गुड फ्राइडे सिनेमा
१९५५ डिसेम्बर १ को दिन।
अमेरिकाको मोन्टगोमरी अलाबामाको एउटा सार्वजनिक बसमा रोजा पार्क्सले गोरा मानिसका लागि सिट छोड्न अस्वीकार गरिन्।
गोरा र काला मानिसका लागि अलग सिट छुट्ट्याइने त्यो समयमा काला रङका मानिसले गोराको आदेश नमान्नु अपराध ठहर्थ्यो।
यही बहानामा रोजालाई प्रहरीले पक्राउ गर्छ।
दशकौं दशक लामो अन्याय र उत्पीडनमा परेका अफ्रिकन अमेरिकी काला समुदाय उत्प्रेरणाको रूप लिन्छ। यही घटना साठी दशकको 'सिभिल राइट्स मुभमेन्ट' का लागि कोशेढुंगा बन्छ।
रोजाको बस विद्रोहपछि मोन्टगोमरी अलाबामाका स्थानीय अश्वेत नागरिकले सामूहिक रूपमा सार्वजनिक बस यात्रा बहिष्कार गर्छन्। यो बहिष्कार आन्दोलन तीन सय ८१ दिनसम्म चलेको थियो।
रोजाको 'बस विद्रोह' रंगभेदविरूद्ध आन्दोलनको अगुवाइ गर्ने मार्टिन लुथर किङ जुनियरलाई पनि प्रेरित गर्ने घटना मानिन्छ। रोजा र मार्टिन लुथरजस्ताकै नेतृत्व र अडानका बलमा अमेरिकी सरकारले १९६४ मा सिभिल राइट्स एक्ट पास गर्छ। यो कानुनले रङ, नश्ल, धर्म र राष्ट्रियताका नाममा विभेद गर्न नपाउने कानुन बन्छ। यो कानुनले यसअघि गोरा र काला समुदायबीच शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा हुँदै आएको विभेद कम गर्न ठूलो भूमिका खेलेको थियो।
उनै क्रान्तिकारी महिला रोजाको जीवनमा आधारित फिल्म 'रोजा पार्क्स स्टोरी'।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
फिल्ममा एन्जेला ब्यासेटले रोजाको भूमिका निर्वाह गरेकी छन्। अमेरिकाको इतिहास बदल्ने रोजा बन्न एन्जेलाले गरेको मेहनत उनको अभिनयमा मज्जाले झल्किन्छ। यो फिल्मको अभिनयका लागि उनले उत्कृष्ट अभिनेत्रीको पुरस्कारहरू जितेकी थिइन्।
फिल्ममा रोजाको बाल्यकालीन जीवनदेखि प्रेम, परिवार र उनको दैनिकीलाई विस्तारमा समेटिएको छ। एउटा सामान्य अश्वेत महिला कसरी विद्रोहको प्रतीक बन्छिन् भनेर सरल रूपमा फिल्ममा देखाइएको छ।
दशकौंदेखि अमेरिकी राज्यले कालो वर्णका नागरिकमाथि संरचनागत र नीतिगत रूपमै विभेद गर्दै आएको छ। 'दासप्रथा उन्मूलन' र 'सिभिल राइट्स मुभमेन्ट' बाट पनि अन्त नभएको विभेद मेट्न अहिले पनि हजारौं मानिस सडकमा प्रदर्शन गर्न बाध्य छन्।
हेर्नुहोस् रोजा पार्क्सको कथा, युट्युबमा