पहिले पहिले क्याम्पसका कक्षामा प्रवेश गर्दा आजको लेक्चर कस्तो होला भन्ने चासो हुन्थ्यो। सम्भावित शीर्षक खेज्ने र पढ्ने गरिन्थ्यो। म विद्यार्थी हुँदा क्याम्पसमा राजनीतिको विषयमा खासै बहस हुँदैन थियो। साथीहरूको रूचि मूल राजनीतिभन्दा फरक विषयमा हुन्थ्यो। कुनै बेला राजनीतिक गफ भइहाले पनि 'नेताले गर्दा बिग्रेको देश, नेपालमा बसेर काम छैन, सबै नेता फटाहा हुन्' भनेर टुंगिन्थ्यो।
रोल्पाको राजनीतिक परिवारमा जन्मेकी मलाई भने यस्तो कुरामा मजा लाग्दैन थियो। अरू कुरामा अपडेट हुन नभ्याए पनि देशको राजनीतिमा अपडेट हुनैपर्छ भन्ने लाग्थ्यो। केही गहन राजनीतिक विषयमा गफ गर्दा 'उ, प्रधानमन्त्रीको बोली आयो' भनेर साथीहरू मलाई उडाउँथे।
त्यस बेला म साइकोलोजी विषयको विद्यार्थी थिएँ।
अहिले म 'द्वन्द्व, शान्ति तथा विकास अध्ययन' को विद्यार्थी हुँदै गर्दा सबभन्दा ठूलो परिवर्तन साथीहरूबीच हुने राजनीतिक बहस हो। राजनीति खराब छ भन्ने भाष्य फेरिँदै अब केही हुन्छ, हामी राजनीतिमा जानुपर्छ भन्ने हुँदैछ।
बितेको अठार महिनामा उदाएका नयाँ पार्टी र स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको विजयको प्रतिफलका रूपमा उक्त भाष्य फेरिएको हो। यति बेला यो परिवर्तनका सारथिहरूलाई पक्ष र विपक्षको दोहोरीमा सामाजिक सञ्जालको जन्जालले थिचेको देख्छु तब मेरो मुटु काँप्छ। नयाँ नेता धरातलको यथार्थ नबुझेर जनताको अपेक्षा बढाउने दौडमा लागेको देख्दा मेरो खुट्टा काँप्छ।
पढाइ जुनसुकै विषयको भए पनि क्याम्पसको विद्यार्थी देशको राजनीतिका विषयमा अपडेट हुनैपर्छ। राजनीतिको इतिहासमा बहस गर्न सक्ने व्यक्ति बौद्धिक ठहर्छ। कुनै दिन कक्षामा राजनीतिको गफ हुन पाएन भने चिया पसलले कोटा पूरा गरिदिन्छ। चियाको चुस्कीसँग साथीहरूको गफ सुन्न पाइन्छ। गफमा वाद जोडिएको हुन्छ। सबैलाई आआफ्नै वाद यो संसारको मूल दर्शन हो भन्ने लाग्छ।
यो गफ चियाका अड्डाबाट सामाजिक सञ्जालमा प्रवेश गर्छ। सामाजिक सञ्जालको क्रेजले यहाँ कोही नायक बन्छ, कोही खलनायक। कुनै आधारबिना सामाजिक सञ्जालको प्रतिक्रियाले समाज कसले बनाउँछ भनेर निर्धारण गरिदिन्छ।
के हुन्छ जब नायक बन्ने चक्करमा लागेका व्यक्ति खलनायक बनेर निस्के भने? देश बनाउने चक्करमा कानून नै अस्वीकार गरे भने? देश नबनेको झोँकमा हामीले त्यसैलाई स्वीकार गर्यौं भने? सामाजिक सञ्जाललाई नै अदालत मान्न थाल्यौं भने?
नायक को हो, के हो, कसरी बन्छ र कसरी बन्नुपर्छ भन्ने कुरा एकछिनपछि खोजौंला। त्यसअघि आदिम समाज, त्यति बेलाका नायकहरू र आजको आधुनिक समाज अनि आज नायक बन्न खोज्नेलाई हेरौं।
एक जना पत्रकारले राखेको प्रश्न सम्झिन्छु– समाजले नायकलाई निर्देशित गर्छ कि नायकले समाजलाई?
