गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।
गत मंगलबारदेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएपछि शनिबार राती डिस्चार्ड भएकी उनी निकट गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिए।
सांगीतिक प्रस्तुतिका लागि रूकुम पश्चिम पुगेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। सुरूमा एपेन्डिसाइटिसको शंका गरेर काठमाडौं ल्याइए पनि एपेन्डिसाइटिस नभइ आन्द्रामा संक्रमण र पेटको समस्या देखिएको थियो।
संक्रमणले आन्द्रा सुन्निएको देखिएपछि एन्टिबायोटिक्स चलाएर उनको उपचार गरिएको थियो।
रचनालाई यतिबेला थुप्रै संगीतकर्मी, शुभचिन्तक एवं फ्यानहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन्। बद्री पंगेनी, शान्तिश्री परियार, एलिना चौहान, बसन्त सापकोटा, भरतमणि पौडेललगायत कलाकारहरू उनलाई भेट्न अस्पतालमा पुगेका थिए।
रचना स्टेज र स्टुडिओमा सर्वाधिक व्यस्तमध्येकी गायिका हुन्। अब केही समय उनी रेकर्डिङ र स्टेजबाट टाढा रहेर घरमै आराम गर्नेछिन्।