नीलम कार्की निहारिका ऐतिहासिक विषयमा रुचि राख्छिन्। इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउँछिन्। उनका ‘चीरहरण’ र ‘योगमाया’ दुवैले इतिहासलाई प्रश्न गरेका छन्। नयाँ उत्तर खोजेका छन्।
२०७५ सालको मदन पुरस्कार उनकै कृति ‘योगमाया’ ले जितेको छ। अमेरिकामा बसेर साहित्य सिर्जना गर्ने उनलाई लामो अनुसन्धान गरेर पात्र खोज्न र लेख्न मनपर्छ। सेतोपाटीका लागि सुरज सुवेदीसँग अनलाइनमार्फत् कुराकानी गर्दै उनले इतिहास अध्ययन र यसको सीमितता, ऐतिहासिक आख्यान लेखन र लेखकीय दायित्व तथा ‘योगमाया’ बारे चर्चा गरेकी छन्।
साहित्यबाट समाजलाई के गर्न सकिन्छ जस्तो लाग्छ?
पक्कै पनि धेरैथोक गर्न सकिन्छ। कलमले हराएको कथा खोज्न सक्छ। विक्रम सम्बत् १९९८ मा समाधि लिएकी योगमायालाई आज एउटा उपन्यासले राष्ट्रको ढोकासम्म ल्याउन सफल भयो। यो कलमकै कारण सम्भव भएको हो। उपन्यासभन्दा पहिला पनि साहित्यकै कारण उनी मानिसको सम्झनामा बाँचिन्। श्लोकहरूमार्फत् बोलीमा बसिन्। साहित्यले बोल्ने ठाउँ दिन्छ। आवाज दिन्छ।
तपाईँको बाल्यकाल र त्यस बेलाका घटनाले आफ्नो लेखनमा पारेको चेतनात्मक प्रभावलाई कसरी सम्झिनुहुन्छ?
अरू सामान्य नेपालीको बाल्यकालजस्तै मेरो पनि बाल्यकाल बित्यो। फरक के थियो भने, मेरो आमाबुवा नजिकै स्कुलमा पढाउनुहुन्थ्यो। आमाले २०४६/४७ सम्मै स्कुलमा पढाएको याद छ। २६ वर्ष पढाउनुभयो। त्यो समय आमा गाउँमा एक मात्र महिला शिक्षक। पढेका महिला कम थिए। सबैले मिना दिदी भनेर चिन्थे। यसले घरमा पढ्नुपर्छ भन्ने वातावरण भयो।
उहाँ भारतमा जन्मिएकाले धार्मिक ग्रन्थहरूसँग एकदमै परिचित। हामीलाई विभिन्न कथा सुनाउनुहुन्थ्यो। दाइ, दिदी र म लस्करै सुत्थ्यौँ र सुन्थ्यौँ। स्वस्थानी वाचन र दुर्गा कवच पढ्ने गरेको पनि याद छ। हामीले सबै सुन्यौँ। सुन्दासुन्दै साहित्यतर्फ तानिएँ।
‘चीरहरण’ उपन्यासले महाभारतलाई द्रौपदीमार्फत प्रश्न गरेको छ। धार्मिक कथालाई सुन्ने कलिलो दिमाग त्यसैलाई प्रश्न गर्ने कहिलेबाट भयो?
जब आमाले महाभारत र द्रौपदीको कथा सुनाउनुहुन्थ्यो, म सोध्थेँ ‘त्यसो हुँदा पनि कोही उठेर किन नबचाएको द्रौपदीलाई?’
आमा भन्नुहुन्थ्यो ‘भगवान् आएर बचाए।’
मैले आफैंसँग भने श्रीमानले किन केही गरेनन् र भगवान् आउन्जेल किन पर्खिए भन्ने प्रश्न सोध्न छाडिन। आमाले ‘आफूभन्दा ठूलालाई मान्ने र बाचामा हार्ने समय थियो त्यो’ भन्दा पनि सन्तुष्ट भइन। सायद त्यही प्रश्न र असन्तुष्टि पछि चेतना बन्यो।
अहिलेसम्म पनि त्यो प्रश्न उस्तै छ कि जवाफ पाउनुभयो?
अहिलेसम्म पनि पाएको छैन। पाँच पाण्डव र भीष्मको हात के ले बाँधिएको थियो भन्ने मलाई अहिले पनि थाहा छैन। जतिपल्ट सोध्छु उति नै जटिल लाग्छ यो प्रश्न। यति लेखिसक्दा पनि भेटेको छैन।
योगमायाको के कुराले तपाईँलाई उपन्यास लेख्ने बनायो?
मैले योगमायाबारे सुनिसकेपछि पनि उपन्यास लेख्छु भन्ने सोचेको थिइनँ। पछि पद्मश्री पुरस्कार वितरणको दिन दाहाल यज्ञनिधि सरले तिमीले लेख्नुपर्छ भनेपछि गम्भीर भएँ। भोलिपल्टै रत्न पुस्तक भण्डारमा गएर डा. गोविन्दमान कार्कीको एउटा किताब उठाएँ। उहाँलाई सम्पर्क गरेँ। केही सामाग्री दिनुभयो। अध्ययन गर्न थालिसकेपछि भने योगमायाको जीवनी पक्षभन्दा अरू पाटाहरूले आकर्षित गर्दै गए। समाज परिवर्तनका लागि उनले खेलेको भूमिका र उठाएको आवाजलाई लेख्नै पर्छ भइरह्यो।
अध्ययन गर्दै गर्दा उहाँका बारेमा लेखिएका सामग्रीमा के कुरा अपुग रहेछन्? उनलाई पहिला लेखिएका कृतिले कसरी बुझेका रहेछन्?
योगमायालाई नारी उत्थानमा भूमिका खेल्ने व्यक्ति भनेर सीमित बनाइएको रहेछ। तपाईँले पढ्नुभयो भने पनि सती प्रथामा लगेर योगमायालाई सीमित गरिन्छ। यसमा मेरो विमति छ। उनलाई सानो भूमिकामा सीमित गर्न खोजियो। जबकि, उनी त्यो भन्दा बृहत् छिन्। उनको ठूलो काम सामाजिक चेतना बढाउनमा छ। सती प्रथा त्यसको एक अंग मात्र हो।
ती चेतनाहरू के के रहेछन् त?
त्यस बेला सबैभन्दा विकराल अवस्था छुवाछुतको थियो जसलाई हटाउन उनले योगदान गरेकी छन्। छुवाछुतविरुद्ध लडाइँमा लागेकैले उनको जात काडिएको थियो। अनुयायीका बच्चालाई घरभित्र पस्न र मावल जान रोकिएको थियो। काइँली कमिनी त उनको अभियानमै सहभागी थिइन्। तर पनि उनलाई नारी मुक्ति र समाधिमा मात्र लगेर जोडिन्छ। उनले नारीका लागि मात्र हैन, सामाजिक मुक्तिका लागि काम गरेकी हुन्। त्यसभित्र नारी पनि पर्छन्।
इतिहास वा ऐतिहासिक अध्ययनको संरचनागत समस्याले योगमायालाई नारीभन्दा पर पुर्याएर सोच्न नदिएको हो?
हिजोको कुरा मात्र हैन। आजै पनि सामाजिक संरचना उस्तै छ। समाज, समाचार, बोलीचाली सबै नारी कित्ताकरण गर्न हतार गरिरहन्छ। मदन पुरस्कार पाउने ‘महिला’ भनेको त सुन्नुभयो होला। आजै यस्तो छ भने आजभन्दा सय वर्ष पहिलेको चेतनाको त के कुरा गर्नु। अहिले एक दुईवटा लेख नारीको विषयमा लेखे नारीवादी भइहालिन्छ। एउटा पुरुष लेखकले नारीका बारेमा लेख्दा फरक पर्दैन। तर हामीले लेख्दा पारिन्छ। संरचनागत समस्या सोचाइमा छ। इतिहास पनि यसबाट अछुत छैन।
सामाजिक समस्याको कुनै लिङ्ग हुँदैन। समाजको कुरा उठ्दै जाँदा त्यहाँ नारी पनि पर्न सक्छिन् र पुरुष पनि। यो बुझाई इतिहाससँग छैन। योगमायाले महिलाले पनि वेद पढ्न पाउनुपर्छ भनिन्। त्यो नारीको समस्याभन्दा नारी र पुरुषलाई समान अधिकार दिन नसक्ने समाजको समस्या थियो। समाजको समस्यालाई नारीको समस्या भनेर सीमित किन गर्नुपर्यो?
