बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार बढेको र सेवामा प्रभाव परेकोबारे समाचारहरू आइरहेका छन्। यी समस्या एक-दुई महिनादेखि वा कोरोनाको कारण अस्पताल अस्तव्यस्त भएपछि सुरू भएर आज देखा परेका होइनन्। करिब तीन दशक लामो इतिहास बोकेको प्रतिष्ठान विस्तारै कमजोर हुँदै अहिलेको अवस्थामा आइपुगेको हो।
यसअघिका पदाधिकारी र उनीहरूलाई नियुक्ति दिने कुलपति र सहकुलपति सबै यसको भागेदार छन्। त्यसैगरी धरानका स्थानीय राजनीतिक दलहरू पनि आफ्ना विभिन्न स्वार्थ पूरा गर्न पदाधिकारीसँगको मिलेमतोमा प्रतिष्ठानलाई कार्यकर्ता भर्ती केन्द्र बनाउनमा उत्तिकै जिम्मेवार छन्।
प्रतिष्ठानको नियमावलीमा उल्लेख छ, कुलपतिले प्रतिष्ठानमा कम्तीमा वर्षको एकपटक र सहकुलपतिले वर्षको दुई पटक निरीक्षण गर्नेछन्। तर निजी अस्पताल र विभिन्न उद्घाटनमा उपस्थित हुन भ्याउने कुलपति प्रतिष्ठानमा पाइला टेक्न भ्याउनुहुन्न।
मसँग प्रतिष्ठानमा बसेको धेरै लामो अनुभव छैन। तर अध्ययन सिलसिलामा सन् २०१५ देखि २०२१ सम्म यहीँभित्रबाट नियाल्दा प्रतिष्ठान धराशायी बन्नुको प्रमुख कारण यसले दूरदर्शी नेतृत्व पाउन नसक्नु नै हो।
यसै सन्दर्भमा प्रतिष्ठानका अनियमितता सुधार गर्न गठित दबाब समूहले पदाधिकारीसँग अन्तर्क्रिया कार्यक्रममा ध्यानाकर्षण पत्र पढ्दै संयोजक राजेन्द्र शर्माले भन्नुभएका कुरा मननयोग्य छ- 'प्रतिष्ठानको यो अवस्था हुनुमा लक्ष्यको टकराव पनि मुख्य समस्या हो। प्रतिष्ठानको लक्ष्य शिक्षण, सिकाइ, अनुसन्धान र बिरामीको उपचार गर्नु हो। तर यहाँ नियुक्त पदाधिकारीको उद्देश्य धन आर्जन गर्नु छ। यही टकरावको जन्जालमा वर्षौंदेखि प्रतिष्ठान अल्झिरहेको छ। हामीले शंका गरेको समस्याको जड यही हो।'
समस्याको जड डा. शर्माले भनेभन्दा अलि गहिरिएर समीक्षा गर्दा मुख्य समस्या पदाधिकारीको नियुक्ति प्रक्रियामै छ। अहिलेसम्म प्रतिष्ठानका वरिष्ठ प्राध्यापकको कार्यदक्षता मूल्यांकन गरी प्रतिष्ठानलाई गति दिने दूरदर्शी नेतृत्व चयन हुन सकेको छैन। पार्टीका ठेकेदारलाई ठेक्का पारिदिने अनि केही कार्यकर्ता प्रतिष्ठानमा भर्ती गरिदिनुपर्ने मागसहित स्थानीय राजनीतिक दलका नेतृत्व तह आफू अनुकूल पदाधिकारी नियुक्तिमा सलबलाउँछन्। यस्तो परिवेशमा पदाधिकारी र प्रतिष्ठानको लक्ष्यमा टकराव देखिन्छ नै।
हामीले बुझ्न जरूरी छ, नेतृत्वलाई मात्र दोषी करार गरेर आफूले गरेका गल्ती-कमजोरीबाट उम्किने छुट प्रतिष्ठानका फ्याकल्टी र कर्मचारी कसैलाई छैन। प्रतिष्ठान पहिले स्वायत्त संस्थाका रूपमा सञ्चालित भए पनि सरकारको चिकित्सा शिक्षा नीति-नियममा आएका परिवर्तनले आर्थिक भार पर्दै गएको पक्कै हो। तर यसरी समस्या आउँछ भन्ने जान्दाजान्दै आफ्ना रणनीति तयार पारेर अघि बढ्न नसक्नु जिम्मेवार पदाधिकारीकै दोष हो।
प्रतिष्ठान सञ्चालनको मुख्य कार्यभार पदाधिकारीकै भए पनि हरेक विभागका प्रमुख छन्। विभागीय प्रमुखलाई उनीहरूको विभागमा आउनुपर्ने सामग्रीदेखि सबै कुराको निर्क्यौल गर्ने सीमित अधिकार दिइएको छ। हरेक सामग्री खरिद गर्नुअगाडि 'स्पेसिफिकेसन' तयार पार्नेदेखि मूल्य एवम् गुणस्तर परीक्षण गर्ने लगायत सबै कुरामा विभागीय प्रमुखले रोक्न चाहे सक्छन्। पदाधिकारीले मात्रै चाहेर खरिद सम्भव हुँदैन।
तर आफू माथिल्लो पदमा पुग्ने लोभले पदाधिकारीले भनेबमोजिम उनीहरूकै स्वार्थसिद्धिमा लाग्नेहरू छन्। उनीहरूले आफ्नो काममा इमान राखेको भए प्रतिष्ठानको यो अवस्था पक्कै हुने थिएन। यसमा जति पदाधिकारी दोषी छन्, उनीहरूको हरेक निर्णयका साक्षी विभागीय प्रमुख पनि जिम्मेवार छन्। प्रतिष्ठानका कर्मचारी र फ्याकल्टीबीच पनि एकता छैन। पक्ष-विपक्षमा विभाजित कर्मचारी र फ्याकल्टी आफ्नो पक्षको भक्तिभावमा उत्रिन्छन् भने अर्को पक्षलाई सक्दो असफल बनाउन हरेक कदममा बाधा पुर्याउन प्रयासरत हुन्छन्।
अहिलेको यो अवस्थामा प्रतिष्ठान पुग्दै गर्दा सबै नराम्रा काम मात्र भएका छन् भन्ने होइन। तर प्रतिष्ठान कुन उद्देश्यबाट स्थापित भएको थियो र यसले जुन गतिका साथ अघि बढ्नुपर्थ्यो, त्यो हुन नसकेकै हो। अन्य शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण जडान गरी नयाँनयाँ सेवा प्रदान हुन्छन्। प्रतिष्ठानमा भने भएका उपकरण बिग्रेर थन्किनु, नयाँ पनि कमसल खरिद गरिनुले बिरामीको उपचारको हकमा पनि न्यायोचित कार्य गर्न सकेको छैन।
प्रतिष्ठानमा कतिपय न्यूनतम परीक्षणका सामग्री पनि छैनन्। कतिले हुँदाहुँदै पनि ल्याब परीक्षणका निम्ति बाहिरै पठाउने कुरा लुकेको छैन। प्रतिष्ठानका पदाधिकारी मात्र होइन, कर्मचारी, फ्याकल्टी पनि आफ्नो काममा प्रतिबद्ध छैनन्। केही कर्मचारी र फ्याकल्टीलाई प्रतिष्ठानको भन्दा बढी चिन्ता आफैंले बाहिर सञ्चालन गरेको फार्मेसी, ल्याब, रेडियो डाइग्नोस्टिक सेन्टरको छ। अस्पतालका मेसिन बारम्बार बिग्रिनेमध्ये एउटा कारण यो पनि हो।
यी समस्या वर्षौंदेखि थिए, अहिले छताछुल्ल भएका हुन्। प्राज्ञिक क्षेत्रमा भएको चरम राजनीतिकरणले प्रतिष्ठान यसरी नै धराशायी बन्छन्। अरू प्रतिष्ठानले यसबाट बेलैमा पाठ सिक्नुपर्छ।
राजनीतिक दलहरूले प्रतिष्ठानलाई अझै पनि आफ्नो स्वार्थसिद्धिका निम्ति चलाउन खोजे पदाधिकारी जो आए पनि परिणाम फरक हुने देखिँदैन। आजको दिनमा पनि प्रतिष्ठानमा कोभिड अस्पतालमा काम गर्न नर्सको विज्ञापन खुल्छ, परीक्षा हुन्छ, अन्तर्वार्ता हुन्छ। तर यही बीचमा स्थानीय राजनीतिक दलले 'हाम्रा मान्छे यति नियुक्ति पाउनुपर्यो' भनेर पत्र काट्छन्।
यो उदाहरण मात्रै हो। यस्ता कयौं उदाहरणको मारमा प्रतिष्ठानबाट अध्ययन पूरा गरी विशेषज्ञता हासिल गरेका विशेषज्ञहरू परेका छन्। उनीहरूले प्रतिष्ठानमै सेवा गर्न खोज्दाखोज्दै पनि दुःखसाथ छाड्न बाध्य छन्।
बिपी प्रतिष्ठानको अहिलेको परिदृश्य हेर्दा भलो सोच्ने व्यक्तिहरूले निरन्तर सम्झिरहने नाम हो प्राध्यापक डाक्टर मदन उपाध्याय। उपाध्यायले प्रतिष्ठान स्थापना हुनेबित्तिकै भिजन, मिसन र गोल तयार पार्नेदेखि शिक्षण सिकाइको पाठ्यक्रम बनाउने लगायत सुरूआती सबै काममा आफैं प्रत्यक्ष सहभागी भएर काम गर्नुभएको थियो। करिब तीन वर्षअघि प्रतिष्ठानको वार्षिक मुखपत्रका लागि उपाध्यायको अन्तर्वार्ता लिन म र तीन जना साथी धरानबाट काठमाडौं पुगेका थियौं। त्यही बेला प्रतिष्ठानको वर्तमान अवस्थाबारे कुरा गर्दा उपाध्यायले व्यक्त गर्नुभएका विचार अझै मननयोग्य छन्।
उहाँकै शब्द म स्मरण गर्न चाहन्छु- प्रतिष्ठान सुरू गर्दा तत्कालीन अवस्थामा सम्बद्ध सबै सरोकारवाला निकाय, विज्ञ लगायतको सुझाव मनन गर्दै हामीले प्रतिष्ठानका भिजन, मिसन, गोल तयार पारेका थियौं। अब प्रतिष्ठानलाई सशक्त बनाउने हो भने २५ वर्षअघि लिएका लक्ष्य-उद्देश्य कति पूरा भए, कति भएनन् भनेर सर्वेक्षण गर्ने बेला भएको छ। समाजको प्रतिष्ठानप्रति के अपेक्षा छ, सरकारले के कति सहायता प्रदान गर्न सक्छ लगायत सबै विषयमा सरोकारवाला पक्ष, विज्ञ लगायतले अध्ययन गरेर कार्यनीति बनाउँदै अघि बढे मात्रै प्रतिष्ठान अघि बढ्न सहज हुने स्थिति छ।
प्रतिष्ठानका पदाधिकारी, कर्मचारी र फ्याकल्टी सबै मिलेर काम गर्ने हो भने असम्भव केही छैन। को कसको प्यानलको, को कसको विरोधी भन्दा पनि समग्र प्रतिष्ठानको हितमा सबै लाग्ने बेला आएको छ। आशा छ, जुन दिनदेखि हाम्रा प्राज्ञिक व्यक्तित्वले आफ्नो र आफ्नो सीमित समूहको स्वार्थभन्दा माथि प्रतिष्ठानलाई राखेर काम गर्नुहुनेछ, त्यही दिनदेखि प्रतिष्ठानले नयाँ गति लिनेछ।
(अमृत राज जैशी अहिले बिपी प्रतिष्ठानमा इन्टर्नसिप गर्दैछन्)