दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित गन्धर्व टोल। यहाँका साँघुरा गल्लीहरूको कुनाबाट सारंगीको मधुर धुन सुनिन्छ।
यो टोलमा ५५ घरपरिवार गन्धर्वहरू बसोबास गर्छन्। उनीहरू सबै एउटै ऐतिहासिक धरोहरका उत्तराधिकारी हुन्।
यी सबैका गुरू हुन् ६५ वर्षीय शालिकराम गन्धर्व। उनका हातले सारंगी बजाउन थालेको दशकौं भइसक्यो।
पौराणिक, धार्मिक, सांस्कृतिक, राजनीतिक तथा मुलुकका ठूला घटनाक्रमहरू उनलाई कन्ठस्थ छन्। उनी सारंगी बजाउँदै गाउँघरमा गीत-संगीतका माध्यमबाट ती घटनाक्रम सुनाउँदै हिँड्छन्।
उनका गीतमा शिव-पार्वतीका गाथादेखि राम र कृष्णका अदभूत कथा, रावणको अट्टहासम्म जीवित छन्। पृथ्वीनारायण शाहको वीरता, भीमसेन थापाको राजनीति, जंगबहादुर राणाको कठोर शासन — यी सबै घटना मिसिन्छन्।
'राजा महेन्द्रपछि नेपालको राजनीतिमा भएका सबै उथलपुथल गीतमा संकलन गरेका छु,' शालिकरामले भने, 'ती राजनीतिक उथलपुथललाई लय हालेर सुनाउन सक्छु।'
त्यसैले होला, शालिकराम लगायत सबै गन्धर्वलाई मौखिक इतिहासका उत्तराधिकारी भनिन्छ।
शालिकरामले यी सबै ज्ञान आफ्ना बाजे रत्नबहादुर गन्धर्वबाट सिकेका हुन्। रत्नबहादुर समाजका महत्त्वपूर्ण घटनाक्रमलाई कला र गायनका माध्यमबाट गाउँबस्तीमा सुनाउँदै हिँड्थे। त्यो बेला सामाजिक सञ्जाल, मोबाइल वा अहिलेका जस्तो सञ्चारमाध्यम थिएनन्। गन्धर्वहरू नै सूचनाका संवाहक मानिन्थे। उनीहरू गीत-संगीतका माध्यमबाट घटनाक्रम गाउँदै सुनाउँथे।
शालिकरामले स्कुलको अनुहारै देखेनन्। तर बाजे रत्नबहादुरकै साथमा गाउँदै हिँड्दा पौराणिक, धार्मिक, राजनीतिक तथा ऐतिहासिक घटनाहरू कन्ठ पारे। लिखित दस्तावेज नभए पनि मौखिक रूपमै ज्ञान आर्जन गरे। त्यही ज्ञान उनले आफ्ना पछिल्ला पुस्तालाई बाँडे।
त्यसैले शालिकराम गन्धर्वहरूलाई पत्रकारका 'गुरू' समेत भन्छन्।
'आज पनि धेरै पत्रकारहरू बाटो पुग्ने ठाउँसम्म मात्र जान सक्छन्। तर सच्चा गन्धर्वहरू पत्रकार नपुग्ने ठाउँमा देश-काल-परिस्थिति गाउँदै सूचना दिइरहेका छन्,' उनले भने।
यसरी नै सूचना दिँदै हिँड्ने क्रममा दुई-तीन महिनासम्म घर नफर्केको अनुभव छ शालिकरामसँग। महेन्द्रनगर, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, रोल्पा, रूकुमसम्म घुम्दै गीत गाउँथे उनी। कहिलेकाहीँ १९० रूपैयाँसम्म पारिश्रमिक पाउँथे। त्यति बेला यो रकम निकै ठूलो मानिन्थ्यो।
शालिकरामका अनुसार गन्धर्वहरूमा बिहान, दिउँसो, साँझ फरक धुन बजाउने परम्परा छ। गन्धर्वले सबभन्दा पहिला मंगलधुन बजाउनुपर्छ, जुन सारंगी फुकाउने मन्त्र जस्तै हो। गोरखनाथको मंगलधुन गाएपछि सारंगी बाँध्ने र दुर्गा भगवतीको मंगल गाएपछि सारंगी फुकाएको मानिने उनले बताए।
गन्धर्व समुदायको उदगम स्थल भारतको गान्धार हो। गान्धारकी एक युवतीमाथि भएको अन्याय सहन नसकी गन्धर्वहरू नेपाल पसेका थिए। नेपाल प्रवेश गर्दा एक समूह हुम्ला-जुम्लातिर र अर्को गोरखातिर आएको उनी बताउँछन्।

शालिकरामका पुर्खा जुम्लाबाट सल्यान आएका थिए। जुम्लाका राजा ज्ञानेन्द्रबहादुर शाह सल्यानको फालावाङ सरेपछि उनका पुर्खा पनि त्यहीँ आए।
शालिकरामको परिवार २०२२ सालदेखि दाङको तुलसीपुर–४ रक्षाचौरमा अस्थायी रूपमा बस्न थालेको थियो। त्यो बेला गन्धर्वहरूलाई त्यहाँ बस्न तुलसीपुरका तत्कालीन प्रधानपञ्च देवेन्द्र गिरीले सहयोग गरेका थिए।
पछि राजा महेन्द्रको आदेशमा गन्धर्वहरूलाई काठमाडौं बोलाइयो। दरबारमा उनीहरू गीत गाउँथे, नृत्य देखाउँथे। त्यस क्रममा भक्तबहादुर गन्धर्वले राजासँग बिन्तीपत्र चढाएर आफूहरूलाई सहज रूपमा बस्ने व्यवस्था गरिदिन भने। उनले दाङमै जग्गा मागे। राजा महेन्द्रले पनि आदेश दिए र गन्धर्वहरूले ऐलानी जग्गा पाए। त्यो बेलादेखि अहिलेसम्म यसरी नै बस्दै आएका उनीहरूको स्वामित्वमा उक्त जग्गाको पुर्जा छैन।
'उहिल्यैदेखि हामी बस्दै आएको घर-जग्गाको कानुनी अधिकार हामीलाई दिनुपर्छ। गन्धर्व समुदायका केटाकेटीलाई शिक्षा र रोजगारीका अवसर दिनुपर्छ,' शालिकरामले भने, 'देशमा जति व्यवस्था फेरिए पनि हाम्रो अवस्था सुध्रिएको छैन। बिहान खाएपछि बेलुका के खाने भन्ने समस्या छ।'
उनका दुई छोरा छन्। ठूला विजय २७ र कान्छा विशाल २४ वर्षका भए। शालिकरामका दुवै छोराले सारंगी बजाउने पेसा अपनाएका छैनन्। उनीहरू ज्याला-मजदुरी गर्छन्। पुर्खाको सीप सिक्नु राम्रो हो भनेर सम्झाउँदा पनि छोराहरूले नमानेको उनी बताउँछन्।
सारंगीको उत्पत्ति, विकास र बजाउने सीपबारे शालिकरामले एक किम्बदन्ती सुनाए।
शिव, पार्वती र सरस्वतीको उत्पत्ति सँगै सारंगीको विकास भएकाले यसलाई सबभन्दा जेठो र सर्वश्रेष्ठ बाजा मानिन्छ। सारंगी बनाएपछि महादेवले सरस्वतीलाई दिए। सरस्वतीले त्यो नारदलाई दिइन्। तर नारदले बजाउन सकेनन्। त्यसपछि सारंगी मिरालाई दिइयो। उनले पनि बजाउन सकिनन्। अन्तिममा यो फर्केर सरस्वतीकहाँ नै आइपुग्यो। तर सरस्वतीले समेत बजाउन नसकेपछि ऋषिमुनिहरूलाई दिइन्। उनीहरूले थोरै बजाउन जाने। अन्त्यमा गन्धर्व समुदायकहाँ पुग्यो। तब मात्र सारंगी बजाउने वास्तविक सीपको विकास भएको मानिन्छ।
सारंगीको राजनीतिक महत्त्वसमेत भएको शालिकराम बताउँछन्।
