक कार्यक्रममा निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू लगायत सहभागी थिए।
त्यस्तै, कार्यक्रममा हङकङको महावाणिज्य दूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघ संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
निर्देशक सुब्बाले फिल्म हेरेपछि हङकङका नेपाली दर्शकसँग साक्षात्कार पनि गरेका थिए।
उनले आफ्नो चलचित्रकर्ममा सुरूआती दिनदेखि हङकङबासी नेपाली समुदायले सहयोग गर्दै आएको बताए। हङकङका देवराज राई, अरूण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, मायादेवी राईलगायत जोडबलले यो प्रदर्शन सफल भएको उनले बताए।
निर्माता अमोद राईले हङकङको गोल्डेन सिनको सुविधा सम्पन्न हलमा 'गाउँ आएको बाटो' को विशेष प्रदर्शन ऐतिहासिक रूपमा सम्पन्न भएको बताए।
'गाउँ आएको बाटोलाई हेर्न झण्डै ८ सय दर्शकको उपस्थिति थियो। हामीले लामो समयदेखि देखेको यो सपना ऐतिहासिक रुपमा गोल्डेन सिन सिनेमाको हलमा भव्यताका साथ सम्पन्न भयो। चलचित्र हेर्न नेपाली दर्शकको उपस्थिति हामीले सोचेको भन्दा उल्लेख्य रह्यो। हामीले पहिलो पटक हङकङको सुविधा सम्पन्न हलमा देखाउँन सफल भयौँ। हामीलाई आगमी दिनमा काम गर्ने थप ऊर्जा मिलेको छ,' उनले भने।
हङकङमा रहेका कार्यकारी निर्माता देवराज राईले गाउँ आएको बाटो प्रदर्शनलाई लिएर खुसी व्यक्त गरे।
'गाउँ आएको बाटो' मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।
हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार किनेको हो। फिल्म अक्टोबर २८ मा चिनियाँ दर्शकमाझ सार्वजनिक प्रदर्शनको तयारी रहेको छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो फिल्ममा संलग्न भएर काम गरेका छन्।
थाइल्यान्ड, इन्डोनेसिया, इटाली र युकेमा पनि फिल्मलाई छिट्टै प्रदर्शन गर्ने तयारी छ।
फिल्म सम्पादन ताइवानका क्वान पुन लुङ र संगीतको काम हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।
फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो।