नेवाः समाजमा अदृश्य दैवीय शक्तिसँग जोडिएका विभिन्न चलन छ। तीमध्ये एउटा विधि भनेको ‘किसँली तयेगु’ हो। किसँली तयेगु भनेको सानो तरिकाले भाकल गर्नुसरह हो।
मनोकामना पूरा गर्न आफूलाई विश्वास लाग्ने देवीदेवताकहाँ गएर सानो सँली (माटोबाट बनेको कचौरा) मा चामल, सुपारी र पैसा राखेर चढाउनु हो। यसमा सुपारी राख्दा ठाडो टाउँको माथि हुनेगरी राख्नुपर्छ। आफूले चाहेको जस्तोसुकै मनोकामना राख्न सकिन्छ– विशेषतः रोगव्याधी भएको बेला रोग हटाइदिन देवताकहाँ गएर किसँली राखिन्छ।
आफ्ना शुभकार्य पूरा गर्न पनि आफूलाई मनपर्ने इष्टदेवताकहाँ गएर किसँली राख्न सकिन्छ। त्यस्तै मन भयभित भएको अवस्था भयरहित रहन भैरव मन्दिरमा गएर किसँली चढाउने गरिन्छ भने कुलदेवताकहाँ गएर पनि विघ्नबाधा हटाइदिन यसरी किसली चढाउने चलन छ।
बौ वाय् ज्याः नेवाः समाजमा काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीबिरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य गरिन्छ। बौ वाय् ज्या गर्नेक्रममा कसैकसैले कुखुराको बलि पनि दिने चलन छ। बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ।
त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा लगेर राख्ने) गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरूको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ।
नेवाः समाजको तन्त्रपूजामा मोहनी साधना गर्ने चलन नेपाल मण्डलमा अत्यन्त व्यापक छ। तन्त्रका विविध विधिविधानले विभिन्न क्रिया, साधना र आराधना गरेर बत्ती बाली मोहनी थाप्ने काम हुन्छ। यो टीका लगाउँदा अरूले प्रयोग गरेको मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेषण, उच्चाटन आदिले छुन सक्दैन भन्ने मान्यता छ।
मोहनी साधना गर्दा पालामा विभिन्न रूपाकृति वा गणसहित मूलदेवता नै निस्किन्छन्। यी रूपाकृतिहरू निश्चित भने हुँदैन। रूप र आकृति हेरेर पछि हुने काम आकलन गर्न सकिन्छ। मोहनी सिन्हः जति कालो रंगको हुन्छ, त्यस वर्ष धनलाभ, मान सम्मान पाइने मान्यता छ। धुवाँ समान भए परिवारमा कलह र कार्यमा बाधा अडचन आउछ। केही रक्त वर्णले रोगव्याधी वा शत्रु भएको सम्भावना दर्शाउँछ। यदि आधा कालो र आधा धुवाँ समान रंग आएमा त्यस वर्ष पहिले काम बन्ने र पछि गएर काममा हानि हुन्छ।
मोहनी सिन्हःमा कालो जति बढी हुन्छ त्यो वर्ष धनधान्य बृद्धिको सूूचक हो र शुभकारी मान्ने गरिन्छ। जसले साधकको अभिष्ट सिद्धिको संकेत गर्छ। यदि पालाको कुनै भागमा कालो बसेन भने त्यो वर्ष जनधनको क्षय हुन्छ। अकाल मृत्यु हुने वा निर्धनता हुन्छ।
