गुड फ्राइडे सिनेमा
बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतिक्षित फिल्म 'एनिमल' शुक्रबारदेखि सिनेमा हलहरूमा लागेको छ। एक्सन-थ्रिलर एनिमलमा रणवीरलाई नयाँ अवतारमा देख्न सकिन्छ।
अभिनयका मामिलामा रणवीर कुशल मानिन्छन्। 'एनिमल' मा उनले कस्तो काम गरेका छन् र फिल्मले दर्शक, समीक्षक र बक्सअफिसमा कस्तो स्थान बनाउँछ, त्यो हेर्न भने बाँकी छ।
मुख्य अभिनेताका रूपमा १६ वर्षे फिल्मी करिअरमा उनले एनिमलसहित २२ वटा फिल्ममा काम गरिसकेका छन्। विभिन्न भूमिकामा उनको मेहनत देखिए पनि धेरैले उनको अभिनय र फिल्मका कथा समेत उस्तै भएको भनेर आलोचना पनि गरेका छन्। उसो त व्यक्तिगत जीवन र स्वभावका कारण पनि उनको आलोचना भइरहेकै हुन्छ।
झन्डै दुई दर्जन फिल्ममा मुख्य र केहीमा क्यामिओ भूमिका गरिसक्दा उनका फिल्म सफल र असफल दुवै भए। पहिलो फिल्म 'साँवरिया' देखि 'एनिमल' सम्म आइपुग्दा रणवीरले उत्कृष्ट अभिनेताका रूपमा पाँचभन्दा बढी मुख्य अवार्ड जितेका छन्। उनले काम गरेका फिल्मले पनि 'उत्कृष्ट' दर्जा पाएका छन्।
आज सेतोपाटीको गुड फ्राइडे सिनेमामा हामीले उनै रणवीरको एउटा उत्कृष्ट फिल्म सिफारिस गरेका छौं।
यो फिल्मले विभिन्न विधामा ७० वटा अवार्ड जितेको छ। निर्देशकदेखि अभिनेता, अभिनेत्री, पटकथा, संगीत, सिनेमाटोग्राफी, साउन्ड, कस्ट्युम डिजाइन, मेकअप, लिरिक्स लगायत थुप्रै विधामा यो उत्कृष्ट सावित भएको फिल्म हो।
रणवीरको फिल्मी करिअर उकास्न यो फिल्मको भूमिका एकदमै बलियो मानिन्छ।
फिल्म हो 'बर्फी'।
यो फिल्म नामजस्तै स्वादिलो छ भन्दा फरक पर्दैन।
अनुराग बसुको निर्देशनमा सन् २०१२ मा बनेको 'बर्फी' मा सन् १९७० को दशक र २०१० को आसपासको समय सँगसँगै अघि बढ्छ।
यी कथा फरक-फरक पात्रले सुनाउँछन्।
फिल्म श्रुति (इलियाना डिसुजा) ले सुनाउने कथाबाट सुरू हुन्छ। प्रहरी पछिपछि र चार्ली चाप्लिनझैं देखिने पात्र (रणवीर कपुर) अघिअघि भागेको दृश्यबाट दर्शक 'बर्फी' सँग परिचित हुन्छन्। बर्फी मिठाइ होइन, फिल्मको पात्रको नाम हो। पात्रको यो नाम किन राखियो फिल्ममा त्यसको रमाइलो किस्सा छ।
बोल्न-सुन्न नसक्ने बर्फी दार्जिलिङमा बस्ने गाडी चालकका छोरा हुन्छन्। बर्फीको जीवनमा जोडिने श्रुति र झिलमिल (प्रियंका चोपडा) को वरिपरि फिल्मको कथा घुमेको छ। झिलमिल पनि बर्फीजस्तै शारीरिक र मानसिक समस्या भएकी पात्र हुन्।
फ्ल्यासब्याक र वर्तमान जोड्दै भनिएको र विभिन्न तहमा जोडिएको कथा सरल भएर पनि प्रस्तुति पृथक छ। निर्दोष र कमजोरीसहितका 'बर्फी' का पात्रमा पाइने मस्तीले दर्शकको मन बहलाउँछ।
शब्द बिनै भाव व्यक्त गर्न सक्ने रणवीर र प्रियंकाको अभिनय तारिफयोग्य छ। फिल्ममा बर्फी, झिलमिल र श्रुति तीन जनै मुख्य पात्र अधुराजस्ता भएर पनि पूर्ण छन्।
'बर्फी', 'फिर ले आया दिल', 'क्यो ना हम तुम' जस्ता गीतले फिल्मलाई अझ अर्थपूर्ण बनाएको छ।
कथा बुन्ने अनुराग बासुको शैली एकदमै सुन्दर छ। रमाइलो शैलीमा कथा जोड्दै निर्देशकले दर्शकलाई पात्रहरूको संवेदनानजिक पुर्याएका छन्। फिल्ममा सौरभ शुक्ला प्रहरी र नेपाली कलाकार भोलाराज सापकोटा बर्फीका साथीको भूमिकामा देखिन्छन्।
बर्फीले दर्शक र समीक्षक नजरमा र बक्सअफिसमा पनि बलियो स्थान बनाएको थियो।
हेर्नुहोस् युट्युबमाः