पृथ्वीनारायण शाह कीर्तिपुर युद्धमा पराजित भएपछि उनी बिसे नगर्ची (दमाई) को घरमा पुगे। बिसे दमाईले पृथ्वीनारायण शाहलाई स्वागत गरे। राजाले आफ्नो पराजयपछि अब के गर्ने भनेर बिसे दमाईसँग सल्लाह मागे। बिसे दमाईले टपरीमा एक माना चामल र एक सुनको सिक्का राखेर राजालाई बुझाए। पृथ्वीनारायण शाहले यसको अर्थ सोधे। बिसे दमाईले सो चामल आफ्नो रासनमा राख्न र सिक्का राज्य ढुकुटीमा थप्न सुझाए। यसैबाट राष्ट्रव्यापी सहयोगको अभियान सुरू भएको मानिन्छ।
त्यसपछि, बिसे दमाईले पृथ्वीनारायण शाहलाई लाटो कामी नामका व्यक्तिसँग हतियार बनाउन आग्रह गरे। युद्धको तयारीपछि बिसे दमाईले गन्धर्वहरूलाई साथमा नलगे विजय सम्भव नहुने बताए। सोही अनुसार मणिराम र हिरामणि गन्धर्व युद्धमा जान तयार भए। हिरामणिले आक्रमणको रणनीति बनाए। मणिरामले सारंगी बजाउँदै शत्रुलाई भुलाउने काम गरेको कथन छ।
'यसरी तेस्रो प्रयासमा पृथ्वीनारायण शाहले कीर्तिपुरमा विजय प्राप्त गरे,' शलिकराम भन्छन्, 'राजा-महाराजाहरूलाई समेत सारंगीले राजनीतिक रूपमा योगदान दिएको छ। धार्मिक अनुष्ठानदेखि लिएर ऐतिहासिक युद्धसम्म, सारंगीको महत्त्व अतुलनीय छ।'
५५ वर्षीय गणेश गन्धर्वलाई कसैकसैले सारंगीलाई मागी खाने भाँडो भनेको चित्त बुझ्दैन। आफ्ना बुबाबाट सारंगी बजाउन सिकेका उनले आर्थिक कठिनाइका चार कक्षा पढ्दापढ्दै छाडे। यसपछि सारंगी नै उनको सारथि भएको छ। उनी दसैंमा गाउँघरमा मंगलधुन बजाउन जान्छन्।
'सारंगी मागी खाने भाँडो मात्र होइन, यसलाई बजाउन कला चाहिन्छ। समाजमा आफ्नो कलाको प्रभाव छोड्न सकेमा मात्र सारंगीको सम्मान कायम रहन्छ,' गणेशले भने।
अहिलेको गन्धर्व पुस्ताले सारंगीलाई महत्त्व नदिएकोमा उनी चिन्तित छन्। बरू गैर-गन्धर्वहरूले राम्रो सारंगी बजाउन सिक्दै गरेको उनले बताए।
'यही अवस्था रह्यो भने गन्धर्वका सन्तानले भविष्यमा गैर-गन्धर्वहरूसँग सारंगी बजाउन सिक्नुपर्ने दिन आउन सक्छ,' गणेशले भने।
गणेशका छोराहरू विदेशमा छन्। उनीहरूले गणेशलाई पनि सारंगी नबजाउनू भन्छन्। तर गणेश पैसाका लागि मात्र होइन, लोकबाजा सारंगी लोप नहोस् भनेर पनि बजाउँछन्। अझ यसको संरक्षणका लागि प्रशिक्षण स्थान नै खोलिनुपर्ने उनी बताउँछन्।
'यसको संरक्षण भएन भने गन्धर्व समुदायको परम्परागत बाजा र गन्धर्व कलाकार नै मासिने खतरा छ। हामी र राज्यले समेत यसको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्नुपर्छ,' गणेश र शालिकरामको एकै स्वर छ, 'अस्ति भर्खर पूर्णबहादुरको सारंगी भन्ने फिल्म त सुपरहिट भयो। सबैले सरहाना गरे। हाम्रो सारंगी चाहिँ कहिले हिट हुन्छ?'