म क्यानडामा सामाजिक विकास विषयको विद्यार्थी हुँदा हामीलाई क्यानडियन ब्रोडकास्टिङ कर्पोरेसनमा अन्तर्राष्ट्रिय रूपमा पुरस्कृत एउटा अत्यन्त मर्मस्पर्शी वृत्तचित्र देखाइएको थियो।
नाम थियो 'सेलिङ अफ इन्नोसेन्ट' अर्थात् 'अबोधहरूको बिक्री'।
वृत्तचित्रको मुख्य विषयवस्तु थियो – नेपालको सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट कसरी किशोरी तथा युवतीहरू अनेक प्रलोभन र अन्य कारणहरूले भारतका विभिन्न वेश्यालयहरूमा पुग्छन्? त्यहाँ उनीहरूको जीवन कस्तो हुन्छ?
त्यो वृत्तचित्रमा भारतको कमाठीपुरामा अलपत्र परेका केही चेलीहरूको उद्धारको कथा थियो। वेश्यालयमा भोग्नुपर्ने नारकीय जीवनको कथा थियो। मानवीय संवेदना साँच्चै बलियो गरी झक्झक्याउने खालको प्रस्तुति थियो।
पूरै वृत्तचित्रको सूत्रधारका रूपमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला देखाइएकी थिइन्।
त्यो वृत्तचित्र हेरेको केही समयपछि म काम गर्ने संस्थाले माइती नेपालको कार्यालय अवलोकन गरायो। त्यहाँ अनुराधा कोइरालाले नेपालको दक्षिणी सिमानाबाट भारत पुर्याउन लगिएका किशोरी र युवतीहरूको उद्धार माइती नेपालले कसरी गर्छ, प्रहरीसँग कसरी संयोजन गर्छ र यसका चुनौती के छन् भनेर स्लाइडमा प्रस्तुत गरिन्।
यसपछि मलाई मुम्बईको कमाठीपुराको अवलोकन र अध्ययन गर्ने अवसर मिल्यो। 'सेलिङ अफ इन्नोसेन्ट डकुमेन्ट्री' हेरेको र अनुराधा कोइरालाको प्रस्तुति सुनेका कारणले मैले कमाठीपुराको अवस्था वृत्तचित्रको कथा र अनुराधाको प्रस्तुतिसँग तुलना गरेर हेर्नु स्वाभाविक थियो।
मैले कमाठीपुराको भ्रमण गरेको पनि वर्षौं बितिसकेको छ तर हालै सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट हेरेपछि सो ठाउँको दृश्य मेरो मानसपटलमा फेरि घुम्न थाल्यो। यो यात्रा अनुभव लेख्नुको कारण पनि त्यही हो।
भिडिओ पोस्टले भनेअनुसार भारतका दसवटा प्रख्यात वा कुख्यात वेश्यालयमध्ये कलकत्ताको सोनागाछी पछि कमाठीपुरा दोस्रोमा आउँदो रहेछ। अहिले पनि त्यहाँ जनजीवन उस्तै छ, जस्तो वर्षौंअघि थियो।
रेडलाइट एरिया भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा चित्र कोरिएको हुन्छ– त्यहाँ कयौं महिलाहरूले अनेक विवशताका कारणले देहव्यापारको पेसा अपनाएका हुन्छन्। कयौंलाई त्यसो गर्न बाध्य बनाइएको हुन्छ। उनीहरू पीडित हुन्छन्, अनेक कष्ट सहेर त्यहाँ बसेका हुन्छन्।
मैले मेरो दिमागको त्यस्तै चित्रअनुसार कमाठीपुरामा केही प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको थिएँ। तर दिमागमा कोरिएको चित्रसँग मिल्ने जवाफ पाइनँ। बाहिरबाट हेर्दा जसरी एउटा कुनै भिडभाडयुक्त सहरमा जनजीवन चलिरहेको हुन्छ, त्यसरी नै जीवन चलिरहेको देखेँ। त्यो पनि कुनै अवरोध र कुनै गुनासोबिना।
