कोरोना नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन २ महिना कटिसकेको छ। लकडाउनकै बीचमा कोरोना संक्रमण दिनानुदिन उच्च दरमा बढ्नु र कोरोनाभन्दा खाद्यान्न अभाव तथा विविध कारण मानिसले समस्या झेलिरहेका छन्।
एकान्तबासका कारण मानिसहरूमा मानसिक र सामाजिक समस्या थपिएका छन्। देशको अर्थतन्त्र क्रमशः धराशयी हुने अवस्थामा छ। कोरोना महामारीका कारण सिर्जित अवस्थाले अध्ययन, कामको सिलसिलामा घर परिवारबाट टाढा रहनुभएका डेरावालहरूको जीवन पनि निकै कष्टकर बनिरहेको छ।
लकडाउनको अवधि थपिँदै जाँदा दिनहरू थप कष्टकर र पीडादायी बन्दै गइरहेको छ।
देशको सामाजिक र आर्थिक क्षेत्रमा डेरावालहरूको योगदानको अध्ययन र मूल्याकंन हालसम्म नभएको भएता पनि डेरावालहरूले काठमाडौं लगायतका ठूला साना सहरलाई चलायामान बनाइरहेको तथ्य सबैले मनन गरेका छन्।
काठमाडौंकै कुरा गर्दा यहाँको जनसंख्याको पचास प्रतिशत त डेरावालाहरू छन्। उनीहरूबाट प्राप्त हुने भाडाको आम्दानीबाट धेरै परिवारले जीवन धानिरहेका छन् भने बहुसंख्यक व्यवसायी डेरावालहरूमै भर परेका छन्।
कलेज, स्कुल, यातायात, अस्पतालहरू सफल संचालनको लागि डेरावालहरूको उल्लेखनीय योगदान रहँदै आएको छ।
अहिले त कोठा खोज्ने, सार्ने र व्यवस्थापनकै लागि भनेर केहिले संस्था दर्ता गरी व्यवसाय गरिरहेका छन्। देशका विभिन्न क्षेत्रबाट आउने व्यक्तिहरूले सहरमा सामाजिक सद्भाभाव विकास गरी समाजलाई बहुरंगी बनाइरहेका छन्।
देशैभरिका जातजाति, भूगोलका संस्कृतिहरू काठमाडौंलगायत सहरका स्थानीयले प्रत्यक्ष अनुभव गर्न पाएका छन्। विविधताको सहकार्यले समाजलाई साँच्चै सुन्दर बनाएको छ।
सामाजिक दूरी बढाउँदा रोग फैलिन कम हुने बुझाइका कारण डेरावालहरू आफूलाई बिल्कुल एक्लो महशुस गरिरहेका छन्।
विपतको बेला परिवारसँग टाढिनु परेको बाध्यतासँगै साना कोठामा गुम्सिएर बस्नुपर्दा मानसिक पीडा झन् बढिरहेको छ।
सबै व्यक्ति आ–आफ्नो घरभित्रै बसेको अवस्थामा धेरै डेरावालहरूलाई विदेशमा रहेको जस्तै अनुभव पनि भइरहेको छ। न कसैसँग बोल्नु छ न त कसैले कुनै चासो नै राख्छ। सहारा छ त टेलिभिजन, रेडियो र इन्टरनेटको।
सुरू सुरूका दिनहरू कपडा धुने, कोठालाई चिटिक्क बनाउने, नयाँ नयाँ र पुराना छुटेका फिल्महरू हेर्ने, मोबाइल सेवा प्रदायकले दिएका प्याकेजको सदुपयोग गर्दै दूरदराजका आफन्तहरूसँग कुराकानी गर्दैमा बिते पनि त्यसपछिका दिनहरू पट्टयारमै बित्ने गरेका छन्।
उपलब्ध समयको सही सदुपयोग गर्न नपाउँदा डेरावालहरूलाई निकै छट्पटी पनि भइरहेको छ। कृषि कर्मको समयमा गाउँसम्म जान पाएको भए कति काम गर्थ्यौं होला भन्ने हुटहुटी पनि धेरै डेरावालहरूमा रहेको छ।
माना छरी मुरी फलाउने यो समयमा घरपरिवारको साथ रहेर कृषि कार्य गर्न पाएको भए उत्पादन वृद्धि हुने थियो, बाझा बारीहरू पुनः हराभर हुने थिए भन्दै समयमा गाउँ पुग्न नसकेकोमा पश्चाताप पनि छ। हुन त साथीहरू कविता लेखन, विभिन्न अनलाइन कक्षामा सहभागी, विभिन्न विषयमा स्व–अध्ययनमा व्यस्त रहनुभएको पनि छ तर परिवार सँगको विछोडले पोलिरहेको छ।
प्रविधिको क्षेत्रमा भएको विकासले भने एकान्तवासलाई रमाइलो बनाउन निकै सहयोग गरिरहेको छ। सामाजिक सञ्जालमा उपलब्ध हुने विभिन्न ठट्यौली भिडिओ, सूचनामूलक राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार, सिर्जनशील कार्य लगायतका सामग्रीले एकान्तबासमा मन बहलाउन धेरै सहयोग गरिरहेका छन्।
स्वास्थ्य समाग्री खरीद काण्ड होस् वा अध्यादेशको विषय वा यस्तै विविध विषयमा सामाजिक सञ्जालकर्ताहरूले पक्ष-विपक्षमा खुलेर राख्ने विचार लकडाउन पीडितहरूलाई समय कटाउने राम्रा मसला हुने गरेका छन्।
नियमित रूपमा काम गर्न नपाएपछि डेरावालाहरूलाई पर्ने मुख्य समस्या भनेको समयमा भाडा बुझाउनु र नियमित रूपमा खाद्यान्नको व्यवस्था गर्नु नै हो।
सरकारले घरबेटीहरूलाई भाडा मिनाहा गर्न गरेको आग्रहलाई घरबेटीहरूले नबुझेर हो वा बाध्यताले पालना गर्न हिच्किचाइरहेका छन्।
केही अपवादबाहेक धेरै घरबेटीहरूले नियमितमा जस्तै भाडाको आशा गर्दा डेरावालहरूलाई निकै असजिलो महशुस हुने गरेको छ। कुनै आधार बिना मनलाग्दी भाडा निर्धारण गर्ने बानी परेका घरबेटीहरूसँग डेरावालहरूले कसरी पो प्रतिवाद गर्न सक्नु र! डेरावालहरूलाई कि त नयाँ कोठा खोज्ने जस्तो जटिल काममा लाग्नु पर्छ वा खुरूखुरू भाडा तिर्नुपर्छ।
कोठा सजिलै कहाँ पाइनु र? लिगं, वर्ण, उमेर, पेशा, जात र यस्तै विविध कुर मूल्याकंनमा पास भइसकेपछि मात्रै कोठा पाइन्छ। सासंदले त जातजातिको निहुँमा कोठा पाउँदैनन् भने हामी सामान्य नागरिकको त के कुरा भो र!
कोरोना महामारीकै समयमा कतिपय निष्ठुरी र असमझदार घरबेटीहरूले भाडामा बस्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई घरमा प्रवेश गर्न रोक वा घरनिकाला नै गरेको दु:खद् समाचार पनि सुन्नमा आयो। यस्ता घटनाले घरमालिक र डेरावालहरूबीच मनमुटाव हुने गरेको छ।
यस्तै समस्याहरूको समाधान गर्न डेरावालहरू संस्थागत रूपमा एकजुट भइरहेका पनि छन् तर समस्याहरूका बारेमा सरोकारवाला त्यति चिन्तित कहिल्यै भएनन्। अझ यस महामारीको बेलामा त डेरावालहरूको चासो कस्लाई पो होला र?
खाद्यान्नको व्यवस्थापन गर्न पनि निकै गाह्रो छ। भान्छा कोठा, अध्ययन कोठा, पाहुना कोठा,सयन कक्ष आदि सबै एउटै कोठाले प्रतिनिधित्व गरिरहेको अवस्थामा भण्डारण कक्षको त कल्पना गर्न पनि सकिँदैन। बढीमा एक महिनालाई पुग्ने खाद्यान्नको व्यवस्था त जेनतेन होला तर २–३ महिनाको लकडाउनलाई कसरी सहन गर्ने! फेरि हामीजस्तो डेरावालले धेरै सामग्री जोहो पनि गर्नु नहुने। कुन दिन घरबेटी कुनै निहुँ पारेर घर छाडिदिनु पर्यो नानी भन्दै आउने हुन्!
विविध व्यवधान भए पनि यस महामारीको समयसँग जुध्नु नै छ। यस रोग विरूद्धको लडाइँमा अग्रभागमा रहनुभएका वैज्ञानिक, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको त्यागको सामुन्नेमा हाम्रो पीडा न्यून रहेको यथार्थ हामीलाई अवगत छ।
डेरावालहरू धैर्यताका साथ रोग विरूद्धको खोप वा औषधि छिट्टै पत्ता लाग्नेमा विश्वास गरिहेका छन्।