विज्ञानले विश्व ब्रम्हाण्ड तथा जीवन उत्पति र यसको विकासलाई आत्मा र मन वा मानसिकताबाट स्वतन्त्र राखि अध्ययन, अनुसन्धान र विश्लेषण गर्छ। भौतिक यथार्थ आत्मा र मनबाट स्वतन्त्र भएको बुझेर नै विज्ञानले त्यसलाई बुझ्न खोज, अनुसन्धान र प्रयोग तथा परीक्षण गर्ने गरेको हो। यो विश्व संसारमा भौतिक पदार्थ नै प्राथमिक हो। आत्मा त त्यसको विकासको उपज हो। आत्मा भौतिक शरीरबाट अलग भई अस्तित्वमा रहँदैन र जीवनको अवसानपछि समाप्त हुन्छ भन्ने बुझाई भौतिकवादको छ। तसर्थ, भौतिकवाद दर्शन हो जुन आध्यात्मवादको विपरीत छ।
मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ। पञ्चतत्व भन्नाले माटो, जल, अग्नि, वायु र आकाश हुन्। माटो भन्नाले माटोमा मिसिने मासु, हाड हो। जल भन्नाले शरीरमा बग्ने रगत हो। अग्नि भन्नाले शरीरको तापक्रम हो। त्यस्तै वायु भन्नाले प्राण वायु हो भने आकाश भन्नाले आत्मा वा आन्तरिक शक्ति हो। तसर्थ, शरीरका हरेक तत्वको आ–आफ्नै महत्व हुन्छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाको दिन ‘म्ह पूजा’ अर्थात आत्मा वा आन्तरिक शक्तिलाई पुज्ने गरिन्छ।
ईश्वर भन्दा ठूलो अर्थात ईश्वरको पनि ईश्वर हो आत्मा। भनिन्छ, आत्मा नै परमात्मा हो। जल, वायु, पृथ्वी, भूगोल सबै परमात्माको देन हो। त्यसैले साक्षात देवीदेवताले पनि सर्वप्रथम परमात्माको प्रार्थना गर्छन्। हाम्रो शरीर भित्र पनि आत्मा छ। हामीले पहिला ईश्वरको पूजा गर्छौँ, तर कहिले परमात्माको प्रार्थना गर्दैनौं।
जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै आध्यात्मिकता हो। मानव समाजका लागि वर्तमान समयमा विज्ञान एवं अध्यात्म दुवै आवश्यक छ। वैज्ञानिक तथा आध्यात्मवादहीरूले दुवै संकाय मिलेर जगत एवं चेतनालाई जानेर कसरी एकअर्काेमा पूरक भूमिका निर्वाह गर्न सकिन्छ भनेर प्रतिवादन समेत गरेका छन्। भौतिक विज्ञान, आत्मविज्ञान, नीतिशास्त्र, पर्यावरण परिस्थिति, चिकित्सा एवं ध्यानयोग तथा दूरसञ्चार र मनो–सञ्चारमा समान रूची राख्ने एक समुदाय विकसित भइसकेको छ। धर्म, अध्यात्म र विज्ञान परस्पर विरोधी होइनन्, सहयोगी हुन् भन्ने कुरा अल्बर्ट आइन्स्टाइनको यो भनाइबाट स्पष्ट हुन्छ, ‘धर्म बिनाको विज्ञान लंगडो र विज्ञान बिनाको धर्म अन्धो हुन्छ।’
आध्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन अध्यात्म दुवै दृष्टिविहीन (अन्धो) र शारीरिक अपांगता (लंगडो) व्यक्ति समान हुन्। यी दुवैलाई संगठित रूपले कार्य गराउन जरूरी छ।
अदृश्य शक्ति अर्थात् डार्क एनर्जी
विज्ञानले डार्क म्याटर र डार्क एनर्जी पत्ता लगाएको छ। हामीले देखिरहेको जगत नै अदृश्य जगतमा टिकेको छ। इन्साइक्लोपेडिया ब्रिटानिका (२०२२) का अनुसार ब्रह्माण्ड ३०.१ प्रतिशत अदृश्य तत्व (डार्क म्याटर) र ६९.४ प्रतिशत अदृश्य शक्ति (डार्क एनर्जी) ले बनेको छ। हामीले देख्ने दृश्य जगत वा विशाल ब्रह्माण्ड सम्पूर्ण अस्तित्वको आधा प्रतिशत मात्र हो।
सन् १९३३ मा खगोलविद् फ्रिज ज्वीकले पहिलोपटक अदृश्य तत्वको अवधारणा ल्याएका हुन्। उनले आकाशगंगाको अवलोकन गर्दै गर्दा देखेका हुन् कि ताराहरू जुन गतिमा गतिमान छन्, त्यस हिसाबले ती एउटै आकाशगंगामा सुसंगठित भइरहन गुरूत्वबल मात्र पर्याप्त छैन। सन् १९७० मा अन्य वैज्ञानिकले पनि तारालाई आकाशगंगामा आबद्ध भइरहन दृश्य तत्वभन्दा फरक तत्वको आवश्यकता पर्ने महसूस गरे।
वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि ब्रह्माण्डको संरचना र सञ्चालनमा सबैभन्दा धेरै भूमिका अदृश्य शक्ति (डार्क एनर्जी) ले खेल्ने गरेको छ जसले ब्रह्माण्डको झण्डै सत्तरी प्रतिशत भाग ढाकेको छ। ब्रह्माण्डमा हामीले देखिरहेको, जानिरहेको दृश्य जगत एक प्रतिशतभन्दा पनि कम हो भने अदृश्य जगत र शक्ति ९९ प्रतिशतभन्दा बढी छ। दृश्य जगत अदृश्य तत्व र शक्तिबाट सञ्चालित छ। यी अदृश्य तत्व र शक्तिलाई वैज्ञानिकहरूले र कुनै वैज्ञानिक उपकरणले ठम्याउन सकेको छैन। त्यसैले तिनकाबारे केही पनि भन्न सकिएको छैन। तर तिनको प्रभाव दृश्य जगतमा महसुस गरिएको छ।
वैज्ञानिक उपकरणले पत्ता लगाउन सक्ने जगत भनेको प्रकाशसित जगत मात्र हो। त्यसैले हामीले तिनलाई देख्न सकेका छौ। अदृश्य तत्व र शक्तिले प्रकाशसँग कुनै अन्तरक्रिया गर्दैन। अदृश्य तत्व र शक्ति ब्रह्माण्डैभरि छरिएका छन्। त्यसैले त्यो हाम्रो लागि अन्धकार बराबर हो। त्यसैले वैज्ञानिकहरूले तिनलाई डार्क म्याटर र डार्क एनर्जी भनेका हुन्।
वेदअनुसार ब्रह्माण्डको आयु
ज्योतिष विज्ञानमा चार युगको वर्णन गरिएको पाइन्छ– सत्ययुग, त्रेता युग, द्वापर युग र वर्तमान कलियुग। कलियुग ४,३२,००० वर्षको हुन्छ। कलियुगको दोब्बर द्वापर युग, तेब्बर त्रेता युग र चौबर सत्य युग हुन्छ। यो चार युगको एक महायुग हुन्छ। ७१ महायुगको एक मन्वंतर र सय महायुगको एक कल्प वा ब्रम्हाको एक दिन हुन्छ। ३६० कल्प बराबर ब्रम्हाको एक वर्ष हुन्छ। प्रत्येक मन्वंतरको आदी र अन्यमा सत्ययुग प्रमाणको एक सन्धि हुन्छ। सन्धिलाई प्रलयकाल पनि भनिन्छ। १५ सन्धिसमेत एक मन्वंतरको एक कल्प हुन्छ। ब्रम्हाको आयु ३६० कल्प × १०० वर्ष हुन्छ।
