मंसिर ७ मा रिलिज विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म 'तेल भिसा' भोलि (शुक्रबार) देखि चौथो हप्तामा प्रवेश गर्दैछ।
यो फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ३६ लाख रूपैयाँ ग्रस कमाइ गरेको रिपोर्ट सार्वजनिक गरिएको थियो। त्यसयताको कमाइबारे भने जानकारी दिइएको छैन। स्रोतका अनुसार फिल्मको कमाइ ४ करोड हाराहारी छ।
वितरक करण श्रेष्ठले कलेक्सनको आधिकारिक रिपोर्ट आइतबार सार्वजनिक गर्ने तयारी रहेको बताए।
'कमाइ आफ्नो ठाउँमा छ। त्यो भन्दा पनि दर्शकको मन जित्नु ठूलो कुरा हो,' उनले भने, 'फिल्मको कथावस्तु दर्शकले एकदमै रूचाउनुभयो। कमाइ पनि राम्रै गरिरहेको छ। आइतबार सार्वजनिक गर्ने तयारी छ।'
वर्ड अफ माउथ राम्रो रहेकाले फिल्मको प्रदर्शन चौथो हप्तामा प्रवेश गर्न लागेको र अझ अगाडि जाने विश्वास रहेको वितरक श्रेष्ठको भनाइ छ।
'तेल भिसा' लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्।
विपिन र वर्षासहित ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको यसमा अभिनय छ। फिल्ममा विपिनले बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्।
छोरा–बुहारी भेट्न अमेरिका पुगेकी आमाले झेल्नुपरेको अप्रत्याशित कानुनी झमेलाको कथा यसमा देखाइएको छ। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा फिल्म बनेको हो।