गुड फ्राइडे सिनेमा
अपराध कथामा बनेका फिल्महरू संसारभर लोकप्रिय छन्।
भारतीय सिने उद्योगमा 'ब्ल्याक फ्राइडे', 'ग्याङ्स अफ वासेपुर' जस्ता अपराध कथामा बनेका फिल्म उत्कृष्टको सूचीमा दर्ज भएका छन्। पछिल्लो समय 'मिर्जापुर', 'दिल्ली क्राइम', 'असुर' जस्ता वेबसिरिज पनि निकै रूचाइएका छन्।
अपराधीको मनोविज्ञान, अपराध र राजनीतिबीचको सम्बन्ध, प्रहरीका प्रयास र व्यवस्थाका संस्थागत कमजोरीजस्ता पक्ष समेटिने यस्ता अपराध कथाले मनोरञ्जन दिनेसँगै समाजभित्रका समस्या चित्रण गर्ने काम गर्दै आएको छ।
यस्तै चित्रण निर्देशक रामगोपाल वर्माले आफ्ना फिल्महरूमा गरेका छन्।
फिल्म 'आग' बाट उनको निर्देशकीय करिअर ओरालो लागे पनि ९० दशकमा उनी निकै उचाइमा थिए। भूमिगत अपराधबारे 'शिवा' फिल्मबाट चर्चा कमाएका निर्देशक रामगोपालका 'भूत', 'सरकार', 'रंगीला', 'कौन', 'कम्पनी' लगायत फिल्म चर्चित छन्।
उनको करिअरलाई उचाइ दिने काम भने 'सत्या' फिल्मले गरेको थियो।
हालै २५ औं वार्षिकोत्सव मनाएको यो फिल्म बलिउडको उत्कृष्ट अपराध कथामध्ये एक मानिन्छ।
एकदमै यथार्थपरक मानिने यो फिल्मको विशेषता के भने, यसले मुम्बई अन्डरवर्ल्डमा रहेर काम गर्ने ग्याङस्टरहरूको जीवनलाई वास्तविक ढंगले प्रस्तुत गरेको छ। यस अर्थमा यो ग्याङस्टरहरूको निजी जीवन चिहाउने फिल्म हो। यतिसम्म कि फिल्म सार्वजनिक भएपछि मुम्बईका आपराधिक गिरोहका सदस्यहरूले 'हामीमाथि पहिलोपटक फिल्म बन्यो' भनेका थिए रे।
त्यस्तै यो फिल्मको स्क्रिप्ट पनि तयार थिएन। दृश्यहरू व्याख्या गर्ने क्रममै कथा बन्दै गएको फिल्मका लेखकहरूले बताएका छन्। यो फिल्म अनुराग कश्यप, शौरभ शुक्ला र कोना वैंकटले लेखेका हुन्।
फिल्ममा एक जना व्यक्ति कसरी अपराधको चक्रब्यूहमा फस्छ भन्ने कुरा देखाइएको छ। विषय र पात्रबाहेक कथा भन्ने शैली र शिल्पका हिसाबले पनि यो फिल्मले सिने क्षेत्रमा चर्चा कमाएको हो।
फिल्ममा जेडी चक्रवर्ती सत्याको भूमिकामा छन्। कामको खोजीमा मुम्बई आएका उनले एउटा डान्स बारमा काम पाउँछन्। तर, काम गर्नुभन्दा त्यहाँ पैसा असुल्न आउने गुन्डाबाट बच्न उनलाई गाह्रो हुन्छ। बिना कुनै गल्ती उनले पटकपटक गुन्डाहरूको सामना गर्नुपर्छ।
निडर स्वभावका उनी अन्याय सहन सक्दैनन्। त्यही क्रममा एक खुंखार ग्याङस्टरसँग उनको झडप हुन्छ। उनलाई निर्मम पिटिन्छ र केटी बेच्ने काम गरेको आरोप लगाएर जेल हालिन्छ।
जेलभित्र उनको भेट भिकू माहत्रे (मनोज बाजपेयी) सँग हुन्छ। भिकूले सत्या निर्दोष भएको थाहा पाउँछन्।
आफ्नो आमाबाबुबारे समेत थाहा नभएका सत्या एक्लो, कम बोल्ने र विरलै हाँस्ने स्वभावका हुन्छन्। उनको आँखामा देखिने असन्तुष्टि र आक्रोश पढ्न भिकूलाई समय लाग्दैन। 'मृत्युसँग डराउँदिन' भन्ने सत्याको भनाइबाट भिकू प्रभावित हुन्छन्। उनले सत्यालाई जेलबाट छुटाउन मद्दत गर्नुका साथै उनको बसोबासको व्यवस्था पनि गरिदिन्छन्।
मुम्बई सहरको क्रूरताबीच भिकू, उनकी पत्नी र भिकूको ग्याङका अन्य साथीहरूलाई भेटेपछि सत्याले परिवार पाएझैं महसुस गर्छन्। अलिपछि सत्या एउटै घरमा बस्ने विद्यासँग प्रेममा पनि पर्छन्।
यसबीच भिकूका लागि काम गर्दागर्दै निडर र संयम स्वभावका सत्या अन्डरवर्ल्ड दुनियाँका शक्तिशाली नाम बन्छन्।उनको आगमनले भिकू माहत्रेको दबदबा बढ्दै जान्छ।
ग्याङस्टर बन्नु सत्याको जीवनको योजना थिएन। तर यो आकस्मिक यात्रा सत्याको नियति बनिदिन्छ।
सत्याको यही नियतिको कथालाई निर्देशक वर्माले सशक्त रूपमा उतारेका छन्। सहरका गल्ली, गरिबी, मान्छेको भीड, समुद्रका छाल र पात्रहरूको लवजले मुम्बई सहरलाई नजिकबाट चिनाउने फिल्म हो 'सत्या'।
बर्खा याममा खिचिएको यो फिल्ममा पानी परेका दृश्यहरूको चित्रणले बेग्लै सौन्दर्य थपेको छ।
सन् १९९८ मा तीन विधामा क्रिटिक्स अवार्ड पाएको सत्याले ६ वटा फिल्मफेयर अवार्ड जितेको थियो। सत्याअघि केही फिल्ममा छोटो भूमिका गरेका मनोज बाजपेयीका लागि भिकू माहत्रेको भूमिका करिअरकै टर्निङ प्वाइन्ट बन्न पुग्यो।
फिल्ममा सत्याकी प्रेमिका बनेकी उर्मिला मातोडकर, कल्लू मामा बनेका सौरभ शुक्ला, भिकूकी श्रीमतीको भूमिका गरेकी शेफाली साह लगायत अन्य सहायक कलाकारले फिल्ममा जोडदार अभिनय गरेका छन्।
सत्याको स्क्रिनप्ले, सिनेमाटोग्राफी, सम्पादनदेखि संगीतसम्मले फिल्मलाई स्तरीय बनाएको छ। फिल्ममा गुलजारको शब्दमा विशाल भारद्वाजको संगीत छ।
हेर्नुहोस् फिल्मः