गुड फ्राइडे सिनेमा
चिनियाँ निर्देशकमध्ये निरन्तरता र चर्चाका हिसाबले सबभन्दा अगाडि आउने नाम हो झांग यिमो।
चीनको फिल्मलाई पहिलोपटक ओस्कारमा पुर्याउने श्रेय उनलाई जान्छ। विदेशी भाषातर्फको उत्कृष्ट फिल्म विधामा उनका फिल्महरूले पटक पटक ओस्कारका लागि प्रतिस्पर्धा गरेका छन्।
यही लोकप्रियताको बलमा उनले चीन र हलिउडको संयुक्त लगानीमा फिल्म बनाएका छन्। दुवै देशका कलाकारहरूलाई सँगै अभिनय गराएका छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले बजार र समीक्षक दुवैको नजरमा सफल उनै झांग योमुको चर्चित फिल्म सिफारिस गरेका छौं। फिल्ममा हलिउड अभिनेता क्रिस्टियन बेलको पनि मुख्य भूमिका छ।
युद्धका बेलाको एउटा चर्चित घटनालाई फिल्ममा उतारिएको छ। यो फिल्म पनि चिनियाँ अमेरिकन लेखक गेलिंग यानको किताबमा आधारित छ।
सन् १९३७–३८ बीच चीनको नान्जिङ सहरमा जापानी सैनिकद्वारा भएको आक्रमणमा हजारौं सैनिक र सर्वसाधारण मारिएका थिए। तिनमा बलात्कृत हुने महिलाको संख्या पनि करिब २० हजारसम्म भएको दाबी गरिन्छ। किताबमा आधारित रहेर बनाइएको यो फिल्ममा त्यही युद्धको पीडा, बलात्कार र मृत्युको जोखिम चित्रण गरिएको छ।
फिल्ममा देशी, विदेशी, नैतिक र धार्मिक हिसाबले फरकफरक पृष्ठभूमिका पात्र चर्चको छानोमुनि शरण लिन आइपुग्छन्। त्यहाँबाट उम्कने उपाय खोजिरहेकै बेला जापानी सैनिकहरूले चर्चभित्रका गतिविधिमा निगरानी गर्न थाल्छन्।
धर्म र मानवीयताको नाम लिँदासमेत सेनाले नियन्त्रण गर्न छोड्दैन। सेनाले आँखा लगाएका स्कुले युवतीलाई यही चर्चमा शरण लिइरहेका वेश्यावृत्ति गर्ने युवतीले जोगाउने जुक्ति निकाल्छन्।
युद्धका भयानक दृश्य र मानवीयतामाथि संकटको कठिन घडीमा पनि नान्जिङका वेश्यावृत्तिमा लागेका महिलाले गरेको उदाहरणीय त्यागलाई फिल्ममा मार्मिक रुपमा देखाइएको छ। एउटा क्याथोलिक चर्चमा थुनिएका १२ जना स्कुले किशोरीलाई जापानी सेनाको बलात्कार र हत्याबाट जोगाउन १२ जना वेश्यावृत्तिमा लागेका महिलासँगै एक किशोर पनि हुन्छन्।
उनीहरूले कस्तो निर्णय लिन्छन्? उनीहरूको कथामा त्यस्तो के थियो, जसलाई किताब वा फिल्मबाट पटक पटक भनिन महत्वपूर्ण ठानियो? थाहा पाउन हेर्नुहोस्, 'द फ्लावर्स अफ वार'।
हलिउड अभिनेतालाई मुख्य भूमिका दिने चक्करमा निर्देशक कथाको मूल मर्मबाट कतैकतै बहकिए पनि युद्धको त्रासदीका चित्रण र मानवीयताको खोजलाई भने फिल्मले मर्न दिएको छैन।
समाजले घृणा गर्ने वेश्यावृत्तिमा लागेका महिलाको योगदान चित्रण गरिएकाले पनि यो फिल्म विशेष छ।