काठमाडौं युनिभर्सिटी आर्ट्समा मिडिया अध्ययन गरिरहेका विज्ञान सापकोटा दुई वर्षअघि ताप्लेजुङ पुगेका थिए। कलेजले आयोजना गरेको कार्यक्रमको पहिलो बसाइ कोशी टप्पूमा थियो।
उनीहरू बाँसले बनेको रिसोर्टमा बसिरहेका थिए।
रातको १२ बजे एक्कासि खैलाबैला भयो। मान्छेहरू कराउन थाले। हात्तीले आतंक मच्चायो भनेको सुनियो।
सेना आएर हात्ती नियन्त्रणमा लिने तयारी भयो। वरिपरि मान्छेको भीड पनि थुप्रै थियो।
यो माहोल हेर्दा मेला लागेजस्तै अनुभव गरिरहेका थिए विज्ञान।
केही समयपछि भने त्यही माहोलले उनलाई विथोल्दै लग्यो।
'तराईमा हात्तीको आतंक शीर्षकमा धेरै समाचार बने। हात्तीले किन आतंक मच्चाइरहेको छ, समाधानको उपाय के हो भन्ने विषयमा भने चर्चा कम भएजस्तो लाग्यो,' विज्ञानले भने, 'त्यसैले मैले यो कथा वृत्तचित्र (डकुमेन्ट्री) मार्फत् भन्ने निर्णय गरेँ।'
वृत्तचित्रको नाम राखे – गणेशा एलिफास मैक्सिमास।
उनीसँग वृत्तचित्र बनाउने हौसला थियो तर पैसा थिएन। उनले विभिन्न महोत्सवमा अनुदानका लागि आफ्नो कथा पठाए। उनको कथाले काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा अनुदान पायो।
'हाम्रो वृत्तचित्रले अनुदान पायो भन्ने खबर सुन्दा निकै उत्साहित भएका थियौं। हामी किम्फसँग जोडिन पायौं भन्दा मात्रै पनि मनोबल नै उच्च हुँदो रहेछ। त्यसपछि त हाम्रो काम गर्ने जोसजाँगर नै बढ्यो,' विज्ञानले सेतोपाटीसँग भने।
अनुदान पाएपछि विज्ञान र समर्पण श्री माघको अन्तिमतिर छायांकनमा निस्किए। यो वृत्तचित्रको स्क्रिप्ट विज्ञान र समर्पणले मिलेर तयार पारेका हुन्।
'यो हात्ती र मानिसको द्वन्द्वको कथा हो। त्यही भएर हामीले एक जना पात्रलाई मात्र नभई सरकारी निकाय, हात्ती आतंकका पीडित सबैलाई समेट्ने प्रयास गरेका छौं। हामीलाई यति थाहा थियो कि वृत्तचित्रमा सबैको आवाज सुनिनुपर्यो,' विज्ञानले भने।
आफ्नो वृत्तचित्र खिच्न झापाको बाहुनडाँगी पुगेका विज्ञानले त्यहाँ छुट्टै परिवेश पाए। हात्ती र मान्छेको द्वन्द्व खिच्न पुगेका थिए उनी। तर त्यहाँ हात्ती आउँदा उसलाई केही गरेन भने हात्तीले पनि केही गर्दैन भन्ने मान्छेहरूले बुझिसकेका थिए।
'हात्तीले बाहुनडाँगीमा बीस वर्षअघि जति पनि मान्छे मारेको थियो हरेकको आ-आफ्नै कारण थिए। हरेक पात्रहरूसँग बुझ्दा कोही मान्छेले रक्सीको नसामा त, कसैले आफ्नो अन्नबाली खाइदिएको निहुँमा हात्ती लखेटेका जस्ता कारण थिए। हात्तीले यत्तिकै त आतंक फैलाएको रहेनछ।'
बाहुनडाँगीमा कम भए पनि झापाका अन्य ठाउँ र सुनसरीका विभिन्न ठाउँमा हात्ती पुग्न थालेको थियो। पहिले समूहमा हिँड्ने हात्ती पछि खान नपाएर एक्लै हिँड्न थालेको थियो।
विज्ञानले झापाको शिवसताक्षी गाउँमा पम्फा राईलाई भेटेका थिए। उनी कुबेतमा भएका बेला उनको घरमा हात्तीले आतंक मच्चाएछ। उनले श्रीमान गुमाइन्।
त्यो घटनामा उनले श्रीमानसँगै, आफ्ना आशा पनि गुमाइन्। घरव्यवहार कसरी सम्हाल्ने भन्ने अनुभव उनीसँग थिएन। सबै श्रीमानले सम्हालिरहेका थिए। नेपाल फर्किएपछि कागजातका नमिलेका कारण कुबेत पनि जान नमिल्ने भयो।
'एउटा घटनाले मान्छेको जीवनमा ठूलो परिवर्तन ल्याउने रहेछ। हामीले शिवसताक्षीमा यस्ता थुप्रै पात्र भेट्यौं,' विज्ञानले भने।
विज्ञानको टिम पुस-माघमा शिवसताक्षी पुगेका थिए। त्यति बेला हात्ती खासै आउँदैन थियो। हात्ती असार-साउन र कात्तिक-मंसिरमा जब मकै र धान फलेको हुन्छ, तब आउने विज्ञानले बताए।
बाहुनडाँगीमा हात्ती आउँदा कस्तो व्यवहार गर्ने भन्ने सबैलाई थाहा भइसकेको थियो। शिवसताक्षीमा भने कसरी सावधान रहने भन्ने ज्ञान थिएन।
यस्तै कथा बटुलेर विज्ञानहरू काठमाडौं फर्किए।
वृत्तचित्र सम्पादनमा बस्दा विज्ञानलाई मुख्य कथा छुटेको महसुस भयो।
'हामीले मुख्यमन्त्रीदेखि पीडित सबैको आवाज समेटेका थियौं। तर मुख्य कथा हात्तीको हो, त्यो नै छुटेछ। हात्ती मान्छेसँग रिसाइरहेको हुन्छ। त्यस्तो अवस्थामा कसरी खिच्ने भन्ने भयो। हात्तीको आक्रमण खिच्न हामीलाई धेरै मुस्किल परिरहेको थियो। हामीलाई हात्तीको फुटेज पुग्दैन जस्तो लागेर दोस्रो चरणमा पनि खिच्न गयौं,' उनले भने।
यसरी तयार भएको वृत्तचित्रलाई उनीहरू अब फिचर फिल्म बनाउने तयारीमा छन्।
'हामीले थुप्रै फुटेज खिचेका छौं जसबाट फिचर फिल्म बनाउन पर्याप्त हुन्छ। छिट्टै बनाउँछौं,' उनले भने।
विज्ञानको यो पहिलो डकुमेन्ट्री हो।
हेर्दा सजिलो लागे पनि वृत्तचित्र बनाउँदा निकै गाह्रो हुने उनको अनुभव रह्यो। कथा थाहा भए पनि कसरी भन्ने भनेर अलमल भयो।
'यी कुरा अनुभवले सिकाउने रहेछन्। हामी नयाँ भएकाले पात्र, कथा थाहा हुँदा हुँदै पनि कमीकमजोरी भइहाल्दो रहेछ,' विज्ञानले भने।
विज्ञानले विकास आचार्यको फिल्म 'म तिम्रो भइसकेँ' मा बालकलाकारको रूपमा अभिनय गरेका छन्। उसो त उनी नवजात शिशु हुँदा पनि 'पाहुना' फिल्ममा देखिएका थिए।
उनका बुवा शम्भु सापकोटा छायांकार थिए। उनले 'हामी तीन भाइ, पाहुना, सुखदुःख' लगायत फिल्म छायांकन गरेका छन्। त्यसैले विज्ञानले बालकलाकारको रूपमा अभिनय गर्ने अवसर पाएका थिए।
'फिल्मी वातावरणमा हुर्किएकाले फिल्ममै रूचि बढ्यो। पहिला कलाकार बन्ने रहर थियो। पछि फिल्म बुझ्दै जाँदा आफ्नो कथा भन्न निर्देशक बन्नुपर्छ भन्ने लाग्यो,' विज्ञानले भने।