राजदरबारका पूर्व सैनिक सचिव विवेक कुमार शाहको दोस्रो किताब 'दरबारबाट देखेको नेपाल' पढ्ने मौका पाएँ।
उनको पहिलो किताब 'मैले देखेको दरबार' पढ्ने अवसर मिलेको थिएन। चर्चा र विषयका हिसाबले उनको पहिलो किताब बढी जानकारी राख्ने होला भन्ने लाग्छ।
'दरबारबाट देखेको नेपाल' किताबको विषयवस्तु विवेक कुमार शाहको भोगाइ वरिपरि घुमेको छ।
किताब पढ्दै जाँदा पाठकका सबै अपेक्षा पूरा नहुन सक्छन्। दरबार हत्याकाण्ड, दरबारभित्रका यौनकाण्ड, अवैध व्यापार, पोखरामा भएको नमिता सुनिता हत्याकाण्ड, मूर्तिव्यापार जस्ता कुनै पनि विषयमा किताबमा कत्ति पनि उक्काइएको छैन।
किताबको मूल मर्म राजतन्त्रलाई नेपालको भाग्य विदाता बनाउने काम र दरबारबाट भएका कुकर्ममाथि पर्दा ओढाउने काम चाहिँ भएको छ। यति हुँदाहुँदै पनि केही प्रसंगहरूलाई शाहले सांकेतिक रूपमा व्यक्त गरेका छन्।
तत्कालीन रानी ऐश्वर्यको उदण्ड बानी, दीपेन्द्रले गर्ने लागुपदार्थ सेवन, नेपाली सेनाभित्र दरबारले गर्ने राजनीति आदिका बारेमा थोरै कुराहरू राखेका छन्। लाग्छ यी विषयमा खुलस्त लेखेर पाठकलाई जानकारी दिन शाह हिच्किचाएका छन्, अथवा भनौं उनीसँग त्रास र सङ्कोच छ।
हुन त उनी नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन्। उनीभित्र अनुशासन र सांगठनिक गोपनीयताका सीमाहरू होलान्। त्यसरी सोच्ने हो भने किताब नलेखेकै राम्रो। कुनै पनि सर्जकको कृति आफ्नो महिमा गाउन र भ्रम सिर्जना गर्नका लागि प्रयोग हुनुहुँदैन भन्ने मान्यता राख्नुपर्छ।
किताब पढ्दा खासै नयाँ कुरा पाइँदैन। दरबारका बारेमा थुप्रै किताब प्रकाशित भइसकेकाले पनि हुन सक्छ अथवा लेखाइ उति मीठो नभएकाले पनि हुन सक्छ। कतिपय प्रसंग त किताबका पाना थप्नका लागि मात्र प्रयुक्त भएका छन्। २०८० फागुनमा साङ्ग्रिला बुक्सले प्रकाशक गरेको 'दरबारबाट देखेको नेपाल' ३४५ पृष्ठको रहेको छ र मूल्य ७५५ रुपैयाँ रहेको छ।
किताब लेखाइको सबैभन्दा ठूलो कमजोरी मिति उल्लेख नहुनु हो। कुनै प्रसङ्ग लेख्दा मिति उल्लेख भएको भए त्यसको सान्दर्भिकता प्रस्ट हुने थियो। बेलायत तालिमा गएको फर्किएर दरबारको सैनिक सचिवालयमा काम गर्न थालेको आदि कुराहरू छन् तर कुन मितिमा भन्ने थाहा नपाउँदा पाठक अल्मलिन्छन्। कमजोर प्रस्तुति र सम्पादनमा भएको लापरबाहीले गर्दा किताबले ओज लिन पाएको छैन।
दरबारमा त्यति लामो समय काम गरेका शाहले तीन जना राजा र दर्जनौं प्रधानमन्त्री भोगेका छन्। नेपालका ठूला राजनीतिक परिवर्तन देखेका भोगेका उनले दरबारको त्यो समयको मनोदशा कस्तो थियो भन्ने कुरा राम्ररी बुझेको हुनुपर्छ। उनीसँग भएको त्यो विषयलाई किताबमा उतार्न उनी असमर्थ छन्।
समग्रमा किताबले उस्तो ज्ञान नदिए पनि केही गम्भीर त्रुटी बोकेको छ।
किताबको पृष्ठ ३ मा राजा वीरेन्द्रसँग अप्रत्याशित संवाद शीर्षक रहेको छ। यही शीर्षकबाट किताबको यात्रा पनि सुरू हुन्छ। थालनी वाक्य यस्तो छ 'यो प्रसङ्ग २०४२ साल जेठको हो। त्यसताका म राजदरबारमा रात्रिकालीन सेवा (नाइट ड्युटी)मा थिएँ…'
विवेक कुमार शाहका अनुसार उनी राजदरबारमा सेवा गर्न थालेपछि तत्कालीन राजा वीरेन्द्रसँग उनको पहिलो भेट थियो त्यो। कुनै पूर्व अनुमान र कार्यक्रममा नराखिएकाले उनले यस्लाई अप्रत्याशित संवाद शीर्षक देखिएका छन्। त्यसकारण उनले यो संवादलाई निकै महत्व दिएर डिटेलमा वर्णन गरेका छन्।
खासमा त्यो दिन तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजासँग दर्शन भेटको कार्यक्रम थियो। तर प्रधानमन्त्री चन्द अस्वस्थ बनेर आउन नसकेपछि दरबारका सबै कर्मचारीले बेलैमा घर जान पाएको र राजा फुर्सदमा भएकाले आफूसँग देश र विदेशका विषयमा गहन छलफल भएको विवेक कुमार शाहले वर्णन गरेका छन्।
विवेक कुमार शाहका अनुसार किताबको मियो नै यही विषय हो। अत्यन्त ज्ञानी र दूरद्रस्टा कहलिएका राजाले देश र विदेशको तत्कालीन परिस्थितिको चिरफार गर्दै कुराकानी गरेपछि दरबारबाट नेपाल त छर्लंङ्गै देखिने नै भयो। राजाले विभिन्न जिज्ञासा राखेर आफ्नो विचार बुझ्न खोजेपछि विवेकले पनि सकेसम्म आफ्नो ज्ञान, सीप, अनुभव र विचार व्यक्त गरेका छन्। राष्ट्र नायकले यथेष्ट समय दिएर यसरी विचार बुझ्न खोज्नु र आफ्ना भावनाहरू खुलस्त रूपमा राख्न पाउनु एउटा सैनिक कर्मचारीका लागि निकै ठूलो अवसर पनि हो। अथवा भनौं जोसुकैका लागि पनि यो यस्ता अवसर बारम्बार आउँदैन। अझ राष्ट्र नायकले उच्चस्तरको सेवा सुविधा दिएर नियुक्त गरेका परामर्शदाता र सल्लाहकारलाई नै पनि आफ्नो स्वविचार व्यक्त गर्ने अधिकार अत्यन्त न्यून मात्रामा प्राप्त हुन्छ।
यसर्थ विवेक कुमार शाहले यही विषयलाई मियो बनाएर किताबको थालनी गरेका छन्। अनि राजाको त्यो विचार नै देश र विदेश नियाल्ने आँखीझ्याल पनि बनेको कुरा किताब पढ्दै जाँदा ज्ञात हुन्छ। त्यसकारण किताबको नाम 'दरबारबाट देखेको नेपाल'ले केही हदसम्म सार्थकता पाएको महसुस हुन्छ। राजाले देश, जनता, दुनियाँलाई कुन दृष्टिले हेर्छन् र कस्तो जानकारी राख्छन् भन्ने कुरालाई किताबका विभिन्न प्रसङ्गमा पनि जोडेर थप बल दिइएको छ।
राजासँगको कुराकानीको व्याख्या गर्ने क्रममा शाहले पृष्ठ ६ मा यस्तो लेखेका छन् - त्यो समय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रभावकारी संस्थाको रूपमा उदाउँदै थियो। २०४२ मंसिर २३ (८ डिसेम्बर १९८५) मा स्थापना भएको सार्कले दक्षिण एसियाली क्षेत्रको आपसी हित र विकासमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिँदै थियो। नवगठित सार्कले केही समस्या पनि झेलिरहेको थियो।
किताब पढ्दा पाठकको दिमाग रन्थनिन्छ। किनभने कुरा हुँदैछ २०४२ साल जेठमा। अनि विषय चाहिँ २०४२ मंसिरमा स्थापित सार्कका बारेमा छ। एक हिसाबले सोच्न सकिन्छ कि सार्क स्थापनाको तयारी हुँदै गर्दा कुरा भएको हो। ६ महिनापछि स्थापना हुने संस्थाका बारेमा कुरा हुन पनि सक्छ।
'नवगठित सार्कले केही समस्या पनि झेलिरहेको थियो' भन्ने वाक्यले त त्यस्तो भन्दैन।
अब पाठकले यहाँ के बुझ्ने? पाठकसँग दुई वटा विकल्प हुन सक्छन्। पहिलो विकल्प कुरा २०४२ जेठको नभई २०४३ जेठको हुन सक्छ। दोस्रो विकल्प जर्साबले मनगणन्ते कुरा चाहिँ मिलाए तर मिति मिलाउन जानेनन्।
पृष्ठ २५ मा शाहले लेखेका छन्, 'केही वर्ष अघि ब्राजिलमा अति कम विकसित मुलुकहरूको सम्मेलन भएको थियो। सम्मेलनमा भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मे थिन्लेले भाग लिएका थिए। त्यो सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री थिन्लेले चीनका तत्कालीन प्रधानमन्त्री विन्जा बाओसँग भेट गरे। त्यसबेलासम्म चीन र भुटानबीच कूटनीतिक सम्बन्ध थिएन।'
उल्लिखित भनाइका दुई वटा तथ्यले शाहसँग अन्तर्राष्ट्रिय परिवेश र कूटनीतिका बारेमा निकै कम ज्ञान र कमजोर बुझाइ रहेछ भन्ने पुष्टि हुन्छ।
पहिलो तथ्यः ब्राजिलमा सन् २०१२ जुन २० देखि २२ सम्म आयोजना भएको सम्मेलन 'अतिकम विकसित मुलुकहरूको सम्मेलन' होइन्। उक्त सम्मेलन संयुक्त राष्ट्र संघले आयोजना गरेको 'दिगो विकास सम्मेलन' थियो। उक्त सम्मेलनमा सहभागी हुँदा चिनियाँ प्रधानमन्त्री वन च्यापाओ (नेपाली उच्चारण अनुसार शाहले विन्जा बाओ लेखेका छन्) र भुटानी तत्कालीन प्रधानमन्त्री जिग्मे थिन्लेले सन् २०१२ जुन २१ तारिख वार्ता गरेका थिए।
दोस्रो तथ्यः शाहले लेखेको वाक्य 'त्यतिबेलासम्म चीन र भुटानबीच कूटनीतिक सम्बन्ध थिएन' ले दिने अर्थ त्यसपछि चीन र भुटानबीचमा कूटनीतिक सम्बन्ध छ भन्ने रहन्छ। यथार्थमा चीन र भुटानबीचमा अझै पनि कूटनीतिक सम्बन्ध स्थापना भएको छैन।
शाहले नेपालको छिमेकी मुलुक चीनका बारेमा केही भ्रमपूर्ण विषय उल्लेख गरेका छन्। पृष्ठ ६५ र ६६ मा उनले शैनिक सेवाबाट राजीनामा दिएपछि २०६० साल फागुनमा निजी भ्रमणका रुपमा श्रीमतीसँग चीन भ्रमणमा गएको उल्लेख गरेका छन्। त्यसभन्दा अगाडि उनले सरकारी टोलीमा सहभागी भएर पहिलोपटक सन् १९७७ मा तत्कालीन राजा बीरेन्द्रसँग पहिलोपटक र सन् २००२ मा तत्कालीन राजा ज्ञानेन्द्रसँग अन्तिम पटक चीनको भ्रमण गरेको लेखेका छन्। त्यसबीचमा थुप्रैपटक चीनको भ्रमण गरेको ठाउँ ठाउँमा उल्लेख छ।
चिनियाँ थिङ्कट्याङ्कले पत्याएर निमन्त्रणा गरेको र चीनका विभिन्न विश्वविद्यालयमा आयोजित गोष्ठीमा भाग लिएको जनाएका शाहले चीनका केही संवेदनशील कुरामा आघात पर्ने गरी किताबमा लेखेका छन्। उदाहरुका लागि पृष्ठ ७ मा उनले लेखेका छन् - '…तिब्बतलाई चीनको भूभागका रुपमा विलय गरेपछि तिब्बतका धर्मगुरु दलाई लामा आफ्ना समर्थकसहित भारतमा बसेको…' त्यसैगरी पृष्ठ ८५ मा लेखेका छन् -'सन् १९५९ मा दलाई लामालाई तिब्बतबाट विस्थापित गरेपछि तिब्बतको पनि बिस्तारै विकास हुन थाल्यो।'
उल्लिखित दुई प्रसङ्गले नेपाली सेनाको उच्चपदमा काम गरेका शाहमा पनि चीनका बारेमा कमजोर बुझाइ मात्र होइन तथ्यगत गलत र पश्चिमा शक्तिले दिएको भ्रम यथेष्ट रहेको भन्ने कुरामा दुई मत रहँदैन। पहिलो कुरा एक हजार वर्षभन्दा लामो इतिहास केलाउँदा तिब्बत चीनको अभिन्न भूभाग रहँदै आएको छ। तिब्बतलाई चीनको भूभागमा विलय गराएको भनेर शाहले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध तथा घनिष्ट मित्रतामै आँच आउने गरी लेखेका छन्। दोस्रो कुरा सन् १९५९ मा तिब्बतबाट दलाई लामा आफैँ पलायन भएका हुन्, उनलाई चीनले विस्थापित गरेको होइन। तर शाहले त 'विस्थापित गरेपछि' लेखिदिए। यसप्रकारका गम्भीर त्रुटी किताबमा अन्यत्र पनि पाइन्छ।
समग्रमा हेर्दा किताब मध्यम खालको भए पनि तिथिमिति र केही तथ्यगत त्रुटीले किताबलाई आलोच्य बनाएको छ। पक्कै पनि उच्च सैनिक व्यक्ति त्यसमाथि दरबारको सैनिक सचिव भइसकेकाले टिपोट गरिएका डायरी र तथ्यजाँच गरेर लेखेको भए किताब अझै राम्रो हुने थियो।