अहिलेको समय र योगमायाको समयमा कस्तो फरक छ? तपाईँ आफू र योगमायालाई कसरी तुलना गर्नुहुन्छ?
मैले आफूसँग योगमायालाई तुलना गर्न सक्दिन। उनी जुन समयमा बाँचिन्, त्यो समय अहिलेका कमै महिलाले बाँचेका छन्। उनले खेलेको भूमिका र लिएको नेतृत्व अचम्मकै छ। अहिले पनि महिलाहरूलाई थपना पदमा सीमित गरिएको छ। हस्तक्षेप गरेर आउने बाटो बन्द गरिएको छ र कठिन छ। उनले त्यो बेलाको कठोर पितृसत्तात्मक समाजमा पनि त्यतिका धेरै महिला र पुरुषलाई आफ्नो अभियानमा अनुयायी बनाइन्। जल समाधिमा पुरुष पनि गएको कुरा त्यसकै प्रमाण हुन्। अहिले यति पढेलेखेको भएर पनि हामी महिला आफ्नो अस्तित्वका लागि लडिरहेका छौँ।
हस्तक्षेप कसरी गर्ने त?
म पनि त्यही सोच्छु। हुन त पहिलेभन्दा अवस्था सहज भएको छ जस्तो पनि लाग्छ। तर अझै पनि सोचाइमा परिवर्तन हुन बाँकी छ। पुरुषले अधिकार दिने र महिलाले अधिकार पाउने कुरा प्रकृतिले बनाएको हैन भनेर पुरुषले बुझ्नुपर्छ। जन्मिँदा सबै बराबर जन्मिएका बच्चालाई सिकाउँदा पनि समान कुरा सिकाउनुपर्छ। हाम्रो लेखन, प्रयास, अभियान सबै कुराहरू सोच परिवर्तन गर्नेतिर लक्षित हुनुपर्छ।
यो प्रक्रियामा महिला स्वयंमबाट केही कमजोरी भइरहेको छ कि?
सोचाइ परिवर्तनका लागि गरिने हस्तक्षेप सबैभन्दा कठिन कुरा हो। त्यसको लागि लड्ने साधनहरू सबै अगाडि नै भुत्ते भइसकेकाले पनि धार लगाउन संघर्ष गर्नैपर्छ। महिलाहरूले पनि आफ्नो अस्तित्व आफैंले स्वीकार गर्न सकिरहेका छैनन्। म महिला हुँ त्यसैले यो सबै गर्न सक्दिनँ भन्ने मानसिकता कतिमा छ।
हामी हुर्किएको समाजले आफैंलाई भेदभाव गर्ने बनाएको छ । अन्याय अचेतन भएर हाम्रो दिमागमा बसेको छ। दिमाग फेर्नलाई समय लाग्छ। यो महिला र पुरुषको समस्या हैन, समाजको समस्या हो। त्यसैले संरचनागत समस्यालाई परिवर्तन गर्न दुवै पक्ष लाग्नुपर्छ।
इतिहासको बारेमा अनुसन्धानात्मक कृति किन लेखिनुपर्छ?
कुनै विषय जति जति टाढा हुँदै जान्छ, साना साना मानिसको कथा उति धमिलो हुँदै जान्छन्।
२००७ सालमा राजा त्रिभुवनले यसो गरे उसो गरे भनेर ग्राण्ड न्यारेटिभ बनाइएको छ। तर त्यो बेला भूमिका खेलेका जनताको कुरा कतै सुनिँदैन। एकीकरणको इतिहासमा पनि यस्तै भएको छ। कुनै पनि घटना एक्लै हुन सम्भव छैन भने त्यसको रेकर्ड गरिँदा एक्लो मानिसको मात्र किन गर्ने?
