गुड फ्राइडे सिनेमा
गुलजारको परिचय विशाल छ। सिनेमा क्षेत्रसँग विभिन्न भूमिकामा आधा शताब्दीभन्दा लामाे समयदेखि जोडिएका उनले अगस्ट १८, अर्थात आजकै दिन ८९ वर्ष पूरा गरेका छन्।
यो अवधिमा उनका सिर्जनात्मक कामका कारण गुलजार नाम लिनासाथ हामी स्वतः उनले रचेका मीठा गीत, कविता वा उनले निर्देशन गरेका राम्रा सिनेमा सम्झने भइसकेका छौं। यही नै उनको सफलता हो।
विमल रायको बंदिनी (१९६३) फिल्मबाट गीत लेखन र सहायक निर्देशकका रूपमा सिनेमा क्षेत्रसँग जोडिनुअघि उनी मोटर ग्यारेजमा काम गर्थे। कयौं महत्त्वपूर्ण फिल्ममा पटकथा र संवादसमेत लेखेका गुलजारले सुरूआती चरणमा उनले निर्देशक विमल राय, हृषिकेष मुखर्जी, असित कुमार सेनजस्ता दिग्गज निर्देशकहरूको सामीप्यमा रही सहायक निर्देशकका रूपमा काम गरे।
सन् १९७१ मा सार्वजनिक 'मेरे अपने' उनले निर्देशन गरेको पहिलो फिल्म हो। 'आँधी', 'मौसम', 'खुशबु', 'परिचय', 'लेकिन', 'कोशिश', 'माचिस', 'नमकिन', 'अचानक', 'लिवास', 'अंगुर', 'किताब', 'हुतुतु' आदि उनका महत्त्वपूर्ण फिल्म हुन्। फिचर फिल्ममा जस्तै टेलिफिल्म, टेलिशृंखला, वृत्तचित्र र छोटा फिल्मसमेत निर्देशन गरेका उनले आफ्नो कामबाट विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन्।
उनले निर्देशन गरेको ‘मिर्जा गालिब’ टेलिफिल्मले बहुतर्फी प्रशंसा पाएको थियो। एआर रहमानको संगीतमा उनले लेखेको 'स्लमडग मिलेनियर' को 'जय हो' बोलको गीतले अस्कार अवार्डसमेत पाएको थियो।
गुलजारको जन्म हालको पाकिस्तानमा पर्ने दीना गाउँमा भएको थियो। भारत पाकिस्तान विभाजनका मारलाई नजिकबाट देखेका भोगेका उनले आफ्ना अन्तर्वार्ताहरूमा आफ्नो मनमस्तिष्कमा त्यसको गहिरो असर परेको बताउँदै आएका छन्।
विभाजनपछि भारतको पञ्जाब अमृतसर हुँदै मुम्बई पुगेका गुलजारका गीत र कवितामा जस्तै फिल्ममा पनि आफ्नो शैली निर्माण गरेका छन्। तडकभडकबिनाका सामान्यजस्ता लाग्ने तर महत्त्वपूर्ण अर्थ राख्ने पात्र र विषयमा फिल्म बनाउने गुलजार निर्देशकका रूपमा सन् १९७० र ८० को दशकमा बढी सक्रिय रहे।
सिद्धहस्त गीतकार गुलजारका फिल्ममा विषयवस्तुसँगै संगीत, संवाद र विम्बहरूको कलात्मक संयोजन भेटिन्छ।
आज गुड फ्राइडे सिनेमामा उनको ८९ औं जन्मदिनको अवसर पारेर हामीले उनै गुलजारका उत्कृष्टमध्येको एउटा फिल्म सिफारिस गरेका छौं।
यो फिल्मले भारतमा आँधी नै ल्याएको थियो।
तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र उनका श्रीमानका कथामा आधारित भनेर चर्चामा आएको यो फिल्म इन्दिरा गान्धीले नै लगाएको संकटकाल बेला प्रतिबन्धित भएको थियो।
फिल्मको नाम हो 'आँधी'।
यसमा सञ्जीव कुमार जेके र सुचित्रा सेन आरती देवीको भूमिकामा छन्।
आरती चुनाव लड्ने तयारीमा रहेकी नेता हुन्। चुनाव प्रचार सिलसिलामा उनी आफ्नो टोलीसहित एउटा होटलमा बस्छिन्। त्यही क्रममा होटलका मेनेजर जेकेसँग उनको नौ वर्षपछि भेट हुन्छ।
यो भेटसँगै दर्शकले उनीहरूको प्रेम, विवाह, अन्तरविरोध र विग्रहको कथा थाहा पाउँदै जान्छन्। फ्ल्यासब्याक र वर्तमानका घटनाक्रम सँगसँगै बुनिएको यो फिल्मको पृष्ठभूमिमा राजनीति भए पनि अन्तर्यमा दुई पात्रबीचको प्रेमको कथा छ। फिल्ममा राजनीतिक आँधी र मनभित्रको आँधीको कथा समानान्तर रूपमा अघि बढ्छ र एकै ठाउँमा आएर मिसिन्छ।
यी दुई पात्र कसरी भेटिए र कुन परिस्थितिमा, के कारणले छुट्टिएका थिए भन्ने जिज्ञासाले दर्शकलाई बाँधी राख्छ।
वर्षौंपछि भेटिएका यी पात्र उमेरले पाका भइसकेका हुन्छन्, तर आफ्नो प्रेम लुकाउन सक्दैनन्। जीवनको खास मोडमा वैचारिक फाटो आएर अलग भएका यी दुई पात्र के फेरि सँगै बाँच्लान्? वा, स्नेह र सहानुभूतिका बावजुद उनीहरूले अलग बाँच्ने पुरानै निर्णय कायम राख्लान्? थाहा पाउन पूरै फिल्म हेर्नु पर्छ।
जुनसुकै भूमिकामा आफूलाई सिद्ध गरेका अभिनेता सञ्जीव कुमार आफ्नो भूमिकामा उत्तिकै जमेका छन्। आँधीको अभिनयका लागि उनले उत्कृष्ट अभिनेताको फिल्म फेयर अवार्ड जितेका थिए। फिल्म फेयर अवार्डमा आँधी फिल्म समीक्षकहरूको नजरमा त्यो वर्षकै उत्कृष्ट घोषित भएको थियो।
फिल्ममा राजनीतिमा कटिबद्ध युवती र प्रौढ महिलाको भूमिकामा सुचित्राको अभिनय तारिफयोग्य छ।
आरडी बर्मनको संगीत रहेको यस फिल्मका गीत निकै उम्दा थिए, जुन आज पनि उत्तिकै लोकप्रिय छन्। 'तेरे बिना जिन्दगी से कोइ सिकवा नहीँ', 'तुम आ गए हो', 'इस मोड से जाती है' मुख्य चर्चित गीत हुन्।
सुन्दर गीत लेखनमा माहिर गुलजारले 'तेरे बिना जिन्दगी से कोइ सिकवा नहीँ' गीतबाट उत्कृष्ट गीतकारको अवार्ड पनि पाएका थिए।