गुड फ्राइडे सिनेमा
अमिताभ बच्चन। यो नामलाई परिचयको आवश्यकता छैन। ८१ वर्ष पुगेका अमिताभका बारेमा नयाँ पुस्तालाई पनि खास भनिरहन जरूरी छैन। १९७० दशकमा हिन्दी फिल्म क्षेत्रमा चर्चाको शिखर चुम्न सफल उनको दबदबा आज पनि उत्तिकै छ।
यिनै अमिताभका त्यो जमानाका ५ चर्चित फिल्म हामीले यहाँ राखेका छौं।
अमिताभ 'बीग बी' बन्ने यात्राका सुरूवाती कदमका यी फिल्म कुनै कमाइमा सुपरहिट छन्, कुनै उनको अभिनयमा सुपरहिट छन्।
यस्तै फिल्म हो अभिमान।
अभिमान संगीतले जोडिएका दुई पात्रको कथा हो। संगीतकै कारण उनीहरूको सम्बन्धमा दरार पनि आउँछ। चर्चित गायक सुवीर कुमार (अमिताभ बच्चन) उमा (जया बच्चन) को सुमधुर गायकीबाट प्रभावित भएर आकर्षित हुन्छन्।
एकअर्काको प्रेममा परेका यी दुवै गायक भए पनि संगीतलाई हेर्ने बुझ्ने उनीहरूको दृष्टिकोण फरक छ। सुवीर अरूलाई मनोरञ्जन दिन गाउँछन्। उमा भने आत्मिक आनन्दका लागि गाउँछिन्।
सुवीरकै करमा विवाहपछि गीत रेकर्ड गराएपछि उमाको चर्चा सुवीरभन्दा माथि पुग्छ। यसले उनीहरूभित्रको इखलाई मलजल गर्न थाल्छ। उनीहरूको प्रेम र सम्मानलाई अभिमानले जित्न थाल्छ।
गीतबाट सुरू हुने र गीतमै अन्त हुने 'अभिमान' सांगीतिक फिल्म हो, जसले संगीतकारको जीवन कथा संगीत विषयकै सेरोफेरो भन्छ। यसमा मजरुह सुल्तानपुरीको शब्द र एसडी बर्मनको संगीतमा 'मीत ना मिला रे मनका', 'तेरी बिन्दिया रे', 'तेरे मेरे मिलन कि ये रैना', 'लुटे कोइ मनका नगर बनके मेरा साथी', 'अब तो है तुमसे हर खुसी अपनी'जस्ता मीठा गीत सुन्न पाइन्छ।
फिल्ममा असरानी, बिन्दु र दुर्गा खोटे आदि कलाकार मुख्य भूमिकामा छन्।
सूक्ष्म विषयमा स्वादिलो फिल्म बनाउने ऋषिकेष मुखर्जीको 'अभिमान' मानव स्वभाव र सम्बन्धको चित्रण सुन्दर फिल्म हो।