वेद–पुराणले पनि चार युग मानेका छन् जुन परिक्रमा गरिरहन्छ र अनन्त चलिरहन्छ। ब्रह्माको एक दिन ४.३२×१००० = ४.३२ अर्ब मानव वर्ष हो। ब्रह्माको यस्तो प्रत्येक दिनलाई ‘कल्प’ भनिन्छ। ब्रह्माको रात पनि ४ अर्ब ३२ करोड मानव वर्षकै हुन्छ। उनको दिनमा ब्रह्माण्डमा जीवन अवस्थित छ भने रातको समयमा जीवनको कुनै रूप हुँदैन। अर्थात् यसलाई लय र प्रलय भनिन्छ। त्यसैले ब्रह्माको दिन र रात गरेर जम्मा ८.६४ अर्ब मानव वर्ष हुन्छ। ब्रह्माको प्रत्येक वर्षमा ३६० दिन र रात समान हुन्छन्। यसरी ब्रह्माको कुल आयु ३६०×१००×२. ८.६४ अर्ब वर्ष = ३११०४० अर्ब (विलियन) मानव वर्ष हुन आउँछ अर्थात् लगभग ३११ खर्ब वर्ष। यस अवधिलाई ‘महाकल्प’ भनिन्छ जुन ब्रह्माको आयु हो।
अहिले सत्य, द्वापर, त्रेता पनि सकिएर कलियुग सुरू भएको मानिन्छ। अहिले ब्रह्माको आयु लगभग ५० वर्ष हुन आउँछ जुन लगभग १५५ खर्ब वर्ष जति हो। बिगब्याङ अनुसार अहिले ब्रह्माण्डको आयु १३.८ अर्ब (विलियन) वर्ष जति भयो। वैज्ञानिकहरू ब्रह्माण्डको आयु बिग ब्याङले भने भन्दा धेरै हुने अनुमान गर्छन्।
ब्रह्मा भनेको एक व्यक्ति नभएर पूरै ब्रह्माण्ड हो। ब्रह्मा संकेत मात्र हो पूरै ब्रह्माण्डको। ब्रह्माण्ड एकदमै रहस्यमय छ यसको खोज निरन्तर जारी रहन्छ। कसैले पनि यही हो भनेर किटानीका साथ केही भन्न सक्ने ठाउँ प्रकृतिले सजिलै दिएको छैन।
बौद्ध दर्शनमा अदृश्य शक्ति
बौद्ध दर्शनमा ईश्वरको स्थान छैन भन्नु नै बौद्ध दर्शनबारे आधा बुझाइ मात्र हो। बौद्ध दर्शन भौतिकवाद र अध्यात्मवाद दुवै हुन् र यसले मध्यम मार्ग अवलम्बन गरेको छ। बौद्ध दर्शन भौतिकवाद यस अर्थमा हो कि यसले ईश्वरलाई सृष्टिकर्ताको रूपमा मान्दैन। सृष्टि आफैं अनन्त छ र अनन्त कालदेखि चलिरहेको छ। यसको निश्चित एउटा स्रष्टा छैन। त्यस अर्थमा यो विज्ञानसित नजिक छ। तर बौद्ध दर्शनले भौतिकवादीहरुले जस्तो देवीदेवताको अस्तित्व नकारेको छैन।
बौद्ध धर्मका सूत्रमा सबभन्दा पहिला देखा पर्ने देवीदेवता भूमिमा बस्ने देवता हुन्। सिद्धार्थ गौतम बुद्ध बन्नको लागि तपस्या गरिरहँदा ‘मार्न’ आएका थिए तब उनले धरतीमाता पुकारेका थिए। धरतीमाताले नै मार्न आर्उनेलाई भगाइदिएकी थिइन्। बौद्ध दर्शनमा कामावचर, रूपावचर र अरूपावचर लोक उल्लेख छन्। अहिलेसम्म थाहा भएको वैज्ञानिक अन्वेषणको आधारमा भन्ने हो भने कामावचर लोकलाई हाम्रै ब्रह्माण्डभित्रका तर हाम्रोभन्दा विकसित ग्रहका प्राणी हुन् कि भनी अनुमान गर्न सकिन्छ। वैज्ञानिकहरूले पृथ्वीबाहेक प्राणी भएका अन्य ग्रहको सम्भावना जनाएका छन् र खोजमै छन्।
बौद्ध दर्शनअनुसार रूपावचर लोकका देवताहरूको रूप त हुन्छ तर हामीले देख्न सक्दैनौं किनभने ती हाम्रोजस्तो भौतिक तत्वबाट बनेका हुँदैनन्। त्यस्तै, अरूपावचर देउताहरूको रूप हुँदैन। यो नै ब्रह्मतत्व वा काली शक्ति हो। बौद्ध दर्शनअनुसार यी लोकका देवता शक्तिशाली हुन्छन् र हामीलाई राम्रो र नराम्रो दुवै प्रभाव पार्न सक्ने हुन्छन्। तर ती कर्मबन्धनबाट मुक्त भने हुँदैनन्। अरूप ब्रह्मलोकका देवताहरू कल्पौंकल्प जीवित रहन सक्छन्। तर पनि समय आएपछि कर्मबन्धनअनुसार अन्य योनिमा जन्म लिनुपर्ने हुन्छ। कर्मबन्धनबाट मुक्ति निर्वाणबाट मात्र सम्भव छ।
संसारमा ढुंगालाई देवता मानि पूजा गरिन्छ। तिनमा दैवी वा अदृश्य शक्ति छ भन्ने कुरा आध्यात्मवाद वा धर्मले भन्छ। तर हरेक धर्ममा एउटा कुरामा समानता छ। त्यो हो, अदृश्य शक्तिमा विश्वास। अदृश्य शक्ति प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रूपमा देख्न सकिन्छ। उदाहरणका लागि जीवित देवी कुमारीलाई लिन सकिन्छ। देवी कुमारी सानी बालिका भए पनि अन्य बालिकाभन्दा पूर्ण रूपमा भिन्न देख्न सकिन्छ। कुमारीको भेषमा आसनमा बसिसकेपछि उनमा देवीको स्वभाव र स्वरूप झल्किन्छ। देवी कुमारीको अनुहारमा न त सुखको भाव झल्किन्छ न दुःखको।
देवी कुमारीको मुहारको भाव स्थिर रहन्छ र धेरै गम्भीर हुन्छ। त्यो गम्भीरता एक क्षणको लागि नभएर आसनमा बसुञ्जेल घण्टौं घण्टाको लागि हुन्छ। केवल मुहारको भाव मात्र नभएर कुमारी आसनमा बस्दा शरीर पनि घण्टौंसम्म हलचल नगरी बस्न सक्छिन्। येंया (इन्द्रजात्रा) को नानीचायाः चाडको दिन राष्ट्रप्रमुख लगायत सर्वसाधारणलाई टीका लगाइदिन आसनमा बस्दा उनी एक शब्द नबोली घण्टौं एकनास बसेर टीका लगाउँछिन्। न उनी थाक्छिन्, न पिसाब फेर्न वा केही गर्न उठ्छिन्। दैवी शक्ति बिना बालिकामा यस्तो लक्षण सम्भव छैन। सबैभन्दा मुख्य त उनका आँखामा न खुसी वा दुःखीको भाव नै हो। आँखा अलि डरलाग्दो र रहस्यमयी देखिन्छन्। आँखामा सीधै हेर्न त झन गाह्रो हुन्छ। एकैछिन मात्रै हेर्दा पनि हामीलाई भयको अनुभूति हुन्छ। यो सबैले अनुभव गर्न सकिने कुरा हो। कुमारीको मोडेल बनेका बालिका र साँच्चैको देवी कुमारीमा फरक सहजै छुट्याउन सकिन्छ।
बालिकालाई कुमारी पूजा गर्ने चलन पनि छ। कतिपय ठाउँमा प्रतीक स्वरूप नमुनाका रूपमा कुमारीको भेष सजाएर कन्यालाई राख्ने पनि गरिन्छ। यी नमुना कुमारीको शारीरिक हाउभाउ, मुहारको अभिव्यक्ति सामान्य बालिकाको जस्तै देखिन्छ। अर्थात्, तिनमा चञ्चलता हुन्छ, हाँसो वा मुस्कान हुन्छ। आँखा यताउति डुलाइरहेका हुन्छन्। लामो समय बस्नु परेमा उनीहरूलाई नियास्रो लाग्ने, अल्छी लाग्ने, थाक्ने, निद्रा लाग्ने हुन्छ। त्यस्तै, जात्रामा लाखे बन्नेहरुको अनुभव छ कि लाखेको वस्त्र लगाउँदै गर्दा नै झुम्म भई कुनै शक्तिले छोपेको महसुस हुन्छ। पूरै वस्त्र लगाएर मुखौटा लगाइसकेपछि मान्छे आफ्नो होशले सञ्चालित हुँदैन। यी मुखौटा वर्षैभरि विधिपूर्वक राखिन्छ र नित्य पूजा गरिन्छ। साथै, लाखे बन्नेले पनि शुद्धिकरण गर्नुपर्ने हुन्छ। बजारमा मुखौटा किनेर लगाएर लाखे नाच नाच्दा त्यस्तो कुनै अनुभव हुँदैन। लाखे जुन खालले काम्ने गर्छ, अभिनय गरेर त्यस्तो खालको कम्पन पनि ल्याउन सकिदैन।
प्रत्येक वर्ष नवरातको तेश्रो दिनलाई भवानी कौमारी सृष्टि हुने दिनको रूपमा लिइन्छ। राजा आनन्द देवले भक्तपुर नगरको दक्षिण कोणमा भवानी कौमारी देवी स्थापना गरेका थिए। कौमारी देवीलाई सर्वसाधारणहरूले कुमारी देवी भन्ने गर्छन्। कौमारी देवी दुर्गाका अष्टमातृका मध्य एक हुन् भने कुमारीले तलेजु भवानीको अर्को रूपलाई बुझाउँछ। हिन्दु धर्ममा कौमारीलाई ब्रम्हाण्डको रक्षाकर्ता भगवान कुमार (कार्तिकेय) को शक्तिको रूपमा मानिन्छ। उनी आदि शक्तिको एक पक्ष हुन्। त्यसैले उनी कुमार (कार्तिकेय) को शक्तिको स्रोत हुन्। उनको दोस्रो नाम कार्तिकी हो। यी देवी समुद्रमा विराजमान छिन्। उनको चार हातले परशु, भाला, धनुष रजत मुद्रा ग्रहण गरेको हुन्छ। आदिशक्ति भगवान कार्तिकेयको हृदयमा कन्याको रूपमा वास गर्छिन्। भगवान कार्तिकेयले आफ्नो प्रेरणाले दुष्ट शक्तिसँग लडाई गरी ब्रह्माण्डको रक्षा गर्नुभएको थियो। मातद्धा कौमारीलाई नेपाल भाषामा ‘पसि अजिमा’ भनिन्छ।
हिन्दू धर्मअनुसार कुमारी भगवती वा तुलजा भवानीको रूप हो। भगवती भयावह देवी हुन्। बौद्ध धर्मअनुसार कुमारी बज्रदेवी हुन्। बज्रको अर्थ कठोर वा शक्तिशाली हो। भगवती वा बज्रदेवीको यही भयावह र शक्तिशाली रूप जीवित देवी कुमारीमा देख्न सकिन्छ। कुमारी आसनमा बसुञ्जेल न हाँसिन्छन्, न त रून्छिन्। आँखासम्म पनि मिच्दिनन् र दाँत पनि देखाउँदिनन्। उनी पूरै मौन रहन्छिन्। कथंकदाचित उनले यस्ता कुनै लक्षण देखाएमा अनिष्ट हुने संकेतको रूपमा लिइन्छ।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल एकपटक सत्ताच्युत भएका थिए। तुलजा भवानी कुमारीको कृपाले उनी फेरि राजा बन्न सफल भए। तर राजा भएपछि उनले देवीको कुनै वास्ता गरेनन्। क्रुद्ध भएकी देवीले सपनामै भनिन्, ‘यो राज्य अब तेरो रहने छैन।’
राजा जयप्रकाश साह्रै डराए। देवी कुमारीसँग माफी माग्न थाले। कुमारीलाई खुसी पार्न उनले पूजापाठ लगाए। क्षमा पूजा गराए। उनले आफ्नै दरबारअगाडि कलात्मक कुमारीघर निर्माण गराए। त्यहाँ जीवित कुमारीलाई सुबिस्तासाथ बस्ने चाँजोपाँजो मिलाइदिए। साथै, उनैले प्रत्येक भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको रथजात्रा चलाए। शाक्तमतअनुसार, कुमारीलाई अष्टमातृका र नवदुर्गा भवानी तथा नवग्रहमध्ये मंगल ग्रहको प्रतीक मानिआएको छ भन्ने बौद्धमत बज्रयानी अथवा महायानीमतअनुसार कुमारीलाई बज्रदेवी वा बज्रबाराही पनि भनिन्छ।