अमेरिकामा अमेरिकाको झन्डा बनाउने महिलाको बारेमा उपन्यास लेखिएको छ। सिङ्गो जीवनी लेखिएको छ। हामीसँग राष्ट्र बचाउन लागेका व्यक्तिहरूको कुनै इतिहास छैन। बलभद्र कुँवर, अमरसिंह थापा त केवल नाममा सीमित भएका छन्। खै त उनीहरूको सङ्घर्षको कथा, परिवारको कथा? त्यसैले हामीले नाम मात्र सुनेर र स्केच मात्र देखेको भरमा धारणा बनाएका धेरै ऐतिहासिक व्यक्तिहरूका बारेमा खोज्नु र अध्ययन गर्नु जरुरी छ।
नेपालले इतिहासमा धेरै काम गर्न बाँकी छ। हामीले शाससको इतिहास मात्र पढ्यौँ, जनताको इतिहास पढ्न पाएनौँ। पढेको इतिहास पनि स्तुतीगानभन्दा फरक छैन। इतिहास स्तुतीगान हैन। विविध पक्ष केलाएर वास्तविक इतिहास लेख्नै बाँकी छ। इतिहासको पुनर्लेखन सरकारी तवरबाट नगरिए सम्भव छैन। तर, यसले ठूलो चेतना माग्छ जुन सरकारी निकायमा भएको मानव संशाधनबाट सम्भवै छैन। व्यक्तिगत प्रयासबाटै गर्न सकिने ठाउँ भनेको अनुसन्धानात्मक कृति नै हो। अहिले धेरथोर इतिहासलाई फर्किएर प्रश्न गर्न थालिएको छ। यसको निरन्तरता हुनुपर्छ।
इतिहास पुनर्लेखन गर्दा पनि त पहिला भएका गल्ती दोहोरिन सक्छन् नि हैन? ती कमजोरी नदोहोर्याई नयाँ कोणबाट कसरी लेख्ने?
गहन रिसर्च गर्ने, प्रमाणित डाटा खोज्ने र डाटा विश्लेषण गर्नुपर्छ। एकैसमयमा भएका दुईवटा घटनालाई जुधाएर हेर्नुपर्छ। पर्याप्त अध्ययन नगरी लेख्न थाल्दा गल्ती हुने सम्भावना धेरै हुन्छ। योगमायालाई नै सुरूमा बालबिधवा भनियो। मैले बालबिधवा नै किन लेखियो त भनेर प्रश्न गरेँ।
संखुवासभाका डा. मातृका तिम्सिनाले उनका बारेमा लेखेको किताबमा बालबिधवानै लेख्नुभएको थियो। पछि उहाँले नै बालबिधवा हैनन् भनेर अर्को किताब लेख्नुभयो। उहाँलाई सोध्दा भन्नुहुन्थ्यो ‘नीलमजी त्यति बेला योगमायाबारे काम गर्न धेरै गाह्रो थियो। तँ यस्ती महिलाको पछाडि लागेर हिँड्छस् भन्थे। सहयोगी सामग्री जुटाउन कठिन थियो। त्यस्तो बेला मान्छेको सहानुभूति बटुल्न पनि हामीले कलम बङ्ग्याउनुपरेको थियो।’
यस्ता समस्याहरू बीचमा आउँछन्।
हाम्रो अध्ययन एकीकृत छैनन्। एउटै घटनाबारे पनि गलत बुझाइ छन्। अझ यो त एक गुमनाम महिलाको इतिहास खोज्ने दु:ख भयो। लेखेर इतिहास बनिसकेको वा पढाइसकिएका शासकको फरक इतिहास खोज्न झन् कति गाह्रो पर्ला अनुमान लगाउन सक्नुहुन्छ। तर अब पनि नखोजे धेरै ढिला हुन्छ।
सय वर्षअघिको कुरा खोज्न त यत्तिको गाह्रो छ भने त्योभन्दा पुरानो समयमा पुग्न अरू धेरै कठिनाइ छ। हाम्रो इतिहास अझै पनि कथ्यमै सीमित रहेकाले जति लामो समय बित्छ उति प्रमाण र साक्षी हराउँदै जान्छन्। लेखिएन भने बोली चाँडै हराउँछ। डरलाग्दो कुरा त के छ भने इतिहास पढ्न अहिले विश्वविद्यालयमा पनि विद्यार्थी घटेका छन्। यो देशको लागि राम्रो संकेत हैन।
अहिलेको समयलाई अर्काइभ गर्ने कुरामा हाम्रो चेतना कस्तो छ जस्तो लाग्छ?
अर्काइभमा पनि हामी अभ्यस्त छैनौँ। भोलिका लागि जोगाउनुपर्छ भन्ने सोच बनेको छैन। राम्रोसँग राख्न संग्रहालय छैनन्। भएकाको अवस्था पनि बिजोग छ। पश्चिमा देशहरूले मानिसको जिन पनि सुरक्षित राख्न थालिसके। बच्चाको नाल काट्दा आउने रगत पनि पछि काम लाग्छ भनेर राखिन्छ उता। नेपाल सरकारले यो कुरामा सोचिरहेको छैन। देश विकासका लागि यी कुरा महत्त्वका हुन् भन्ने महसुस राज्यले गर्नैपर्छ।
योगमाया कृति किन महत्त्वपूर्ण? इतिहासलाई विषयगत बनाउन खोजेर कि एउटा (महिला) पात्रलाई पुनर्जीवित गर्न खोजेर?
