सुनसान छ। फाट्टफुट्ट मात्र मान्छे मर्निङ-इभिनिङ वाक वा दौडका लागि देखिन्छनन्। साइक्लिङ भने अलि बढेको छ। सधैं व्यस्त रहने सडकमा आक्कल झुक्कल मात्र कार देखिन्छन्। पार्कहरू बन्द गरिएको छ। पब र पसल (खाद्यान्न र औषधिकाबाहेक) बन्द छन्।
बिहानैदेखि फार्मेसी र ग्रोसरी पसलमा लामो लाइन सुरू हुन्छ। लाइनमा बस्दा पनि कम्तिमा २ मिटर दुरी कायम गर्छन्। एकअर्कासँग सबैलाई डर छ। ग्रोसरी पसलभित्र २-२ मिटर दुरीमा धर्का तानिएको छ। मानिसहरू त्यही धर्काको दुरीमा रहेर सामान छान्छन्। सम्भव भएसम्म सेल्फ चेक आउट र कन्ट्याक्ट लेस पेमेन्ट प्रयोग गर्न भनिएको छ।
बेलायत सरकारले २० मार्चमा अर्ध लकडाउन गरेको थियो। जसमा स्कुलहरू बन्द भए, रेस्टुरेन्टमा इटइन (भित्र बसेर खाने) सेवा बन्द गरेर टेक-वे मात्र अनुमति दिइयो। साँझपख निकै भिड हुने पबमा भिडभाड नगर्न भनियो। पार्क बन्द नगरिकन खेल्न जानु भन्ने आह्वान भयो।
तर सोही शुक्रबार र शनिबार पब र पार्कमा मानिसको भिड केही कमी भए पनि उल्लेख्य रुपमा घटेन। त्यस्तो अर्ध लकडाउनले काम गरेन र भाइरस फैलिन सक्ने सम्भावना उत्तिकै रह्यो। फलस्वरुप २३ मार्चको रातबाट लागू हुनेगरी पूर्ण लकडाउनको आदेश आयो।
लकडाउन अवस्थामा खाद्यान्न र औषधि किन्न जान पाइन्छ। नेपालमाजस्तो टोलैपिच्छे किराना पसल नहुने भएकोले केही माइल टाढा जानै पर्ने अवस्था धेरैजसो क्षेत्रमा छ। जसका लागि कि सर्वजानिक यातायात प्रयोग गर्नुपर्छ, कि आफ्नै कारमा।
यस्तो अवस्था भएकाले प्रहरीले जो कोहीलाई रोकेर सोध्दैन सोधिहाले कारण बताएपछि सजिलै अनुमति पाइन्छ। मर्निङ वा इभिनिङ वाक, साइक्लिङ र व्यायामका लागि बाहिर जान पाइन्छ। तर मानिस कार प्रयोग गर्दै घरभन्दा टाढा साइक्लिङ वा पदयात्रामा जान थालेकोले यस्ता गतिविधमा रोक लगाइएको छ।
सम्भव भएसम्म अफिसको काम घरबाटै गर्नुपर्छ। नसक्ने अवस्था भए अफिस जान रोक छैन। यस्तो हुँदा सडकपेटी र पद मार्गमा छिटपुट मान्छे देखिरहन्छन्।
सपिङ सकेसम्म अनलाइन नै गर्न सुझाइएको छ। अनलाइन सपहरू खुला छन्। सामान डेलिभरी गरिरहेका छन्। खाद्यान्नमा निश्चित सामानको अभाव यथावत छ। चामल, स्पागेटी, पास्ता र लामो समय राख्न सकिने तयारी खाना पाउन मुश्किल नै छ।
प्रायः ठूला स्टोरहरूले बिहान जेष्ठ र अशक्त नागरिकका लागि छुट्याएका छन्। उक्त समयमा अरूले समान किन्न पाउँदैन। अनलाइनमा पनि एकै व्यक्तिले अथाह समान अर्डर गर्न पाउँदैन। निश्चित कोटा तोकिएको छ। दैनिक प्रयोजनका सामानको मूल्य वृद्धि भएको छैन। सामान्य अवस्थामा प्रायः दैनिक प्रयोजनका सामानमा छुट हुन्थ्यो। अहिले छैन।
नेपाल र बेलायतमा लकडाउन लगभग एकै समयमा भयो। तर पूर्ण लकडाउनसम्म आइपुग्दा बेलायतमा केहीको मृत्यु भइसकेको थियो। लगभग १९ प्रतिशत जनता जेष्ठ नागरिक रहेको बेलायत कोरोनाको ठूलो चपेटामा पर्ने सक्ने आकलन गरिएको छ।
केही अध्ययनले दुई लाख ५० हजारसम्मको मृत्यु हुनसक्ने र उक्त संख्या २० हजारभित्र सीमित गर्न सकियो भने ठूलो उपलब्धि हुने जनाएका छन्।
नेपाल र बेलायतको लकडाउनमा केही भिन्नता भने देखिन्छ। नेपालका केही स्थानमा प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेको भिडिओ सामाजिक सञ्जालमा व्यापक देख्न सकिन्छ। छिटपुट रूपमा जनता पनि लकडाउनका सामान्य मान्यता तोडिरहेका देखिन्छन्।
लकडाउन तोड्ने क्रियाकलाप बेलायतमा पनि नहुने होइन, भइरहेका छन्। तर प्रहरीले बल प्रयोग गर्दैन। दुई जनाभन्दा धेरै जम्मा भएका छन् भने तितर-वितर हुन आग्रह गर्छ। नमाने उनीहरूलाई जरिवाना तिराउँछ। फरक परिवारका जस्ता देखिने मान्छे एकै ठाँउमा जम्मा भएको देख्यो भने बिनम्र भएर छुट्टिन आग्रह गर्छ।
बेलायतमा प्रहरीले न त लाठी चार्ज गर्छ, न त एक जना वा परिवारका सदस्य सँगै हिँड्न प्रतिबन्ध लगाएको छ। बेलायतमा प्रत्येक नागरिकको भरपर्दो डाटाबेस रहेकाले कानुन कार्यान्वयनमा सहजता आएको हो।
अर्को फरक पक्ष के छ भने, सामान्यतया बेलायतमा मानिस मास्क लगाएर हिँडने गरेका छैनन्। बरू कसैले मास्क लगाएर आयो भने ऊसँग तर्सिएको देखिन्छ। धेरैलाई के विश्वास छ भने, मास्क कि त संक्रमितले लगाउने हो या काम गर्दा स्वास्थ्यकर्मीले। स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रायः सबै क्षेत्रमा छुट व्यवस्था गरिएको छ। खाद्यान्न खरिद होस् या सवारी साधनमा, उनीहरूलाई लोभलाग्दो छुट दिइएको छ। समाजमा सम्मान उत्तिकै छ।
बेलायत र युरोपका धेरै देशले विदेशमा रहेका आफ्ना नागरिकलाई सकेसम्म देश फर्किन आह्वान गरिरहेका छन्। देश फर्किएपछि अनिवार्य १४ दिन सेल्फ आइसोलेसनमा बस्नैपर्ने नियम छ। सबैले पालना गरेको पनि देखिन्छ।
बेलायतमा कोरोना संकटका कारण यदि जागिर गयो वा दैनिक काम गर्न नसक्ने अवस्था आयो भने सरकारले प्रतिमहिना धेरैमा २५०० पाउन्डसम्म दिने घोषणा गरेको छ। साना व्यवसायीलाई अनुदान स्वरूप २५००० पाउन्ड दिने घोषणा गरेको छ। बेरोजगारहरूले पहिलादेखि पाइरहेको भत्ता त यथावात छ।
बेलायतमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पनि कोरोना संक्रमित भएर आइसोलेसनमा छन्। उनीहरूले यदि रोगले सिकिस्त बनायो भने उनीहरूको पद अन्य वरिष्ठ मन्त्रीले सम्हाल्ने छन् भनेर पहिला नै घोषणा गरेका छन्।
इटाली र स्पेनमा भएको डरलाग्दो स्थितिबाट समयमै शिक्षा नलिनाले बेलायतमा कोरोना फैलिने मौका पायो र अहिले ठूलो क्षति बेहोर्न पर्ने अवस्थामा पुगेको छ। सुरूमा सरकारका सुझाव अवज्ञा गरेका ब्रिटिसहरू अहिले अलि हताश छन् र लकडाउनलाई पूर्ण स्विकारेका छन्। सरकारले अझै कडा प्रावधान ल्याउने तयारी गरेको बुझिएको छ।
कोरोनाका कारण संसारमा धेरै मान्छेले घरभित्रै सीमित हुनुपरेको छ। यो अदृष्य शक्तिले कति जीवन क्षति गर्ने हो, अनुमान गर्ने अवस्था छैन। यो दुश्मनसँग लड्न आजसम्म कुनै हतियार तयार भएको पनि छैन। मानव र अदृष्य शक्तिबीचको यो युद्ध कति लम्बिने हो, निश्चितत छैन।
तपाईंहरू पनि लकडाउन पूर्ण पालना गरेर यो लडाइँमा सिपाहीको भूमिका निर्वाह गर्नुस्, 'स्टे होम' हतियार सक्दो प्रयोग गर्नुस्।