गुड फ्राइडे सिनेमा
सुन्दरतालाई के कुराले मापन गरिन्छ? बाहिरी रूपमा राम्रो देखिनु मात्र सुन्दरता हो?
कसैलाई अनुहार राम्रो हुनु सुन्दरता लाग्न सक्ला त कसैलाई बोली र व्यवहार! सुन्दरतालाई हरेक मानिसहरू आफ्नै हिसाबले व्याख्या गरिरहेका हुन्छन्।
कतिपय ठाउँमा छालाको रङका आधारमा सुन्दरताको मापन गरिन्छ।
यस्तै विषयवस्तुको नजिक रहेर तयार पारिएको फिल्म हो – पिंकी ब्युटी पार्लर।
यसमा अपराध सस्पेन्स पनि जोडिएको छ।
फिल्ममा दुई दिदीबहिनीको कथा समेटिएको छ। बुलबुलको छालाको रङ अश्वेत हुन्छ भने पिंकीको गोरो।
एकदिन उनीहरूको तस्बिर खिच्न आमाले फोटो स्टुडिओ लग्छिन्। स्टुडिओको मान्छेले सोध्छन्, 'ठूली छोरीको नाम बुलबुल होइन।'
उनकी आमाले जबाफ फर्काउँदै भन्छिन्, 'हजुर, सानीको नाम पिंकी।'
'हेर्दा दुई जना आफ्नै दिदीबहिनी हो जस्तो लाग्दैन,' स्टुडिओवालाले भन्छन्।
'बुलबुल आफ्नो बुबाजस्तै छिन्। त्यसैले उनी अलि काली छिन्। के गरौं, थोरै पाउडर लगाइदिऊँ,' उनकी आमाले भन्छिन्।
'भयो पर्दैन,' स्टुडिओवालाले भन्छन्।
स्टुडिओवाला र आमाको कुराकानी भइरहँदा बुलबुलको अनुहारबाट मुस्कान पनि हराउँछ। उनी जुन जोसका साथ तस्बिर खिचाउन तयार भएकी थिइन्, तस्बिर खिच्दासम्म त्यो उत्साह रहँदैन। खिस्स हाँस्छिन् मात्र।
ठूली भएपछि बुलबुल र पिंकी एक पार्लर चलाउँछन्। उनीहरूले थुप्रै कामदार पनि राखेका छन्। मान्छेहरू सुन्दर हुने आशमा उनीहरूको पार्लर धाइरहन्छन्। उनीहरूलाई एकछिन फुर्सद हुँदैन।
तर पिंकी र आफूलाई सबैले आफ्नै दिदीबहिनी जस्तो लाग्दैन भनेको कुराले बुलबुलको पिछा कहिल्यै छोड्दैन।
यही कुराबाट छुट्कारा पाउन बुलबुलले पिंकीलाई बनारसबाट पार्लर सिक्न दिल्ली पठाउँछिन्। करिब दुई वर्षपछि विभिन्न बाध्यताका कारण बुलबुलले पिंकीलाई बोलाउँछिन्। उनीहरू दुवै जना मिलेर पार्लर चलाइरहेका हुन्छन्।
एकदिन अचानक बुलबुल पार्लरमा मृत भेटिन्छिन्। उनको हत्या हो कि आत्महत्या भन्ने खोजीमा प्रहरी लाग्छन्। शंकाको घेरामा आउँछन् उनकै बहिनी पिंकी पार्लरका अरू कर्मचारीमाथि पनि शंका हुन्छ।
के बुलबुलको रहस्यमय मृत्युको कारण खुल्छ?
यसका अक्षय सिंह निर्देशित फिल्म 'पिंकी ब्युटी पार्लर' हेर्नुहोला।
यसले कान फिल्म फेस्टिभल, मामी फिल्म फेस्टिभल, युएसए फिल्म फेस्टिभल लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको छ। फिल्ममा खुस्बु गुप्ताले बुलबुलको भूमिका निर्वाह गरेकी छन् भने सुलग्ना पाणिग्रहीले पिंकीको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा खुस्बु र सुलग्नासँगै अक्षय सिंह, विश्वनाथ चाटर्जी, अभय जोशी, अर्पिता बर्नेजीलगायत कलाकारको अभिनय छ।
सानो बजेटमा बनेको यो फिल्मले सिनेमा हलहरूमा ठूलो प्रभाव त छाडेन। तर समीक्षक र विभिन्न महोत्सवहरूमा यसले उत्कृष्ट फिल्मको दर्जा पाएको छ। भारतीय समाजमा विशेषगरी महिलाको छालाको रङलाई लिएर कस्तो सोच राखिन्छ, त्यसले कुनै व्यक्तिको आत्मविश्वास र आफ्नै नातेदारसँगको सम्बन्धमा समेत कस्तो असर पार्छ भन्ने कुरा फिल्ममा देखाइएको छ।