'मिस भिवा-२०२५' को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन्।
बुधबार बेलुका काठमाडौंको याक एण्ड यति होटलमा भएको ग्राण्ड फिनालेमा १५ जना अन्तिम प्रतिस्पर्धीहरूमध्ये ठकुरीले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै उनलाई करिब २५ लाख रूपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरियो।
'मिस भिवा-२०२५' मा निसिता जोशी फस्र्ट रनर-अप, निशा श्रेष्ठ सेकेन्ड रनर-अप, आस्मा रिजाल थर्ड रनर-अप र टिना परियार फोर्थ रनर-अप बने।
साथै, प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिहरू प्रदान गरिएको थियो। जसमध्ये 'मिस आईसीटी अवार्ड' आस्मा रिजालले, 'मिस ब्यूटिफुल स्किन' र 'बेस्ट इन इभिनिङ गाउन' जेशिका सिंह ठकुरीले, 'मिस बेस्ट मेकअप लुक' निशा श्रेष्ठले, 'मिस बेस्ट इन स्विमसुट' टिना परियारले र 'मिस इको क्विन' को उपाधि आकृति घिमिरेले जित्न सफल भएकी छन्।
कार्यक्रममा 'मिस ग्रान्ड इन्डिया-२०२५' की विजेता विशाखा कंवरको पनि विशेष सहभागिता रहेको थियो।
आयोजक उमंग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो। सन् २०२३ सम्म विजेतालाई 'मिस युनिभर्स' मा पठाइए पनि त्यसपछि देखि 'मिस ग्रान्ड इन्टरनेशनल' मा सहभागी गराउने व्यवस्था गरिएको छ।
यस पटक विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् भने रनर–अपहरूले विभिन्न पुरस्कारहरू हात पार्नेछन्। यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको उनले बताए।
संस्थापक अधिकारीका अनुसार यस्ता सौन्दर्य प्रतियोगिताले सौन्दर्य मात्र नभई सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।