विश्वसँगै नेपाल कोरोना महामारी विरुद्ध लडिरहेको छ। विश्वको सामाजिक आर्थिक आयामहरुमा यस महामारीले निकै ठूलो नोक्सानी गरिसकेको छ। माघ महिनामा पहिलो पटक नेपालमा पत्ता लागेको कोरोना हालसम्म देशका सबै जिल्लाहरुमा पुगिसकेको छ र करिब सत्र हजार नेपालीहरु संक्रमित भएका छन्।
यसै रोगका कारण हालसम्म नेपालमा ३८ जना र विश्वका विभिन्न भागमा करिब १५० नेपालीहरुले ज्यान गुमाउनु परेको छ। कोरोनाले जनधनको क्षतिसँगै मानिसमा गहिरो मनोवैज्ञानिक असर गरिरहेको छ जसको मापन गर्ने कुनै आधार हामीसँग छैन्। बेरोजगारी, सामाजिक तिरस्कार, भविष्यको चिन्ता, गरिबी लगायतका कारण सयौ नेपालीहरुले आत्महत्या जस्तो पीडादायक बाटो रोजिरहेका छन्।
कोरोना संक्रमण सुरु भईसकेपछि नेपालमा आत्महत्याको वृद्धि २५ प्रतिशतले बढेको पीडादायक तथ्याकंले महामारीका कारण मानिसहरुमा परिरहेको नकारात्मक असरबारे प्रस्ट पार्दछ। सम्पूर्ण राष्ट्र कोरोना रोकथाम र उपचारमा व्यस्त रहेको समयमा सामाजिक समस्याहरुमा सरोकारवालाहरुको कम ध्यान जानु केही हदसम्म तर्कसगंत रहेपनि यसैकारण सामाजिक संरचना र विकासमा पर्न सक्ने दीर्घकालीन असरबारे हामीले अहिले देखिनै सोच्नु जरुरी छ।
कोरोना महामारीले समाजका हरेक तप्कालाई असर गरिरहेको छ र त्यसमध्ये बालबालिका सबैभन्दा बढी प्रभावित हुने मध्येका हुन्। करिब ११ हप्ताको पूर्ण लकडाउनपछि अफिस खुले। अफिस जाने तयारी गर्दैगर्दा मेरो पाँच वर्षिय छोराले प्रश्न गर्यो 'ड्याडी, तपाईको अफिस खुल्यो, मेरो स्कूल कहिले खुल्छ? मेरो स्कूल किन नखुलेको?'
शब्द सामान्य छन् तर भाव निकै मार्मिक र गहिरो छ। लकडाउनका कारण लामो समय घरभित्रै थुनिएर बस्नुपर्दाको पीडा बच्चाले व्यक्त गरिरहेको थियो। वयस्क मानिसलाई त समय कटाउन निकै अप्ठ्यारो भएको अवस्थामा अवोध बालकको मस्तिष्कमा कस्तो प्रभाव परिरहेको होला?
बालबालिकाहरु स्वाभावैले जिज्ञासु हुन्छन् जुन उनीहरुको मानसिक विकासको लागि आवश्यक रहेको विज्ञानले प्रमाणित गरिसकेको छ। सबै परिवारमा बच्चाहरुले विभिन्न प्रश्नहरु अवश्य पनि गरिरहेका छन्। कोरोना के हो? कोरोना कसरी लाग्दछ? डगी(कुकुर)लाई कोरोना लाग्दैन हो? जस्ता अनगिन्ती प्रश्नहरु निरन्तर रुपमा बच्चाको दिमागमा उठिरहने रहेछन्।
हामीमध्ये कसैले धैर्यतापूर्वक जवाफ दिउँला, कतिले भिडिओ देखाउला तर पनि बच्चाको जिज्ञासा सिद्धिनेवाला छैनन्। उत्तर दिँदा-दिँदा हामीलाई दिक्क लाग्ला तर बच्चा झन उत्साहित भएर प्रश्न गरिरहेका हुन्छन्।
कोरोनाको बेला कसैसंग बोल्नु, कसैसंग भेट्नु हुँदैन हो? सानो उमेर तर पनि प्रश्न कति गम्भीर। कोरोनाबाट बच्नको लागि हामी सबैले घरका ढोका थुनेर बस्यौँ, अपरिचितसँग बोल्दा पनि बोलेनौँ। नयाँ मान्छे टोलमा देखिँदा हेयको दृष्टिले हेर्यौ। घरमा न कसैलाई स्वागत गर्यौँ न त कसैकोमा पाहुना हुन गयौँ।
सरकारले नै हिड्न डुल्न बन्देज लगाएको अवस्थामा सानो कोठानै संसार बनेको अवस्था छ। हामी सामाजिक प्राणी भएतापनि सबैसंग एक्लिएर बस्नु हाम्रो बाध्यता बनेको छ। हामी वयस्कले त यो कुरा बुझौला तर साना बालबालिकाले त पक्कै बुझेका छैनन्। यस्तोमा उनीहरुको मस्तिष्कले समाजको कस्तो चित्र बनाईरहेको होला?
घरमा आमाबुवा वा छिमेकीका विभिन्न कुरा सुनेर होला कोरोनाका बारेमा बच्चाहरुले धेरै ज्ञान हासिल गरिरहेका हुने रहेछन्। व्यक्तिगत सरसफाईका कुराहरुमा बच्चाहरु निकै चनाखो भएका छन्। मेरो परिवारमा जस्तै धेरैको परिवारमा बुवाआमा अफिसबाट घर फर्किएपछि बच्चाले भन्ने पहिलो वाक्य 'साबुनपानीले २० सेकेण्डसम्म हातखुट्टा धुनुस् है' हुने गरेको छ।
बालबालिकामा यस्तो चेतना आउनुको दीर्घकालीन महत्व रहेको छ र यसले भविष्यमा कोरोना लगायत अन्य रोग नियन्त्रणमा निकै सहयोगी हुन सक्छ। यसैगरी मास्क प्रयोगमा बालबालिकाहरुलाई बानी परिसकेको छ र प्रदुषणयुक्त सहरहरुमा स्वस्थ रहन यसले ठूलै सहयोग गर्नेछ।
बालबालिकाको चञ्चल मनमस्तिष्कले निकै जटील प्रश्न पनि सिर्जना गर्दछ। स्यानिटाइजर र साबुनपानीले किन कोराना मार्दछ? सबै प्रश्नका जवाफ सजिला हुँदैनन् र उनीहरुलाई बुझाउन पनि सम्भव हुँदैन्। 'भोलिपर्सी तिमी ठूलो भएपछि थाहा हुन्छ, अहिलेलाई भनेको मान है' भन्नुको विकल्प हामी अभिभावक सँग हुँदैन्। तर बच्चाहरुसँग विकल्प हुन्छ– 'मोबाईलमा हेरेर भन्नुस न।'
टेलिभिजन रेडियोमा निरन्तर रुपमा प्रसारण हुने कोरोना बारेका जनचेतनामुलक सूचनाको प्रभाव बालबालिकामा राम्रैसँग परेको छ। '......जितिन्छ, जितिन्छ, घरै बसे जितिन्छ भन्ने लयलाई धेरै बच्चाहरुले गुनगुनाईरहेको पाइन्छ। र फेरि बालमष्तिष्कले अर्को प्रश्न सिर्जना गर्दछ। कोरोनालाई कसरी जितिन्छ, ड्याडी?
वैज्ञानिकले औषधि र खोप पत्ता लगाएपछि कोरोनालाई जित्न सकिन्छ भन्ने जवाफले बच्चाको दिमागमा जरा गाडेर बसेर हो वा घर भित्र थुनिनुको पीडाबाट मुक्त हुने चाहनाले प्रायः हरेक दिन प्रश्न दोहोरिन्छ– वैज्ञानिकले औषधी पत्ता लगाए? किन छिट्टै पत्ता लगाउदैनन् वैज्ञानिकले? नयाँ औषधी र खोप पत्ता लगाउन कति समय र मेहनत लाग्दछ उनीहरुले कसरी बुझुन्!
बालबालिकामा कोरोना रोगप्रतिको चासो नजानिदो किसिमले विकास भईरहेको छ र उनीहरु समझदार पनि भएका छन्। प्रत्यक्ष भेट हुन नसक्ने अवस्थामा भाइबर, मेसेन्जर, ह्वाट्सऐप लगायतका सामाजिक सञ्जाल मार्फत आफन्तहरुसँग नियमित हुने कुराकानीले बालबालिकामा थोरै भएपनि मन बहलाउन सहयोग गरेको छ। गुल्मी तम्घासमा रहनुभएका हजुरबुबाले नातिलाई आफूलाई भेट्न आउभन्दा नातिले 'कोरोना सिद्देपछि आउछु है बुबा' भन्ने जवाफ फर्काउछ।
सबै आफन्तजनलाई यही जवाफ फर्काउदा हामी अभिभावकलाई बालबालिका जिम्मेवार भएको महशुस हुन्छ। यसले के देखाउँछ भने हाम्रो व्यवहार, रेडियो टिभिमा आउने सूचना लगायतका कारण बालबालिकाको कलिलो मस्तिष्कमा रोग र यसबारे बच्ने उपायहरुबारेमा राम्रो ज्ञानको भण्डारण भईरहेको छ। तर फेरि प्रश्न थपिन्छ, यो कोरोना कहिले जान्छ, ड्याडी?
कोरोना कहिले जान्छ वा सधै हामीसँगै रहन्छ यसको जवाफ वर्तमानमा कसैसँग नरहेको अवस्थामा हामीले यथार्थ जवाफ पाउन केही वर्ष कुर्नु नै पर्छ तर कोरोनाका कारण हाम्रो सामाजिक, आर्थिक र मनोवैज्ञानिक अवस्थामा पारिरहेको असरलाई क्रमशः न्यूनीकरण गर्दै जानुपर्दछ। देशको भविष्यका आधार रहेका बालबालिकाहरुमा यस रोग र अवस्थाका कारण हुन सक्ने नकारात्मक असर प्रति सबै अभिभावकहरु सचेत र जिम्मेवार हुनुपर्दछ।
एकै ठाँउमा लामो समय बस्दा हुनसक्ने नैराश्यता, डिप्रेसन, छट्पटी, तनाव लगायतका कुराहरुले वयस्क जस्तै बालबालिकामा पनि प्रभाव पार्न सक्ने हुँदा अभिभावकहरु चनाखो हुनु जरुरी छ। बालमस्तिष्कमा उब्जने प्रश्नहरुको जवाफ उनीहरुकै भाषामा दिन जान्नु र सक्नु पर्ने रहेछ। धेरै अभिभावकहरुमा बच्चाहरुलाई मोबाइल र टिभिमा भुलाएर राख्ने गरेको देखिन्छ जुन बच्चाको शारीरिक र मानसिक स्वास्थ्यलाई विषाक्त सावित हुन सक्दछ।
विकल्पमा बच्चाहरुलाई घरायसी कार्यहरुमा भुलाउने, उनीहरुसँग नयाँ र रमाइला विषयहरुमा कुरा गर्ने लगायतका क्रियाकलापमा सहभागी गराउनाले उनीहरुको शारीरिक र मानसिक विकास तथा समाजको सकारात्मक विकासमा सहयोग गर्न सक्दछ।
बालबालिकाको सुरक्षित भविष्यको सुनिश्चितता गर्नु राष्ट्र, समाज, विद्यालय र अभिभावकको संयुक्त जिम्मेवारी हो। हाल बन्द रहेका विद्यालयहरु कहिले खुल्ला होलान्, यसै भन्न सक्ने अवस्था छैन तर यसै बीचमा केही विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षा, दूर शिक्षा, घरदैलो कार्यक्रम लगायतका गतिविधिले वास्तवमै बालबालीकाहरुमा सकारात्मक उर्जा सिर्जित गरेको छ।
'मेरो अनलाइन क्लासको टाइम भयो, होमवर्क गरेर मेसेन्जरमा म्याडमलाई पठाउनु छ, मलाई त म्याडमले एक्सिलेन्ट दिनुभयो' भनेर बच्चाहरुले एकआपसमा कुरा गर्दा अत्यन्तै उत्साहित हुने गरेका छन्।
कतै निक्लन नपाउनु, साथीहरुसँग खेल्न नपाउनुका कारण होला यस्ता अनलाइन क्लास, दूर शिक्षा लगायतका कार्यक्रमहरुले उनीहरुमा क्रियाशिलता ल्याउने रहेछ र खुसी सञ्चार गर्दो रहेछ। बाध्यतावश नेपालका सबै बालबालिका यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाएका छैनन् तर केही नहुनुभन्दा थोरै भएकोलाई पनि उत्तम मान्नुपर्ने अहिलेको अवस्था रहेको छ।
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खाना जत्तिकै महत्वपूर्ण रहेका हुन्छन्– वातावरण र व्यवहार। बच्चाहरु स्वाभावैले जिज्ञासु रहने हुँदा अभिभावकले धैर्यतापूर्वक उनीहरुकै भाषामा सम्झाउने प्रयास गर्नु आवश्यक छ। बच्चाको मस्तिष्क कोमल हुने हुनाले उनीहरुमा जे देख्यो, जे सुन्यो त्यसको असर जीवनभर रहने हुँदा कोरोना समयमा हाम्रा व्यवहारले बालबालिकामा कस्तो प्रभाव बनायो होला भन्ने विषयमा गहन अध्ययन र अनुसन्धान हुनु जरुरी छ।
राष्ट्रका भावी आधारहरुको उचित विकासमा हामी सबै जिम्मेवार बन्नुपर्दछ। कोरोना जाओस् वा हामीसँगै रहोस्, हाम्रो सामाजिक विकास कहिल्यै पछाडि पर्नु हुँदैन र यसमा सबै नेपालीको साथ र सहभागिता जरुरी छ।