यही शनिबार काठमाडौं टुँडिखेल मैदानमा चर्चित गायक–गायिका र ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएका छन्।
३० औं महानगर दिवसको अवसर पारेर मंसिर २९ गते रूचाइएका डेढ दर्जन बढी संगीतकर्मीले प्रस्तुति दिन लागेका हुन्।
काठमाडौं महानगरले गएका बर्षहरुमा सञ्चालन गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिँदै यसवर्ष सांगीतिक कार्यक्रममा प्रस्तुतिहरु थप गरेको छ।
दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्चमा हुनेछ। चर्चित कलाकारहरूको सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा अपरान्ह ३ बजेदेखि सुरू हुनेछ।
दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, कुमा सागर एण्ड द ख्वप, सुगम पोखरेल ब्याण्ड, अस्मिता अस्मिता अधिकारी, रचना रिमाल, बाबुकृष्ण परियार, उर्गेन दोङ, केहर लिम्बु एण्ड जोय ब्याण्ड, एकदेव लिम्बू, महेश काफ्ले, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे, सन्दीप विष्ट लगायतले प्रस्तुति दिन लागेका छन्।
कार्यक्रममा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ।
यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ। सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजकहरू छन्।
२०५२ साल मंसिर २९ गते काठमाडौंलाई काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो। सोही दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ।