फिल्म 'कोशेढुंगा' को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश तीजको डान्सिङ गीत 'नत्र भने जिन्दगी व्यर्थ छ' हिट भएपछि निर्माण टिमले प्रेमिल गीत ल्याएको हो।
'भँगेरा र भँगेरी' शीर्षकको गीतमा प्रेममा रहेका युवायुवतीले कथा देखाइएको छ। एकले अर्कालाई सँगै जीवन बिताउन आग्रह गर्दै सुखी जीवनयापनका लागि आम्दानीको स्रोत के हो भन्ने प्रश्न समेत गीतले गरेको छ।
जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने गीतले प्रेमसँगै जोडिएर आउने भविष्यको समस्यालाई पनि दर्शाउने प्रयास गरेको छ।
भँगेरा र भँगेरीको मायालाई बिम्ब बनाएर तयार पारिएको गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत रिदम कँडेलको छ। शब्दरचना बिदुर तिमल्सिना (देवदूत) को हो। गीतको भिडिओमा सुरक्षा पन्त र मन्जिल कुमारको नृत्य छ।
सरोज पौडेलको निर्देशन रहेको फिल्म 'कोशेढुंगा' भदौ १२ गते रिलिज हुँदै छ। नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको 'कोशेढुंगा' मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारहरूको अभिनय छ।
'कोशेढुंगा' को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्।
बाबु श्रेष्ठले छायांकन रहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन छ।