एक समयको चर्चित गीत 'बतासले उडाइ ल्यायो' सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत नयाँ फिल्म 'भाइरल गोर्खे' मा समावेश गरिएको छ।
कुमार कान्छा र आशा भोस्लेको स्वर रहेको गीतको रिमेक भर्सनमा त्रिशला गुरूङ र दीपक लिम्बुले स्वर दिएका छन्।
बिहीबार युट्युबमा सार्वजनिक रिमेक भर्सनमा रोहित शाक्यको संगीत छ। सौगात र सृष्टि फिचर्ड भिडिओको कोरियोग्राफी श्याम पट्टेलले गरेका हुन्। भिडिओमा प्रेममा रहेका सौगात र सृष्टिको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ। प्रेममा रहेको यो जोडी एकअर्काप्रति समर्पित रहेको देखाइएको छ। सुन्दर दृश्यको पृष्ठभूमिमा सौगात र सृष्टिको प्रेमलाई प्रस्तुत गरिएको छ।
'चिनो' फिल्मको यो गीतका शब्द कुशुम गजमेरको हो। उक्त गीतमा रञ्जित गजमेरको संगीत थियो भने भिडिओको कोरियोग्राफर बसन्त श्रेष्ठ थिए।
'भाइरल गोर्खे' को कुरा गर्दा यो फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय छ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएको छ।
फिल्मको निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन्। 'भाइरल गोर्खे' माघ १ गते रिलिज हुनेछ।