गुड फ्राइडे सिनेमा
गुरू दत्तका सिनेमाटोग्राफर भनेर चिनिने विके मूर्ति र निर्देशक श्याम बेनेगलसँग काम गरेका गोविन्द निहलानी चर्चित निर्देशक तथा सिनेमाटोग्राफर हुन्।
समानान्तर वा आर्ट हाउस भनेर धारका सिनेमा बनाउने भिडमा उनले बनाएका केही फिल्मले एकैपटक दर्शकको मथिंगल र समाज हल्लाउने काम गर्यो।
राजनीति र अपराधसँग जोडिएका विभिन्न पक्षमा उनले बनाएका 'आक्रोश', 'अर्धसत्य', 'हजार चौरासी की माँ' जस्ता फिल्म आज पनि विशेष मानिन्छन्।
भारत पाकिस्तान विभाजनको पृष्ठभूमिमा रचिएको भीष्म सहानीको चर्चित उपन्यास 'तमस' को कथामा उनले बनाएको टेलिभिजन फिल्म 'तमस' पनि उत्तिकै चर्चित छ।
पटक पटक राष्ट्रिय पुरस्कार जित्न सफल निहलानीका यी फिल्ममा भारतीय लोकतन्त्र र राज्य व्यवस्थाका कमजोरी र त्यसले जन्माएको उथलपुथलका असरहरू भेटिन्छन्।
उनै निहलानीको फिल्म 'द्रोहकाल' आज हामीले सिफारिस गरेका छौं।
'द्रोहकाल' दुई प्रहरी अफिसरको आतंकवादी संगठनसँग लड्ने प्रयासको कथा हो।
आतंकवादी समूहद्वारा निर्दोष सर्वसाधरणको हत्या शृंखला बढिरहेका बेला टास्क फोर्स अफिसर डिसिपी अब्बास लोधी (नशिरूद्दिन शाह) ले आफ्ना दुई प्रहरी जवानलाई गोप्य रूपमा आतंकवादी समूहमा प्रवेश गराउने अपरेसन चलाउँछन्। विशेष तालिम दिइएको यो गोप्य मिसनलाई धनुष नाम दिइन्छ।
धनुष मिसनबारे डिएसपी अब्बासले डिसिपी अभय सिंह (ओम पुरी) लाई मात्रै जानकारी दिएका हुन्छन्। फिल्मको कथा यही धनुष मिसन वरिपरि घुम्छ। मिसनमा जाने दुई जवान प्रहरीको भूमिकामा मिलिन्द गुनाजी र मनोज बाजपेयी छन्। आतंकवादी समूहको मुख्य कमान्डर भद्रको भूमिका आशिष विद्यार्थीले निर्वाह गरेका छन्।
प्रहरीभन्दा अपराधी अघि भनेजस्तै यो फिल्ममा धनुष मिसनबारे आतंकवादी समूहले केही समयपछि सुइँको पाइहाल्छ। आतंकवादी समूहको सञ्जाल र संगठन यति बलियो हुन्छ कि कमान्डरले प्रहरी हिरासतमा रहँदा पनि अभय सिंह र उनको परिवारमाथि दबाब दिन सफल हुन्छन्।
यो द्वन्द्वमा कुन पक्षको जितहार हुन्छ फिल्म हेरेर थाहा पाउनु होला।
यी दुई पक्षको द्वन्द्व नै यो फिल्मको रोचक पक्ष हो। तर दुई पक्षबीचको यो संघर्ष फिल्मी रमाइलो मात्रै होइन। यसमा तत्कालीन भारतीय समाजले बेहोरिरहेको हिंसात्मक राजनीतिक गतिविधि र त्यसका असर देख्न पाइन्छ। राज्य संरचनाभित्र खस्कदो नैतिक संकट र चुनौतीका प्रभाव भेटिन्छ।
एकातिर, फिल्ममा मुख्य पात्रमार्फत सुरक्षाकर्मीले शान्ति सुरक्षाका लागि गरेका इमानदार प्रयास र त्यसका सीमालाई देखाइएको छ। अर्कोतिर, भद्रजस्ता शिक्षित युवा पुस्ताले हिंसात्मक गतिविधि गर्नुमा राज्यको असफलता र त्यसबाट जन्मेको निराशालाई इंगित गरिएको छ।
फिल्मका दुई मुख्य पात्रहरू ओम पुरी र आशिष विद्यार्थीबीचको संवाद विशेष छ। आशिष विद्यार्थीले यो फिल्ममा निर्वाह गरेको चरित्रका लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए।
गोविन्द निहलानीलाई 'द्रोहकाल' का लागि दामास्कस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको पुरस्कार दिइएको थियो।
यही फिल्मबाट ओम पुरीको श्रीमतीको भूमिका निर्वाह गर्ने मीता वशिष्ठ स्क्रिन अवार्डमा उत्कृष्ट सहायक अभिनेत्री घोषित भएकी थिइन्। कमल हसनको अभिनय रहेको 'द्रोहकाल' को तमिल संस्करण 'कुरुथिपुनाल' पनि उत्तिकै चर्चित छ।