म्युजिक भिडिओ निर्देशनमा जमेकी स्मृति तिमिल्सिना (गुरूआमा) ले फिल्मको गीतमा पहिलोपटक काम गरिन्। यति बेला चर्चामा रहेको गीत 'नत्र भने जिन्दगी व्यर्थ छ' स्मृतिको कोरियोग्राफीमा बनेको हो। यो उनले काम गरेको पहिलो फिल्मी गीत हो।
फिल्म 'कोशेढुंगा' मा समावेश यो तीज गीत रिलिज भएलगत्तै चर्चामा छ। गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको हुकलाइन र खेमकै संगीत छ। खेम सेञ्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले यसमा स्वर दिएका छन्।
यसको भिडिओमा कोरियोग्राफर स्मृतिले फिल्मका शीर्ष कलाकारहरू सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मालगायतलाई नचाएकी छन्। युट्युबमा गीतले ८ दिनमा १२ लाखभन्दा बढी भ्युज पाएको छ।
स्मृति खासगरी लोकदोहोरी भिडिओ निर्देशन र कोरियोग्राफीमा चलेको नाम हो। एक समय स्मृति निर्देशक शंकर बिसीले निर्देशन गर्ने भिडिओमा कोरस नाच्थिन् भने पछि शंकर बिसीको सह-निर्देशक भएर काम गरिन्। क्रमशः उनी आफै निर्देशनमा होमिइन् र छुट्टै पहिचान बनाइन्।
अहिले आएर पहिलो पटक फिल्ममा जोडिएर काम गरेकी उनको पहिलो काम नै रूचाइएको छ। 'नत्र भने जिन्दगी व्यर्थ छ' गीतले चर्चा पाउँदा थप मेहनत गर्न ऊर्जा मिलेको स्मृतिले बताइन्।
यो गायक खेमको पनि पहिलो फिल्मी गीत हो। यसअघि उनी केही फिल्ममा जोडिए पनि रिलिजका हिसाबले 'नत्र भने जिन्दगी व्यर्थ छ' पहिलो बनेको हो।
'कोशेढुंगा' को कुरा गर्दा यो सरोज पौडेलको निर्देशनमा बनेको फिल्म हो। फिल्म भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।