बन्द कोठा अनि एक बन्धक युवती, पहाडी मूलकी। युवती अचेत छिन्।
उनका आँखामा गेरू रंगको रामनामी पट्टी र मुखमा गम्छा बाँधिएको छ।
युवतीको ठिकअगाडि एक मधेस मूलका युवक उनलाई नियालिरहेका छन्। युवकले युवतीलाई पश्चाताप र माया मिश्रित भावले लामो समय हेर्छ र गहिरो सास लिन्छ।
अचानक के मन लागेर हो, युवकले उसको फोन उठाउँछ र युवतीको फोटो खिच्न तयार हुन्छ।
उनी आत्तिन्छिन्।
हडबडाउँदै सोध्छिन्, 'म कहाँ छु?'
युवक युवतीलाई शान्त बनाउन खोज्छन्। आफ्नो कुनै गलत भावना नभएको बताउँछन्।
यो दृश्य फिल्म 'केटी हराएको सूचना' को हो।
दुई दिनको घटनाक्रम समेटिएको यो फिल्ममा मधेसका युवा र पहाडकी युवतीको प्रेमकथा देखाइएको छ। फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ।
यो फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्।
दीपेन्द्र उनै निर्देशक हुन् जसले बालविवाहको विषय समेटेर बनाएको टेलिशृंखला 'उजेली' बाट चर्चा बटुलेका थिए। आफ्नो पहिलो कामबाटै गहिरो छाप छाड्न सफल भएका थिए।
उनले उजेली करिब ३० वर्षअघि बनाएका हुन्। त्यति बेला उनी एउटा गाउँ पुगेका थिए। त्यहाँबाट फर्किँदै गर्दा सानी बालिकालाई डोलीमा बिदाइ गरिरहेको देखे। काठमाडौंमा जन्मे-हुर्केका दीपेन्द्रलाई यो दृश्य नौलो लाग्यो।
तत्काल उनले एक स्थानीयलाई सोधे, 'यो के गरेको?'
स्थानीयले बिहेपछि बिदाइ गरेको भन्ने जबाफ दिए।
उनले सोधे, 'यस्तो कुन ठाउँमा हुन्छ?'
'यताको सबै भेगमा हुन्छ,' स्थानीयले भने।
दीपेन्द्रलाई यो विषयमा अनुसन्धान गर्न मन लाग्यो। अनुसन्धानपछि उनले वृत्तचित्र बनाउने सोचे। तर कतैबाट सहयोग र अनुदान नपाएपछि उनले त्यो कथालाई टेलिशृंखला 'उजेली' मार्फत देखाए। व्यावसायिक कलाकारबिनै बनाइएको यो टेलिशृंखला दर्शकले खुब रूचाए। टेलिशृंखलाका केही क्लिप कोरोना लकडाउन बेला भाइरल पनि भयो।
उजेली बनाएपछि दीपेन्द्रको जीवनमा पनि उज्यालो थपिँदै गयो।
'त्यसपछि मैले बालश्रमका विषयमा दुइटा फिल्म बनाएँ जुन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भए,' दीपेन्द्रले भने, 'ती फिल्म नेपालमा भने देखाइएन।'
उनले आफ्नो पुर्खाको इतिहास समेटेर मुस्ताङको कथा भन्ने सोच बनाएका थिए। तर फिल्मका लागि बुझ्न गाउँ जाँदा उनको खुट्टा भाँचियो। त्यो योजना सोचमै सीमित भयो।
केही समयपछि उनले बिबिसीमा कार्यकारी निर्माता बन्ने अवसर पाए। बिबिसीमार्फत संसार घुम्न पनि पाइने भएकाले सहजै उनले प्रस्ताव स्वीकार गरे। त्यहाँ जोडिएपछि उनी विभिन्न अभियानमा सहभागी भए। यसै क्रममा अफ्रिका गएर एउटा फिल्म बनाए।
उनी क्याम्बोडियामा परिवारसहित गए। एक वर्षका लागि भनेर गएका उनको जीवन त्यतै बित्न थाल्यो। त्यहाँबाट विभिन्न परियोजनामार्फत उनी विभिन्न देश गए।
'क्याम्बोडियामा मैले एचआइभी सम्बन्धी काम गरेँ। त्यसमा मैले विश्व प्रख्यात अभिनेता ज्याकी च्यानलाई समावेश गरेर विज्ञापन बनाएँ। त्यसलाई युनिसेफले ५० वटा देशमा प्रदर्शन गर्यो,' दीपेन्द्रले भने।
यसले दीपेन्द्रलाई थप उचाइमा पुर्यायो। विभिन्न देशमा एचआइभी सम्बन्धी कार्यक्रम हुँदा उनलाई निम्तो आउँथ्यो। आमा र बच्चाको स्याहार सम्बन्धी पनि उनले धेरै काम गरे।
दीपेन्द्रले गिनिज वर्ल्ड रेकर्डसमेत राखेका छन्।
'क्याम्बोडियामा बिहेहरूमा सबै जना मिलेर एउटा खास नाच नाचिन्छ। मैले एकसाथ हजार जनालाई नचाएर गिनिज वर्ल्ड रेकर्ड बनाएको छु,' उनले भने।
बिबिसीमा काम गरेको १६ वर्षमा दीपेन्द्रको प्रोजेक्ट बन्द भयो। उनको कामबाट प्रभावित बिबिसीले उनलाई नयाँ प्रोजेक्ट सुरू गर्न प्रस्ताव गर्यो।
उनले भने अब त्यहाँ काम नगर्ने निर्णय गरे।
'जागिर छाडेपछि म क्याम्बोडियाको संस्कृति मन्त्रालयमा आबद्ध भएँ। उनीहरूको उद्देश्य फिल्म क्षेत्र उकास्ने भएकाले त्यहीँ काम गर्न मन भयो,' उनले भने।
दीपेन्द्रले त्यहाँ काम गर्दा मानसिक स्वास्थ्य विषयमा पाँचवटा फिल्म बनाए। क्याम्बोडियन भाषाका ती फिल्म उनका विद्यार्थीले निर्देशन गरे। अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा यी फिल्मले उत्कृष्ट कलाकारदेखि उत्कृष्ट निर्देशकसम्मको अवार्ड जितेका छन्।
यी सबै सफलताहरू हात लाग्दै गर्दा दीपेन्द्रको एउटा सपना भने अधुरै थियो।
'ठूलो पर्दाका लागि फिल्म बनाउने ठूलै सपना थियो मेरो। यो सपनाले बेलाबेला झस्काउँथ्यो। झन् एउटा घटना त बारम्बार दिमाग आइरहन्थ्यो,' उनले भने।
उनले सन् २०११ को त्यो घटना सुनाए।
दीपेन्द्र र क्याम्बोडियाका केही कलाकार तथा निर्देशक नेपाल आएका थिए। यही मौका पारेर उनले सिनेमा हल बुक गरे र क्याम्बोडियन फिल्म देखाए।
फिल्म हेरेपछि प्रायः नेपाली दर्शकको प्रतिक्रिया थियो, 'दीपेन्द्रजी, कता हराउनुभएको? यस्ता फिल्म त नेपालै आएर बनाउनु नि!'
यो प्रतिक्रियाले दीपेन्द्रको मनमा हलचल मच्चायो।
उनले तिनै दर्शकलाई सोधे, 'यो फिल्ममा त एउटा पनि गीत छैन। नेपालमा चल्छ त?'
