गुड फ्राइडे सिनेमा
डियागो कोबायाशी सेलो बजाउँछन्। उनी जापानको टोकियोस्थित एक अर्केस्ट्रा समूहमा आबद्ध छन्। उनको धेरथोर खर्च यसबाटै गुजारा हुन्छ।
एक दिन अकास्मात अर्केस्ट्रा भंग भएको जानकारी त्यसका मालिकले दिन्छन्। सेलो बजाउनुबाहेक अरू काम नजानेका उनलाई अब के गर्ने भन्ने तनाव हुन्छ।
त्यसपछि डियागो श्रीमती मिकासँग आफू हुर्केको गाउँमा बसाइ सर्छन्। त्यहाँ डियागोकी आमाको घर हुन्छ। आमाको भने मृत्यु भइसकेको हुन्छ।
यो घरमा डियागोका पुराना यादहरू हुन्छन्। उनका बुबाले त्यहाँ कफी सप चलाएका हुन्छन्। तर पछि उनी त्यहीँ काम गर्ने वेटरसँग भाग्छन्। त्यो बेला डियागो मात्र ६ वर्षका हुन्छन्। त्यसैले उनी बुबालाई घृणा गर्छन्।
उनलाई आफ्नी आमाको हेरविचार गर्न नपाएकोमा ग्लानी पनि भएको हुन्छ।
त्यही घरमा डियागो मिकासँग आएका हुन्छन्।
गाउँमा आएपछि उनलाई जागिर खोज्नुपर्ने हुन्छ। पत्रिकामा आएको विज्ञापन हेरेर उनी अन्तर्वार्ता दिन जान्छन्। राम्रो तलबसहित जागिर निश्चित हुन्छ।
डियागोको काम हुन्छ मृत्यु भएको मान्छेलाई जापानी परम्पराअनुसार कफिनमा हाल्नु।
यो काममा उनका हाकिम एकदमै पोख्त हुन्छन्। उनले मृत्यु भएका मान्छेलाई सुन्दर बिदाइ गर्छन्। उनले डियागोलाई काम सिकाउँछन्।
सुरूमा आत्तिएका डियागोले पछि यो काम कति सुन्दर रहेछ भन्ने अनुभूति गर्छन्। तर उनको समाजले यसलाई घृणा गर्छ।
समाजले मात्र होइन, उनकी श्रीमती मिकाले पनि यो काम नगर्न भन्छिन्।
डियागोले यही काम गरिरहे छाडेर जाने धम्की दिन्छिन्। उनीहरू एकअर्कालाई प्रेम गर्छन्, तर कामकै कारण अलग्गिनुपर्ने अवस्था आउँछ।
अब डियागोले मृतकलाई बिदाइ गर्ने काम रोज्छन् कि श्रीमती मिकालाई बिदाइ गर्छन्?
डियागोलाई यो कामले कहाँसम्म पुर्याउँछ र कोसँग जोड्छ?
यसका लागि हेर्नुहोस् जापानी फिल्म 'डिपार्चर्स'।
योजिरो ताकिताको निर्देशनमा बनेको डिपार्चर्स अस्कर जित्न सफल फिल्म हो। सन् २००९ मा यसले उत्कृष्ट विदेशी फिल्मको विधामा अवार्ड जितेको हो।
समीक्षकहरूबाट एकदमै प्रंशसा पाएको डिपार्चर्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४१ वटा अवार्ड जितेको छ।
आज गुड फ्राइडे सिनेमामा हेर्नुहोस् डिपार्चर्स युट्युबमा अंग्रेजी सबटाइटलसहितः