हामी कमाठीपुरामा आफूखुसी गएका थिएनौं। लामो समयदेखि त्यहाँ यौनकर्मीहरूको स्वास्थ्य तथा अन्य अधिकारको क्षेत्रमा काम गरेको भारतीय एक गैरसरकारी संस्थाको संयोजन र सहयोगमा गएका थियौं। त्यो संस्थाका एकजना वरिष्ठ कर्मचारी पनि हाम्रो साथमा थिए।
कमाठीपुरा मुम्बईका गल्लीयुक्त सहरी भागभन्दा फरक थिएन। जहाँ पुग्दा पनि सानो ठाउँमा धेरै मानिस बसोवास गरेर गुजारा चलाउने गरेको देखिन्थ्यो। गल्लीमै देहव्यापारका कोठीहरू देखिन्थे। कोठी भएका घरका आँगन र गल्लीमा विभिन्न उमेरका महिलाहरू लहरै उभिएका देखिन्थे। ती महिलाहरू विभिन्न गहना र अलिक असामान्यजस्तो लाग्ने शृंगारले सजिएका हुन्थे।
हाम्रो साथमा रहेका भारतीय संस्थाका प्रतिनिधिका अनुसार देहव्यापारमा लागेका–लगाइएका महिला तिनै थिए। तीमध्ये कतिपयलाई मैले नेपाली चेलीबेटीजस्ता देखेँ। कोहीकोही त ठ्याक्कै नेपाली पोसाक लगाएका जस्ता देखिन्थे।
ती सबै महिलाहरू शृंगार र पोसाकले झपक्क देखिए पनि तिनको अनुहारमा उदासिनता र बिरक्ती झल्किन्थ्यो, रगत नभएर फुंग उडेको जस्तो देखिन्थ्यो। हाम्रा भारतीय साथीले यौनकर्मी महिलाहरू आफ्नो कमाइ गहना र लुगामा खर्च गर्छन् अनि गल्लीमा निस्केर प्रदर्शन गर्छन् भने। उनीहरूमध्ये धेरैका गहना सक्कली हुन्छन् भन्थे।
भारतीय साथीले भनेअनुसार कोठीमा परिवार हुने महिलाहरू पनि धेरै हुन्छन्। कोही परिवार भएरै पनि कोठीमा आएका हुन्छन् त कसैले कोठीमा आएपछि परिवार बनाएका हुन्छन्। तिनले आफ्नो कमाइले परिवार पनि पालेका हुन्छन्। धेरैले राम्रै कमाइ गरेका हुन्छन्। यौनकर्ममा यसरी अभ्यस्त भएका हुन्छन् कि बाहिर भनिएजस्तो दुःखी हुँदैनन्, अधिकांश महिलाहरू आफ्नो आम्दानीमा सन्तुष्ट हुन्छन् भनेर उनले सुनाए।
केही बेर बाहिर घुमेपछि ती भारतीय साथीले हामीलाई एउटा कोठीमा लगे। त्यहाँ एउटै घरमा कम्तीमा २५ जना यौनकर्मी महिला छन् भन्थे। कोठीमा हाम्रो उपस्थितिको कारण पहिले नै जानकारी गराइएको थियो। कोठी चलाउने महिलाले प्रवेशको अनुमति दिएकी थिइन्।
हामी गएपछि कोठी सञ्चालक र अन्य महिलाहरू कुरा गर्न आए। उनीहरूसँग बडो सौहार्द ढंगले स्पष्ट संवाद भयो। कमाठीपुराका कोठीहरूमा नेपाली महिला कति छन् कुनै तथ्यांक थिएन तर प्रस्टै चिनिने नेपाली अनुहार धेरै ठाउँमा देखिए।
भारतका रेडलाइट एरियामा जनजाति मूलका महिलाको संख्या बढी छ भन्ने सुनेको थिएँ। कमाठीपुराको भ्रमणले मेरो भ्रम तोडियो। हामी गएको कोठी चलाउने महिला सुनार थरकी थिइन्। उनले आफ्नो कोठीमा भएका अधिकांश यौनकर्मीहरू सुनार नै छन् भनिन्। त्यहाँ भएका धेरै महिला नेपाली नै थिए।