ती दर्शकले नेपालको फिल्म बजार पहिलेभन्दा निकै परिवर्तन भइसकेको बताए।
दीपेन्द्र फिल्म देखाएर क्याम्बोडिया फर्किए।
बीचमा नेपाल आउने सोचेका थिए, कोरोनाले रोक्यो। सन् २०२३ मा आउँदा भने उनी फिल्म बनाउने योजनासहित आए।
'लामो समय विदेश बसेकाले नेपाली फिल्म हेर्ने बानी छुटिसकेको थियो। अहिलेको परिवेशमा नेपालीले कस्तो फिल्म रूचाउँछन् भनेर अनभिज्ञ थिएँ,' उनले सुनाए।
त्यही अन्यौलबीच दीपेन्द्रले नकिम उद्दिन र किरण जोशीसँग सहकार्य गरे। त्यसपछि उनीहरूले फिल्मको स्क्रिप्ट खोजे। जति हेरे पनि दीपेन्द्रले चाहेजस्तो कथा पाएनन्। अनि आफैले क्याम्बोडियामा हुँदा लेखेको फिल्म सम्झिए।
त्यो फिल्म कसरी बनाइएको थियो भन्ने पनि किस्सा छ —
एकदिन दीपेन्द्र क्याम्बोडियाका विद्यार्थीलाई फिल्म लेख्न सिकाउँदै थिए।
उनले विद्यार्थीहरूलाई भनेछन्, 'एक बन्द कोठामा दुई जना मान्छे मात्र छन्। तिमीहरूले यो सेरोफेरोमा फिल्म बनाउन सक्यौ भने राम्रो निर्देशक हुन सक्छौ।'
विद्यार्थीहरू मुखामुख गरे। लेख्न खोजेजस्तो गरे। सकेनन्।
अनि दीपेन्द्रलाई नै चुनौती दिँदै भने, 'हामीले त सकेनौं। पहिला तपाईं नै बनाउनुस्।'
दीपेन्द्रले चुनौती स्वीकार गर्दै स्क्रिप्ट लेखे र तीस मिनेटको फिल्म बनाए। त्यो छोटो फिल्मले राम्रो प्रतिक्रिया पायो।
विद्यार्थीहरू छक्क परे — यस्तो फिल्म पनि बन्दो रहेछ!
त्यही कथावस्तुमा तयार भएको फिल्म हो 'केटी हराएको सूचना', जुन अहिले दीपेन्द्रले नेपालमा प्रदर्शन गर्न लागेका छन्।
क्याम्बोडियामा छोटो फिल्म बनाइसकेको त्यही विषय तन्काएर दीपेन्द्रले फिचर फिल्ममा ढालेका हुन्।
'नेपालको परिवेश, समुदाय लगायत विषयवस्तु समेटेर बनाइएको छ,' उनले भने।
क्याम्बोडियाको संस्कृति मन्त्रालयमा आबद्ध भएर काम गर्दा बचेको समयमा दीपेन्द्रले आफ्नो फिल्म बनाउने रहर पूरा गरेका छन्। तर उनलाई ठूला पर्दामा देखाउने अरू फिल्म पनि बनाउने रहर छ। अझ आफ्नो पुर्खाको इतिहास समेटेर फिल्म बनाउने पुरानो सपना बाँकी नै छ। पहिले त्यो फिल्मको काम सुरू नगर्दै उनको खुट्टा भाँचिएर बनाउन पाएका थिएनन्।
'एउटा सपना त छिट्टै पूरा हुँदैछ,' नोभेम्बरमा प्रदर्शन तयारी गरिरहेको फिल्म 'केटी हराएको सूचना' लाई इंगित गर्दै दीपेन्द्रले भने, 'अर्को वर्ष आफ्नो पुर्खाको इतिहास समेटेको फिल्म बनाउँछु कि! अनि केही क्याम्बोडियन फिल्म नेपालीमा बनाउन पनि मन छ।'
करिब तीन दशक फिल्म निर्माणमा बिताइसकेका दीपेन्द्रको फिल्मबारे सिद्धान्त छ — हतार नगरी बनाउने!
'तपाईंको पहिलो फिल्म नै सिग्नेचर फिल्म हो। त्यो राम्रो भयो भने अरू पनि राम्रो काम गर्न सक्छ भन्ने छाप पर्छ। पहिलो र दोस्रो फिल्म राम्रो बनाउन सकिएन भने पछि जति नै राम्रो बनाए पनि कसैले विश्वास गर्न सक्दैनन्।'
तर पहिलो टेलिशृंखला राम्रो बनाएका दीपेन्द्रलाई हरेक नयाँ फिल्म बनाउँदा 'उजेली' जत्तिको बनाउन सक्दिनँ कि भन्ने सुर्ता चाहिँ लागिरहन्छ।
'प्राविधिक रूपमा अहिलेको मेरो फिल्म राम्रो होला। तर उजेलीलाई जित्ने फिल्म फेरि बनाउन सक्दिनँ कि भन्ने डर भइरहन्छ,' २१ वर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका दीपेन्द्रले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी