'पूर्णबहादुरको सारंगी' का निर्देशक सरोज पौडेलले आगामी फिल्मको छायांकन सकेका छन्। फिल्म 'कोशेढुंगा' को छायांकन उनले सोमबार ५१ दिनमा पूरा गरेका हुन्।
मकवानपुरको चित्लाङ, मार्खुलगायत क्षेत्रमा गीत खिच्दै ५१ दिनमा छायांकन सकिएको पौडेलले बताए।
त्यसअघि ललितपुरको च्यासलस्थित सेट लगाएर छायांकन सुरू गरिएको ‘कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरूवारी क्षेत्रमा छायाकंन गरिएको थियो।
नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुंगा’ मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले यो फिल्म खिचेका हुन्।
निर्माणपक्षले फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको छ। 'कोशेढुंगा' भदौ १२ गते नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ। यसलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ।