एकसाथ दुइवटा गीत सुटिङका लागि गृहजिल्ला दाङ जाने तयारीमा थिए गायक भूपू पाण्डे। राम्रो र नयाँ दृश्का लोभमा उनी आफ्ना प्रायः गीतको भिडिओ काठमाडौं बाहिर खिच्दै आएका छन्।
नयाँ गीतको भिडिओका लागि उनले आफ्नो डेडलक कपाल काट्नुपर्ने थियो।
उनले सोचे — केही वर्ष लगाएर पालेको कपाल काटिँदैछ। यसको सम्झनाका लागि एउटा गीतको नयाँ भिडिओ बनाउँछु।
गीत तयार त थिएन।
उनी केही फुर्यो भने आफ्नो डायरीमा टिपोट गरिहाल्छन्। उनले सुहाउँदो गीत छ कि भनेर डायरीका पाना पल्टाए।
त्यहाँ लेखेको भेटे —
फूल फुलेर के गर्नु भीरैभीरमा छ
जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ।
यो उनले एक वर्षअघि लेखेका रहेछन्।
'पहिले त्यो गीत त्यत्तिकै छाडेको थिएँ। अहिलेको अवस्थामा सान्दर्भिक हुने लाग्यो। त्यसपछि दुई दिन लगाएर टुक्का बनाएँ,' भूपूले सम्झिए।
शब्द लेखिसकेपछि डमी तयार पारेर रेकर्ड नगरी उनी सुटिङका लागि निस्किए। दाङ पुगेर पहिले यही गीत खिचे। केही दिनपछि काठमाडौं फर्के गीत रेकर्ड गराए।
जब गीत सार्वजनिक गरे, छोटो समयमै चर्चा भयो, सर्वत्र घन्कियो। अहिलेसम्म युट्युबमा यो गीत ७५ लाखभन्दा बढीले हेरिसकेका छन्। टिकटक, फेसबुक, इन्स्टा रिल्सतिरको चर्चा छुट्टै छ।
यो गीतबाट आफूले सोचेभन्दा धेरै माया पाएको भूपू सुनाउँछन्।
'युवाहरूको कथा-व्यथा समेटिएको, हाम्रो माटोकै सुगन्ध बोकेको गीत भएकाले केही हदसम्म रूचाइएला भन्ने आशा थियो,' उनले खुसी साट्दै भने, 'तर यति धेरै रूचाइएला भन्ने सोचेकै थिइनँ।'
भूपूको गीतमा बेरोजगारीको कुरा छ। वैदेशिक रोजगारीको कुरा छ। युवाहरूको 'फ्रस्टेसन' को कुरा छ। सायद धेरैले गीतलाई आफ्नै अनुभूतिजस्तो मानेकाले पनि रूचाइएको जस्तो लाग्छ उनलाई।
'पिरै पिर' चर्चामा रहँदा कतिपयलाई यसको मेलोडी उनकै अघिल्लो गीत 'जाँदा जाँदै बन्दीपुर पुग्यो' सँग मिलेको पनि लाग्न सक्छ। भूपू पनि यो कुरा स्वीकार गर्छन्।
खासमा उनले 'जाँदा जाँदै बन्दीपुर पुग्यो' भन्दा अगाडि लोक शैलीमा रहेर त्यति काम गरेका थिएनन्। यो गीत निकै रूचाइयो। भूपूकै भनाइमा आफ्नो गीतलाई लिएर 'भाइरल' भन्ने शब्द उनले पहिलोपटक सुनेका थिए। उक्त गीतपछि लोक शैलीका गीतहरूतर्फ आफू आकर्षित भएको उनी बताउँछन्।
उक्त गीतमा आफैले अडिओको काम गरेकाले पनि अहिले 'पिरै पिर' मा त्यसको केही प्रभाव देखिएको हुनसक्ने उनले सुनाए।
भूपूले सांगीतिक क्षेत्रमा संघर्ष गरेको दुई दशक हुन लाग्यो। संगीत उनको बाल्यकालीन सपना भने थिएन।
दाङको देउखुरीमा सामान्य किसान परिवारमा जन्मिएका उनी सानैदेखि फिल्म भनेपछि हुरूक्कै हुन्थे। कतिसम्म मोह भने, स्कुल जाँदा किताब खोला छेउको बालुवामा पुर्थे। पछि भेट्टाउन सजिलो होस् भनेर सानो दाउरा वा केही कुरा चिह्नका रूपमा राख्थे र फिल्म हेर्न हल पुग्थे। साँझ साथीहरू स्कुलबाट फर्किँदा उनीहरूकै हुलमा मिसिएर घर फर्किन्थे।
उनको गाउँबाट भारत आउजाउ बढ्दो थियो।
कोही गाउँले दाइहरूले उनलाई भने — तँलाई फिल्ममा रूचि छ। इन्डियामा २१ इन्चको ठूलो टिभीमा छानी छानी फिल्म हेर्न पाइन्छ। रमाइलो हुन्छ। राम्रा राम्रा कपडा पाइन्छ। पैसा पनि कमाइन्छ। पछि हिरो बनेर आउने, जाऔं, हिँड्!
फिल्मप्रतिको मोहले होला, उनी बहकाउमा लागे।
भूपूले त्यो समय सम्झिए, '१२ वर्षको थिएँ। कक्षा ६ मा पढ्दै थिएँ। स्कुल छाडेर, घरबाट बुबाको पैसा चोरेर इन्डिया हानिएँ।'
उनी लाहुरे बन्न भारत गएका थिए। पैसा कमाउन गएका थिए। फिल्म हेर्न पाइन्छ भनेर गएका थिए।
नयाँ दिल्ली पुगेको केही दिनपछि उनलाई एक जनाले घरमा लिएर गए।
बालख भूपूको दैनिकी तरकारी लिन जाने, घर सरसफाइ गर्ने, भाँडा माझ्ने भयो। उनले केही मेसो पाउन सकेका थिएनन्।
एकदिन जब भाँडा फुटाएको निहुँमा झापड खाए, अनि पो थाहा पाए, उनी त अर्काको घरमा काम गर्न गएका रहेछन्।
तर उनले त्यसरी धेरै समय काम गर्नुपरेन। आमाले जसोतसो घर झिकाइन्। स्कुल भर्ना गरिदिइन्। तर त्यस बेला पनि भूपूले पढाइमा ध्यान दिएनन्।
त्यसपछि भने घर सल्लाहमै उनी आफन्तसँग फेरि भारत लागे। तर यसपालि आफन्तसँगको एउटा घटनाले उनको मनमा साह्रै चोट पर्यो। अनि भने घर फर्किएर पढ्छु भन्ने इख उनमा पलायो।
'फर्किएर फेरि कक्षा ६ मा भर्ना भएर पढ्न थालेँ। त्यसपछि कहिल्यै फेल भइनँ,' भूपू सम्झिन्छन्।
यसपछि नै हो संगीततर्फ उनको रहर मोडिएको पनि।
उनलाई कक्षा ७ मा पढ्दा स्कुलको कार्यक्रममा पहिलोपटक गीत गाएको अहिले पनि याद छ।
त्यस बेला शिक्षकले आएर धाप मार्दै भनेकी थिइन् — राम्रो गाउने रहेछस् त। अब फेरि फेरि पनि गाउनुपर्छ है!
'त्यसपछि गायनप्रति रूचि अंकुराउँदै गयो। गाउने जोस बढ्दै गयो,' उनले भने, 'स्कुलमा शिक्षक नआउँदा वा खाली समयमा साथीहरूले पनि गीत गाउन आग्रह गर्न थाले।'
२०६२ सालमा एलएलसी पास गरेपछि बुबाले दिएको दस हजार रूपैयाँ लिएर भूपू पहिलोपटक काठमाडौं आए।
त्यति बेला उनीसँग दुइटा सपना थिए — फिल्ममा गाउँछु कि फिल्म खेल्छु।
फिल्ममा उनलाई हिरो नभएर चरित्र अभिनेता बन्ने मन थियो। हिरोमा आफूलाई कसैले लिँदैनन् भन्ने उनलाई लाग्थ्यो रे!
काठमाडौं आएपछि उनले बबरमहलमा डेरा जमाए। रत्नराज्य (आरआर) कलेजमा संगीत पढ्न थाले। आइए (प्लस-टु सरह) पढ्दासम्म खर्च घरबाट बुबाले पठाइदिन्थे। पछि उनलाई आफै कमाउन थाल्नुपर्छ भन्ने लाग्यो।
संगीतमा स्नातक पढ्न थालेसँगै उनी बाद्यवादन सिक्नतर्फ लागे। ड्रम प्याड बजाउन सिके। दोहोरी साँझमा मादल बजाउन थाले। क्यासिनोमा म्युजिसियन भएर पनि काम गरे। धार्मिक कार्यक्रममा ड्रम प्याड बजाउने काम गरे। ६-७ वर्ष भजनमा समय बिताए।
संगीतमै स्नातकोत्तर भर्ना हुँदासम्म पनि उनले गीत ल्याउन भने हतार गरेनन्। संगीत सिक्ने र संगीतको ज्ञान लिनमै वर्षौं खर्चिएपछि बल्ल गीत रेकर्ड गराए।
भजनमा धेरै वर्ष बिताएकाले उनले सांगीतिक करिअर भजन एल्बमबाटै सुरू गरे। सरस्वती बन्दना भजन रेकर्ड गराए पनि सार्वजनिक गरेनन्। त्यसको केही महिनापछि सातवटा भजन समेटेर पहिलो एल्बम 'मोक्षपथ' ल्याए। यो दस वर्ष अगाडिको कुरा हो।
यसको दुई वर्षपछि उनले पहिलो कर्मसियल एल्बम 'मायावी' सार्वजनिक गरे। यसमा समावेश 'चम्पा' बोलको गीतले उनलाई केही हदसम्म चिनाउने प्रयास गर्यो। त्यसपछि 'छाता बोकी लैजाऊ' बोलको, नाच्ने शैलीको गीत ल्याए। यो पनि केही हदसम्म रूचाइयो।
यसपछि पनि निरन्तर केही गीतहरू ल्याए, तर अपेक्षित चलेनन्।
कोरानाकालको पहिलो लकडाउनमा उनले नयाँ गीत ल्याए-
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
यो गीतका लागि भूपूले निकै मेहनत गरेका थिए। भारतको राजस्थान र नेपालको अछाम पुगेर भिडिओ बनाएका थिए। समय पनि धेरै लगाएका थिए।
गीत मेहनत अनुसारकै चल्यो।
'संगीतमा निकै वर्ष बिताएको थिएँ। यो गीत आएपछि मलाई संगीतमा लय समात्न अलिकति सजिलो भयो,' भूपूले भने, 'बौद्धिक वर्ग, मौलिक संगीतलाई माया गर्ने स्रोता-दर्शकमाझ यो गीतले मलाई चिनायो।'
यो गीतले सांगीतिक क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढाएको उनले बताए।
यसपछि उनले ल्याएको गीतले भने उनलाई भाइरल नै बनाइदियो — जाँदा जाँदै बन्दीपुर पुग्यो!
यसले उनमा थप हौसला थप्यो। अहिले 'पिरै पिर' बाट पनि उनले तारिफ बटुलिरहेका छन्। उनलाई चिन्नेहरू पनि बढेका छन्।
'भूपू पाण्डे भनेर चिनाउन १८ वर्ष लाग्यो। मलाई कसैले चिन्दैन थिए। यत्तिकै हिँडिरहेको हुन्थेँ। अहिले धेरथोरले चिन्न थालेका छन्। तरकारी किन्न जाँदा पनि गीत गाइदिनुहोस् न भन्छन्,' उनले हाँस्दै भने, 'अगाडिको यात्राका लागि अलिकति सहज भएको महसुस भइरहेको छ।'
शास्त्रीय संगीतमा स्नातकोत्तर पढिसकेका भूपूले ६० वटाभन्दा बढी गीतमा स्वर दिएका छन्। एक सयभन्दा बढी गीत कम्पोज गरेका छन्। प्रमोद खरेल, शिव परियारदेखि मेलिना राई, अस्मिता अधिकारी, रचना रिमालसम्मले उनको कम्पोजमा गीत गाएका छन्।
भूपूका गीतमा पीडाका कुराहरू बढी पाइन्छ। युवाका कथाहरू पाइन्छ। अझ वैदेशिक रोजगारीका दुःख बढी भेटिन्छ। उनका चलेका गीतहरू 'छोटो छ जिन्दगी' देखि 'पिरै पिर' सम्म यिनै कुरा महसुस गर्न पाइन्छ।
आफूले बाल्यकालमै भारतमा नेपालीहरूको जीवनशैली नजिकबाट देखेकाले पनि यस्ता गीत बनाउन र गाउन मन लाग्ने भूपू बताउँछन्।
आगामी दिनमा पनि उनले यस्ता गीतलाई निरन्तरता दिनेछन्।
'तर लोक शैलीमा ढल्किने सोच छ। बजारमा आइरहेका जस्ता लोक गीत होइन, अलिकति फरक स्वाद दिने कोसिस गर्नेछु,' उनले भने।
संगीतमा जम्दै गएका भूपूको फिल्ममा खेल्ने रहर अझै मासिएको छैन।
त्यसैले पनि होला, भूपू आफ्ना गीतका भिडिओमा भिजेर अभिनय गरिरहेका हुन्छन्।