मैले यो किताब महिला पात्र भएकाले लेखेको हैन। त्यति योगदान पुर्याउने पुरुष पात्र हुन्थे भने पनि लेख्थेँ। म महिलाका लागि मात्र लेख्ने मान्छे हैन। योगमायाबारे धेरैलाई थाहा थिएन। उनले चालेको कदमबारे झन् थाहा हुने कुरै भएन। त्यो समय छुवाछुत हटाउन लागेकी, गरुड पुराणको विरोध गरेकी एक समाज सुधारक व्यक्ति गलत हुन् कि सही हुन् भन्ने थाहा पाउनुभन्दा पहिला उनको बारेमा त जान्नुपर्यो। त्यो जान्न मैले अनुसन्धान गरेँ। त्यसले उनको व्यक्तित्व खोज्ने बनायो अनि उपन्यास बन्यो। यसलाई इतिहासको विषयीकरण वा पात्र पुनर्जीवित गर्ने चेष्टा जे भनेर बुझिदिए हुन्छ।
यसलाई आख्यान किन बनाउनुभएको त? मान्छेले यसलाई सत्य हैन भनेर शंका गर्न सक्छन् नि हैन र? रिसर्च बुक किन बनाउनुभएन त?
यो कुरा मलाई प्राध्यापक कृष्ण गौतम सरले पनि भन्नुभएको थियो। मलाई लाग्छ यो एउटा एकदमै राम्रो रिसर्च किताब हुन सक्थ्यो। आख्यानमा विश्वासनियताको प्रश्न ढलपल हुन्छ नै। मलाई योगमायालाई चिनिने बनाएर समाजमा ल्याउनु थियो। उनको कदमबारे भन्ने सबैभन्दा राम्रो माध्यम आख्यान नै हुन सक्थ्यो। रिसर्च बुक इच्छा र रुचि हुने मानिससम्म त पुग्थ्यो होला तर साधारण पाठकसम्म त्यसले योगमायालाई पुर्याउन सक्ने थिएन। आख्यानका रूपमा यसरी नआएको भए उनका बारेमा यत्रो धेरै बहस हुँदैन थियो सायद। मलाई योगमायालाई भोजपुरको मझुवा बेसीबाट झिकेर पसलको किताब र्याकमा थन्किने योगमाया मात्र बनाउनु थिएन। त्यसैले आख्यानै बनाएँ।
एउटा आख्यानले के गर्छ जुन इतिहासले गर्न सक्दैन?
इतिहासले गर्न सक्दैन भनेको हैन। पक्कै पनि इतिहासले धेरै थोक गर्न सक्छ। तर हामी इतिहास पढ्ने मामिलामा अभ्यस्त भइसकेका छैनौँ। हाम्रोमा इतिहासका किताब बेस्टसेलर हुन अझै समय लाग्छ। भर्खर आख्यान पढ्न थालेका हौँ। यस्तो बेला आख्यान इतिहासभन्दा प्रभाकारी माध्यम हुन्छ भन्ने मात्र कुरा हो। इतिहास चाहिन्छ तर त्यसलाई साधारण मान्छेले पढुँपढुँ लाग्ने पनि बनाउनुपर्छ। बच्चाले खाने दबाइलाई गुलियो बनाएजस्तै।
तपाईँले अध्ययन क्रममा 'थर्ड पर्सन प्वाइन्ट अफ भ्यू' बाट योगमायालाई बुझ्नुभयो तर उपन्यास 'फस्ट पर्सन न्यारेटिभ' मा लेखिएको छ। त्यसमा पनि योगमायाको हैन गंगाको पक्षबाट। किन?
हो यसमा प्रथम दृष्टिविन्दु प्रयोग गरेको छु। ‘चीरहरण’ र ‘अर्की आइमाई’ पनि प्रथम दृष्टिविन्दुमै लेखेँ। योगमाया लेख्दा सुरुमा प्रेमनारायणको दृष्टिबाट कथा वाचन गरौँ कि भन्ने सोचेको थिएँ। उनी त्यस समयका बौद्धिक पात्र। उनको पक्षबाट लेख्दा मलाई शब्द खेल्न सजिलो हुन्थ्यो। योगमायाकै पक्षबाट पनि लेख्न सक्थेँ तर त्यसमा पनि उनी हाबी हुन सक्थिन्। अहम् देखिन सक्थ्यो। वा केही विषयमा चुक्न सक्थेँ। त्यसकारण योगमायाको जीवनसम्म पस्न, उनलाई छोएर कुराकानी गर्न र नारी संवेदना दिन एक निरक्षर गंगालाई छानेकी हुँ।
इतिहासकार निल फर्गुसनले ऐतिहासिक आख्यान पढ्दिन किनकि यसले ‘इतिहास बिगार्छ’ भनेका छन्। त्यसको ठिकविपरित आन्ड्रे लेभी भन्छिन् ‘उपन्यासकारको कल्पनाले इतिहासले खाली छाडेका ठाउँ भर्छ।’ योगमायाले के गर्छ? यी दुईमध्ये तपाईँ कोसँग सहमत हुनुहुन्छ? किन?
बरु इतिहासमा इतिहास नभेटिन सक्छ तर साहित्यमा इतिहास हुन्छ। गजल होस्, कविता होस् या कथा, साहित्यमा ‘कन्टेक्स्ट’ जहिल्यै पनि हुन्छ जसले समयको कथा भन्छ। समयभित्र इतिहास हुन्छ। त्यसैले समय लेख्ने साहित्यमा इतिहास हुन्छ। कहिलेकाहीँ छानेर निकाल्नुपर्ने वा भनौँ मन्थन गर्नुपर्ने हुनसक्छ। साथै कसले के लाई मान्यता कति दिन्छन् र कतिलाई सत्य र कतिलाई असत्य मान्छन् भन्ने कुरामा पनि भर पर्छ।
‘योगमाया’ ले इतिहासको खाली ठाउँ कति भरेको छ त?
कुनै कुरा आफैंमा पूर्ण हुँदैन। ‘योगमाया’ पनि पूर्ण हैन। माथि भनेजस्तो जसरी मानिसले योगमायालाई बुझेका थिए त्यसलाई अब फरक तरिकाले बुझ्छन् जस्तो मलाई लाग्छ। मैले तिथिमिति, भएका घटना सबैलाई रिसर्चले भ्याएसम्म मिलाएर राखेकी छु। यो आफैंमा पूर्ण नभए पनि थप विषयमा खोज्न चाहनेहरूलाई जाने बाटो भने देखाइदिएको छु। मैले एक जना पात्र पनि काल्पनिक बनाएकी छैन। हरेक पात्रलाई खोज्न जाने हो भने भेट्न सकिन्छ। तथ्यगत रूपमा जति जान सक्ने हुँ गएको छु। तर म स्वयं त्यहाँ उपस्थित नभएकाले भएका हुन् भनिएका घटना सजीव बनाउन कल्पना प्रयोग भएको छ। परिवेश मेरो कल्पना हो। घटना साँचो हुन्।
इतिहासको आख्यानीकरण गर्नुलाई नव इतिहासवादीले ‘सत्य हैन तर सत्य जस्तै सत्य’ भन्छन्। ‘योगमाया’ को हकमा त्यो कुरा कसरी लागू हुन्छ?
यो सत्यको धरातलमा टेकेर गरिएको आख्यानीकरण हो। साँचो पात्र, साँचो घटना र साँचो सेटिङमा परिवेश काल्पनिक हो भनेर भनिसकेँ। के लाई सत्य मान्ने र के लाई नमान्ने भन्ने कुरा पनि विषयगत हुन्। नेपालमा इतिहासको आधारमा आख्यान लेखिएका छन्। कति कोरा कल्पनामा बनाइएका न्यारेटिभलाई पनि एेतिहासिक भनिएको छ। ‘योगमाया’ कोरा कल्पना हैन। यसको अस्थिपन्जर सत्य हो तर त्यसमा मैले लगाएको काल्पनिकताको लेप सत्यजस्तो सत्य हुन सक्छ। यसलाई छुट्ट्याउन कुन पाठकले सक्छ र कुन पाठकले सक्दैन भन्ने कुरा उनीहरूमै भर पर्छ। ऐतिहासिक विषयमा लेखिएको पुस्तक पढिरहँदा पाठक पनि धेरै नै जिम्मेवार हुनुपर्छ, हुन्छन्।
‘चीरहरण’ उपन्यासमा द्रौपदीका अलावा थुप्रै पात्र आएका छन्। ‘योगमाया’ मा पनि योगमायाबाहेक धेरै पात्र आए। यत्तिका धेरै विविध पात्र किन समावेश गर्नुभएको?
