गुड फ्राइडे सिनेमा
बलिउड फिल्म हेर्ने दर्शकको सार्वजनिक काल्पनिकीमा आमिर खानका फिल्मको बलियो प्रभाव पाइन्छ।
'कयामत से कयामत तक' का राजदेखि 'दंगल' का महावीर सिंह फोगटसम्म आउँदा उनी हरेकजसो भूमिकामा खरो उत्रिने अभिनेता हुन्। करिअरको सुरूआती वर्षमा संख्यात्मक फिल्म खेल्ने उनी बिस्तारै गुणात्मक फिल्म खेल्न थाले। फिल्मको विषय चयनका कुरामा संवेदनशील उनले हरेक फिल्मलाई गम्भीर रूपमा लिए।
यही विशेषताले करिब तीन दशकमा आमिरले आफूलाई व्यावसायिक तर गम्भीर फिल्म खेल्ने जिम्मेवार कलाकारका रूपमा स्थापित गरेका छन्। मनोरञ्जन र कलात्मक दुवै पक्षबाट सन्तुलित फिल्म खेल्ने उनका कयौं फिल्मले व्यवसायिक कीर्तिमान बनाएका छन्। यही कारण उनी बलिउडका 'मिस्टर पर्फेक्सनिस्ट' का रूपमा परिचित छन्।
पछिल्ला दुई फिल्मले सोचेअनुरूप बजार लिन नसके पनि आमिर पात्रअनुसार 'रिइन्भेन्ट' गर्न सफल अभिनेता, निर्माता र निर्देशकका रूपमा सफल छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले उनको करिअरकै उम्दामध्येको फिल्म सिफारिस गरेका छौं।
फिल्ममा बेलायती युवती सु ऐतिहासिक फिल्म बनाउन भारत आएकी हुन्छिन्। उनी भारतीय स्वतन्त्रता संग्राममा सहिद भएका क्रान्तिकारीबारे फिल्म बनाउन चाहन्छिन्। आफ्ना जेलर हजुरबुवाको डायरी पढ्ने क्रममा उनी तत्कालीन भारतका क्रान्तिकारी पात्रप्रति आकर्षित भएकी हुन्।
भारत आएर यो कामका लागि उनी साथी सोनिया (सोहा अली खान) को सहयोग लिन्छिन्। उपयुक्त पात्रको खोजी गर्ने क्रममा सोनियाका साथीहरूको सहयोग लिन्छिन्। आफ्नै धूनमा मस्त छ जना युवाले सुको फिल्ममा अभिनय गर्ने कुरालाई सामान्य रूपमा लिएका हुन्छन्। तर घटनाक्रम यसरी अघि बढ्छ कि उनीहरूमा देशप्रेम र क्रान्तिप्रति रुझान बढ्न थाल्छ।
त्यो खास घटनाक्रम के होला? इतिहासका क्रान्तिकारी पात्र बनेर रिहर्सल गर्दागर्दै कसरी उनीहरूको मन र जीवनमै कसरी राजनीतिले प्रवेश गर्छ?
थाहा पाउन हेर्नुस्, 'रंग दे बसन्ती'।
ती युवा कसरी देशप्रेम र न्यायको पक्षमा आकर्षित हुन्छन् भन्ने नै फिल्मको कथा हो।
विद्रोह चेत बोकेको यो फिल्मको निर्माण शैलीदेखि विषयवस्तु र संवादमा समेत विद्रोह झल्किन्छ। अंग्रेज शासनविरूद्ध विद्रोह गर्ने भगत सिंहको कथामार्फत आजका युवाहरूलाई भ्रष्ट शासनविरूद्ध विद्रोह गर्न झक्झकाउँछ।
त्यस्तै चन्द्रशेखर आजाद, शिवराम राजगुरू लगायत भारतीय नेताको बलिदान र वर्तमान समयका युवाका राजनीतिक दृष्टिकोण यसमा रमाइलोसँग बुनिएको छ।
फिल्मको भावलाई यसैको एउटा संवादले छर्लंग पारेको छ- जिन्दगी जिउने दुइटा तरिका हुन्छ। जे भइरहेको छ त्यसलाई हुन देऊ, सहँदै जाऊ, या जिम्मेवारी उठाऊ त्यसलाई बदल्ने!
फिल्ममा आमिरसँगै सिद्धार्थ नारायण, अतुल कुलकर्णी, शरमन जोशी, कुणाल कपुर, सोहा अली खान, वहिदा रहमान आदिको मुख्य भूमिका छ। आमिरले पञ्जाबी युवाको भूमिकामा जबर्जस्त अभिनय गरेका छन्।
यो फिल्म भारतबाट अस्करका लागि पनि पठाइएको थियो। अस्करमा नछानिए पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय गरी रंग दे बसन्ती ११२ वटा अवार्डका लागि मनोनीत भएको थियो। यसमध्ये ५० वटा अवार्ड जित्न सफल भयो।
तपाईंहरूसँग नेटफ्लिक्स छ भने त्यसमा पनि यो फिल्म हेर्न सक्नुहुन्छ।
हेर्नुहोस् फिल्मः