उनले भनेअनुसार उनी सिन्धुपाल्चोकको सिन्धुकोट भन्ने ठाउँकी थिइन् र धेरै वर्षअघि कमाठीपुरा पुगेर त्यही बस्न थालिन्। उनको कुरा सुनेपछि यौनकर्मका लागि बेचबिखन हुनेमा दलित महिला पनि धेरै रहेछन् भन्ने मैले थाहा पाएँ।
त्यो कोठीमा भएका सबै महिलालाई माइती नेपाल र अनुराधा कोइरालाका बारेमा धेरै कुरा थाहा रहेछ। उनीहरूका आसपासका केही यौनकर्मी महिला माइती नेपालको सहयोगमा नेपाल फर्केको पनि बताए।
ती यौनकर्मी महिलाहरूले कमाठीपुराका उनीहरूको जीवनको कुरा सुनाए, त्यो सुन्दा उनीहरू पेसा छाडेर नेपाल फर्किने विचारमा देखिँदैन थिए। पेसामा सन्तुष्ट भएर, कमाइ हुने भएर होइन; हामी फर्केर घर गए पनि त्यहाँको समाजमा बस्न सक्दैनौं, हामीलाई समाजले अस्वीकार गर्छ भन्ने उनीहरूको निष्कर्ष सुनिन्थ्यो।
समाजले स्वीकार नगरेपछि रोजगारी हुँदैन। इज्जत हुँदैन। त्यस बेला कुनै संस्थाको शरणमा जानुपर्छ। त्यो जिन्दगी अहिलेको भन्दा दुःखी हुन्छ भन्ने उनीहरूलाई लाग्दो रहेछ। जे हुनु भइगयो, यस्तैमा परिहालियो, अब सकुन्जेल यहीँ बस्ने भन्दा रहेछन्।
यसकारण उनीहरू पेसा छाडेर फर्किन नचाहने रहेछन्।
बाहिर आएपछि भारतीय साथीसँग कोठीका महिलाहरूले भनेको कुरामा छलफल भयो। ती साथी काम गर्ने गैरसरकारी संस्था कोठीहरूमा एचआइभी/एड्स संक्रमण फैलिन नदिने उद्देश्यले काम गर्थ्यो। यौनकर्मीहरूका लागि चेतनामूलक कार्यक्रम चलाउँथ्यो। यौनकर्मी महिलाको जोगाएको पैसा बचत गरिदिने र कोठीबाट बाहिर आएकालाई रोजगारीका लागि सहजीकरण गर्ने काम पनि गर्ने गरेको रहेछ।
ती साथीले अर्को एउटा गज्जबको कुरा पनि सुनाए। कतिपय ग्राहक कोठीका महिला मन पराएर बिहे गर्ने मनसायले पनि आउँछन्। त्यस्तो अवस्थामा उनको संस्थाले सहजीकरण पनि गर्दो रहेछ। उनले त्यसरी घरजम गरेर बसेका दम्पती थुप्रै छन् भनेर सुनाए। कतिपय महिला बिहे हुने अपेक्षा गरेर पनि बसेका हुँदा रहेछन्।
कोठीमा संवादपछि हामी फेरि कमाठीपुराको अवलोकनमा निस्कियौं। त्यहाँ एउटा प्रहरी चौकी देखियो। प्रहरीहरू लठ्ठी लिएर ठाउँठाउँमा गस्ती गरिरहेका देखिन्थे। जनजीवनका लागि सबै खालका पसलहरू थिए। ससाना सिनेमा घर पनि देखिए। ती सिनेमा घरमा यौनसम्बन्धी फिल्म देखाउँछन् भन्थे।
देशव्यापार संसारकै सबैभन्दा पुराना पेसा मध्येको एक हो भन्ने गरिएको छ। कमाठीपुराको अवलोकनपछि मेरो मनमा एउटा प्रश्न उनुत्तरित रह्यो– त्यस्तो पुरानो पेसा साँच्चै निन्दित, हेय, अमानवीय र विवशताको परिणाम हो कि त्योभन्दा बढी त्यस्तो भाष्य बनाइएको हो?
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्