यो प्रश्न म आफैंले आफैंलाई धेरैपल्ट गरेको छु। युगभित्रकै एक महिलाको कुरा गर्दा अर्की महिला छायामा पर्ने रहेछन्। द्रौपदीको कुरा गर्दा सत्यवती, कुन्ती, अम्बा अम्बालिकालाई छुटाउनु हुँदैन थियो। उनीहरूको भोगाइ सुनाउनु जरुरी लाग्यो। यता योगमायाको मात्र कुरा गर्दा गंगा छुट्न सक्थिन्। मलाई के लाग्छ भने योगमाया हुन उनले त भूमिका खेलिन् तर त्यसमा ठूलो हात उनका अनुयायीहरूको पनि छ। तिनका कुरा छुट्यो भने उपन्यास एकपक्षीय हुन्छ। उपन्यासमा कुनै पनि पात्रलाई अन्याय हुनु हुँदैन।
एक अन्तर्वार्तामा तपाईँले आफूलाई अन्धकारसँग डर लाग्छ भन्नुभएको छ। त्यसलाई एक विम्बका रूपमा प्रयोग गर्दा नेपालको इतिहासको एउटा अँध्यारोमा छिर्नुभयो। कत्तिको गाह्रो रहेछ? के के अवरोध आउने रहेछन्?
मैले शाससको इतिहास पुनर्लेखन गरेको हैन। त्यसैले सामग्री नभेटिनेबाहेक ठूलो चुनौती भएन। लेखिइसकेको शासकको इतिहास खोल्ने हो भने पक्कै यति सहज छैन। त्यसमा इतिहासमा लेखिएका गलत वाक्यहरूसँगै त्यो वाक्य पत्याएका दिमागहरूसँग पनि भिड्नुपर्ने हुनसक्छ।
मैले रेडियो नेपालमा काम गर्दा प्रजातन्त्र आइसकेपछि पनि ‘सेतो दरबार’ भन्ने शब्द कवितामा जान मिल्दैन भनेर काटेर पढेको छु। अहिले त झन् विभिन्न स्वरूपमा अधिकारहरू कटौती गर्ने क्रम बढिरहेको छ। इतिहासलाई प्रश्न गर्दा यो समयमा पनि यसै केही भन्न सकिने अवस्था छैन। नयाँ लेख्नभन्दा इतिहास पुनर्लेखन गर्न झन् गाह्रो छ।
लेखकले प्रश्न गर्ने भनेको पाठकको ब्याकअपमै हो। नेपाली पाठकले नयाँ दृष्टिकोण रुचाउँछन् कि रुचाँउदैनन्? पाठकको भूमिका कस्तो भइरहेको जस्तो लाग्छ?
अहिलेको पाठक अपेक्षा गर्न सक्ने भएका छन्। लेखकभन्दा सचेत हुन थालेका छन्। यसको दबाब र अवसर दुवै लेखकहरूमा छ। साहित्यको विकासका लागि पाठकहरूले त्यो दबाब जहिल्यै सिर्जना गर्नै पर्छ। लेखकको विभिन्न ध्येय हुन्छ र पाठकको पनि। लेखकले आफ्नो लागि, पैसाको लागि, परिचयको लागि वा समाजको; के को लागि लेखेको स्पष्ट हुनै पर्छ। पाठक पनि कुन ध्येयका लागि पढेको भन्नेमा निश्चित हुनुपर्छ। पाठकले यो विषय चाहेको छैन भनेर लेखक चुप बस्नु हुँदैन। बरु त्यसतिर पाठकलाई तान्ने बाटो खोज्ने जोखिम उठाउनुपर्छ। मलाई पाठकले ‘योगमाया’ पढ्न चाहेका छन् कि छैनन् थाहा थिएन तर जोखिम गरेको सफल भयो। नहुन पनि सक्थ्यो।
Twitter: @skyasesh