गुड फ्राइडे सिनेमा
सन् १९१९ देखि सिनेमा बन्न थालेको कोरियाली सिनेमाले सय वर्ष पूरा गरिसकेको छ। कोरियाली सिनेमाका लागि यो एउटा इतिहास थियो।
त्यसलगत्तै कोरियाली निर्देशक बोङ जोन हु निर्देशित 'प्यारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्नु अर्को इतिहास बन्यो। सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।
थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ।
आज हामीले यस्तै एउटा उत्कृष्ट फिल्म सिफारिस गरेका छौं।
जंगलमा चराचुरूंगीको चिरबिर आवाज सुन्दै जाने बाटोबाट पुगिन्छ, मि सुङ ली गाउँ।
यो स्याउ र चामल प्रशस्त उब्जिने गाउँका रूपमा चिनिन्छ। यहाँका मान्छे केही किन्न परे सहर पुग्नुपर्छ। यसका लागि एक घन्टाको बाटो आउजाउ गर्नुपर्छ।
यो सोङ हे वोन हुर्किएको गाउँ हो। उच्चशिक्षाका सिओल पुगेकी उनी त्यहाँ सन्तुष्ट हुन सक्दिनन्। पढाइ, काम र सम्बन्धका कारण उनी आफ्नै गाउँ फर्किन्छिन्।
सहरको भागदौडभन्दा परको यो ठाउँ शान्त र सुन्दर छ। तर उनको घर रित्तो छ। उनकी आमाको पत्तो छैन। उनीसँग आमाले लेखेका चिठी र बाल्यकालीन याद भने प्रशस्तै छन्।
एकल आमासँग हुर्किएकी सोङको गाउँमा उनका दुई बाल्यकालीन साथी छन्। जे हा बैंकमा काम गर्छिन् र गाउँबाट कहिल्यै बाहिर उम्कौं भन्ने सोचेर बसेकी छिन्।
अर्का साथी युन सुक भने केही समय सहरमा बसेर फर्केका पात्र हुन्। उनी कृषकका रूपमा गाउँमै बस्न चाहन्छन्। सहर र गाउँप्रतिको आकर्षण यी दुई पात्रमा महसुस गर्न सकिन्छ।
सोङ हे वोन आफैं भने दुविधामा छन्। उनी गाउँमा टिक्छिन्, टिक्दिनन् यसका लागि निर्देशक यिम सुन रायको फिल्म 'लिटल फरेस्ट' हेर्नुहोला।
के सोङ र उनकी आमाको भेट होला?
यी सबै अहिल्यै थाहा नपाए पनि यत्ति चाहिँ भनौं, यो फिल्ममा आमा छोरीको प्रेम र मित्रतासँगै खानेकुरा पनि केन्द्रमा छ। सोङ खाना भनेपछि हुरूक्कै हुन्छिन्। उनकी आमालाई जस्तै उनलाई पनि मीठा परिकार पकाउने सोख छ। फिल्ममा खानेकुराका परिकार देखेरै मुख रसाउँछ।
चारै ऋतुका भिन्न भिन्न रङले आँखा लोभ्याउँछ। प्राकृतिक फलफूल होस्, चाहे फराकिला फाँट र बारी, सिनेमाटोग्राफीले त्यसको सौन्दर्यलाई मज्जाले खिचेको छ।
पात्रको जीवनलाई जस्तै दर्शकलाई पनि फिल्मले प्रकृतिको नजिकै पुर्याइदिन्छ।
ठूला घटनाक्रमबिनै खाँदै खेल्दै 'लिटल फरेस्ट' फिल्मले कृत्रिम विकास र प्राकृतिक सौन्दर्यको तुलना गर्ने ठाउँ दिन्छ।