'करोडौंको जग्गा कौडीको भाउमा लिई स्थानीय जनताको उठिवास।'
गत वर्ष फास्ट ट्रयाक परियोजनाविरूद्ध आन्दोलनमा उत्रेका खोकनावासीमध्ये एक जना महिलाको प्लेकार्डमा यस्तै लेखिएको थियो।
'नो फास्ट ट्रयाक' लेखेको मास्क पहिरेकी ती महिलाजस्तै थुप्रै व्यक्ति बुधबार साँझ पाटन दरबार स्क्वायर डबलीमा भेटिए। मंगलबजारमा सुकुमाया, कृष्णचा, तुयु मैचा, लुमन्ती र अरू थुप्रै थिए।
यी नाम शिल्पी थिएटरद्वारा हाल उपत्यकाका सार्वजनिक स्थल, डबली र चोक-चौतारामा मञ्चन भइरहेको 'ठूलो माछा-सानो माछा' का पात्र हुन्।
नाटकमा एउटा परिवार र समुदायको कथामार्फत् विकासका नाममा भइरहेको अतिक्रमण, बेथिति र भ्रष्टाचारमाथि व्यंग्य गरिएको छ।
काठमाडौं उपत्यकामा सरकारले विकासका नाममा गरेको जग्गा अतिक्रमणको कथा केन्द्रमा छ। तर नाटकमा भाषा, संस्कृति, सम्पदा, पर्यावरणसम्मका विषय गाँसिएर आउँछ।
करोडौं मानिसको रगत पसिनामा
तिम्रो सत्ताको जग बसेको छ
यही गीतबाट खबरदारी गर्दै नाटक सुरू हुन्छ। मञ्चमा सुकुमाया र उनकी नातिनी लुमन्तीबीचको संवादसँगै नाटक अघि बढ्छ।
हजुरआमा ढुंगेधारा र खोलानाला सुकेको, वनजंगल मासिएको र अचेल चराचुरुंगी आउन छाडेका कुरा सुनाउँछिन्। नातिनी थरिथरिका चराचुरुंगी अब क्यालेन्डरमा सीमित भएको निष्कर्ष निकाल्छिन्।
उनका छोरा-बुहारी कृष्णचा र तुयु मैचालाई एकातिर छोराछोरी भविष्य र बढ्दो महँगीलाई पुर्ख्यौली पेसाले मात्र नधान्ने चिन्ता छ। सडक बिस्तारले पुर्खाले जोडेको खेत मासिने भयले उत्तिकै सताइएका छन्। मुआब्जा लिने कि नलिने दुबिधा पनि छँदैछ।
तर परम्परागत रीतिथिति र पेसागत कर्मलाई निरन्तरता दिँदै गुजारा चलाउने आममानिसको समस्या चाहना र दुबिधाबारे राजनीतिकर्मी र सरकारी पदाधिकारीलाई कुनै मतलब छैन।
सडक विस्तारपछि आफ्नो पुर्ख्यौली थातथलो छोड्न बाध्य मानिसहरूको पुनर्वासबारे सरकारलाई कुनै चासो छैन।
मेयर पैसाको खोलो बगाएर भए पनि सडक विस्तार गरेरै छाड्ने उद्घोष गर्छन्। उपमेयर र स्थानीय हिराकाजीजस्ता केही मानिस सडक विस्तारविरूद्धमा उभिन्छन्।
नाटकले यो द्वन्द्वलाई गीत-संगीत र व्यंग्यात्मक संवादका माध्यमबाट देखाएको छ।
ठूलो माछा-सानो माछा घिमिरे युवराजको परिकल्पनामा तयार भएको नाटक हो।
करिब एक दर्जन कलाकार रहेको नाटकमा कृष्णभक्त महर्जन, रेनुका कार्की ढोली, संगिता उराँव, पवित्रा खड्का, मञ्जु श्रेष्ठ, मानहाङ लावती, सविन कट्टेललगायत कलाकारले अभिनय गरेका छन्। शिल्पीले यसलाई 'मुक्त रंगमञ्च प्रस्तुति' भनेको छ।
खुला ठाउँमा सिर्जनात्मक रंगकर्म गर्ने अभ्यासका रूपमा ठूलो माछा-सानो माछा मञ्चन गरिएको हो,' निर्देशक घिमिरेले भने।
मुक्त रंगमञ्चमा डबली, चोक, चौतारीलाई मञ्च बनाइन्छ। यो शैलीले दर्शकलाई सोझै जोड्ने भएकाले मुक्त रंगमञ्च सामाजिक राजनीतिक मुद्दा उठानका लागि प्रभावकारी हुन्छ।
शिल्पीले यो नाटक उपत्यकाका विभिन्न ठाउँमा मञ्चन गरिरहेको छ।
काठमाडौंमा मञ्चन हुनुअघि शिल्पीले यो प्रस्तुति पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा मञ्चन गरेको थियो।
हरेक ठाउँअनुसारकै स्थानीय भाषा, संस्कृतिसहित त्यहीँका मुद्दा उठाइने भएकाले यो नाटक परिमार्जन गरेर प्रस्तुत हुँदै आएको छ।
मंसिर १० देखि २० सम्म काठमाडौंमा हुने प्रस्तुतिमा नेपालीसँगै नेपालभाषाका संवाद राखिएको छ। त्यसैगरी उपत्यकाका नेवार समुदायले भोगेको समस्यालाई मूल विषय बनाइएको छ।
तर पूर्वमा यो नाटकमा नेपालीसँगै त्यहीँका मैथिली, उराँव, थारूलगायत भाषामा संवाद राखिएको थियो। निर्देशक घिमिरेका अनुसार राजधानीमा सम्पदा र संस्कृतिलाई प्राथमिकता दिएजस्तै पूर्वी नेपालमा विकास निर्माण र भ्रष्टाचारका विषयलाई प्राथमिकता दिइएको थियो।
खुला ठाउँमा मञ्चन हुँदा यसै पनि त्यहाँ वरपर आउने मानिस झ्याम्मिन्छन्। पाटन दरबार स्क्वायरमा साँझको समय बिताउन गएका केही मानिसले यसरी नै नाटक हेरेका थिए।
नेपालभाषाका संवादले मात्र नभई यहाँका मानिसले भोगिरहेका विषयले गर्दा धेरैले नाटक रूचाएर हेरेका थिए। लाइभ संगीत प्रयोग गरिएको नाटकमा गीत-संगीत र कथा सँगसँगै बहेको छ। गीत-संगीतमा पनि नेवार समुदायले आफूलाई भेट्छन्।
तर नाटकले समेटेको विषय नेवार समुदायमा मात्र सीमित छैन।
नाटककी पात्र लुमन्ती नर्स बन्न चाहन्छिन्। तर शैक्षिक प्रमाणपत्रमा नाम लुमन्ती र नागरिकतामा लुमन्थी भएपछि छात्रवृत्तिको फारम भर्न नाम सच्याउनुपर्ने हुन्छ।
सरकारी कर्मचारीको लापरवाहीले नाम बिग्रिने र त्यसबाट सर्वसाधारणले दुःख पाउनु नेपालका पश्चिमदेखि पूर्वसम्मका मानिसले भोग्ने समस्या हो।
नाटकमा लुमन्ती र कृष्णचाले सरकारी कार्यालय धाएको दृश्यलाई यथार्थपरक रूपमा देखाइएको छ। एउटा सरकारी अधिकारीले भन्छन्, '६ नम्बरमा जानुस्।'
बाबु-छोरी ६ नम्बर कोठामा पुगेर आफ्नो समस्या सुनाउँछन्। त्यहाँबाट फेरि १० नम्बर कोठामा पठाइन्छ। त्यहाँबाट फेरि अर्को कोठा र अनि फेरि अर्को गर्दै चहार्दा पनि काम बन्दैन।
यो दृश्य तपाईं हामी सबैले भोग्दै आएको समस्या हो। त्यसैले त नाटक जहाँजहाँ मञ्चन हुन्छ, यो दृश्यमा दर्शकले ताली बजाइहाल्छन्।
नाटकमा पाइला-पाइलामा सवारी चालकको लाइसेन्स लिने ठाउँदेखि बिरामी उपचार गराउने अस्पतालसम्म बिचौलिया र भ्रष्टाचारको बिगबिगीलाई पनि रोचक शैलीमा देखाएको छ।
अनेक समस्यालाई एकै ठाउँमा देखाइँदा एउटै नाटकमा धेरै फराकिलो विषय समेट्न खोजिएजस्तो पनि लाग्छ। निर्देशक घिमिरेले ठूलो माछा-सानो माछालाई अभियान भनेका छन्।
नाटकको अन्ततिर मेयरलाई प्रश्न गरिन्छ, 'मेयर साब, अग्लो भ्युटावर बन्दा हामी सामान्य जनताले के पाउँछौं?'
नाटकको नाम ठूलो माछा-सानो माछाले शक्तिशाली पदमा रहेका र शक्तिविहीन सर्वसाधारणको मानिसको प्रतीकका रूपमा राखिएको छ। सानो माछा अर्थात् साना मान्छेका भोगाइ र प्रश्नलाई स्थानीय स्वादमा देखाइएको यो नाटक आगामी मंसिर २० गतेसम्म चल्ने छ।
खोकनावासीजस्तै गएको वर्ष बालाजु बाइपासका स्थानीय पनि सडक बिस्तारको सास्तीमा परेपछि विरोधमा सडकमा आउन बाध्य भएका थिए।
नाटकले समातेको विषय र बालाजुका मानिसको कथा पनि मेल खाने भएकाले यही नाटक भोलि शुक्रबार बालाजुमा मञ्चन हुँदैछ। हालका लागि ठूलो माछा-सानो माछाको अन्तिम मञ्चन मंसिर २० गते बांगेमुढामा हुने छ।
निर्देशक घिमिरेले भने, 'यो नाटक बेथिति विरुद्धको अभियान भएकोले हामी यसपछि पनि विभिन्न समूह र संघ-संस्थासँग हातेमालो गर्दै अरु ठाउँहरुमा पनि मञ्चन गर्ने छौं।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी