छैटौं 'डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१' घोषणा गरिएको छ।
बाह्रखरी मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कथा प्रतियोगिताका लागि आफ्नो रचना पठाउन आह्वान गरेको हो।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले कथा पठाउनुपर्नेछ। नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन्।
'डिशहोम बाह्रखरी कथा–२०८१' को निर्णायक समूहमा सशक्त समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे रहेकी छन् भने सदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि छन्।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्ने जनाइएको छ। आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।
ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितिय र तृतिय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संग्रहित पुस्तक प्रकाशन गरिनेछ।
संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ। सोही दिन कथासंग्रहको पुस्तक उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ। प्रतियोगिताका लागि केही सर्त तथा नियम लागू हुनेछन्।