समाज जस्तो छ त्यसले त्यस्तै नायक पाउने हो वा नायकले जस्तो समाज सही हुन्छ भन्ने लाग्छ त्यस्तो बनाउने हो भन्ने बहस सदियौंदेखि चल्दै आएको छ। जवाफ मात्र परिवेशअनुसार फरकफरक हुने रहेछ।
आज कुरा गर्दै गरेको विषय नायक र समाजबीचको अन्तर्निहित सम्बन्ध होइन। आजको विषय आदिम समाज र त्यसका नायकहरू अनि आजको आधुनिक समाज र त्यसले स्वीकार गर्ने नायकहरूबीचको भिन्नताको हो।
म सानो छँदा सबैभन्दा बढी हेरेका सिरियल रामायण र महाभारत हुन्। पछि किताब पनि पढेँ। अहिले पडकास्ट सुन्छु। यी ग्रन्थले उब्जाएका प्रश्न र भएका अनुसन्धानका पत्रहरू पनि केलाएकी छु।
रामायण र महाभारतको जादुयी दुनियाँमा छिर्दै गर्दा मलाई मर्यादा पुरूषोत्तम राम र धर्मराज युधिष्ठिरले नायक कस्तो हुनुपर्छ भनेर सिकाए। आफ्नो जीवनभन्दा मर्यादालाई बढी शिरोपर गर्ने राम र सत्यका लागि संयमित रहने युधिष्ठिर मेरा लागि नायकका मानक भए।
जब टिभीले नयाँ आयाम थप्यो तब मैले मेरो अर्को नायक भेट्टाएँ, 'साकालाका बुम बुम' टेलिसिरियलको सञ्जु। सञ्जु मेरा लागि राम र युधिष्ठिरजस्तै निष्ठाको प्रतीक थियो। ऊसँग बिग्रेको कुरा तत्कालै ठिक गर्ने र जे चाहिन्छ त्यो तत्कालै दिन सक्ने अलौकिक शक्ति थियो। पेन्सिलले कापीमा जे कोर्यो, त्यही उसको अगाडि आउँथ्यो।
सञ्जुलाई मैले मेरो नायक मान्दै गर्दा सत्य र मर्यादाका लागि राम र युधिष्ठिरको अडान, त्यसकारणले भोग्नुपरेको दुःखलाई मैले कमजोरी मानेँ। मलाई सञ्जु जस्तै बन्नु थियो। म सञ्जुजस्तै भएपछि मसँग पनि जादुयी पेन्सिल हुन्छ र मलाई जे बनाउन मन लाग्छ म त्यही बनाउँछु भन्ने लाग्थ्यो। त्यस्तै सपना थियो।
यता मैले पढ्ने पुस्तक, हेर्ने सिनेमा, सिरियलको आयतन बढ्दै गयो। उता मैले सोच्ने नायकको आयतन खुम्चिँदै गयो। समाजलाई चाहिने नायकभन्दा फेसबुकबाट तहल्का मच्चाउनेहरू मेरा नायक भए।
मैले दोहोर्याएर हेरेको चलचित्रमध्ये 'नायक' एउटा थियो। राजनीतिलाई केन्द्रबिन्दुमा राखेर बनाएको हुनाले झन् गज्जब लागेको थियो। त्यो चलचित्र हेर्दा देश बनाउन रोबिनहुड पाराको नेता चाहिने रहेछ भन्ने लाग्न थाल्यो। ड्याङड्याङ निर्णय लिने, एउटालाई सही लाग्ने निर्णय अरू कतिलाई गलत लाग्ला भनेर नसोच्ने। नेपोलियन बोनपार्ट, ब्रेकिङ ब्याडको वाल्टर ह्वाइट, ओजार्कको मार्टिन बिएर्ड, मनि-हाइस्टको मिस्टर प्रोफेसरहरू पनि मलाई नायक लाग्न थाले।
मलाई थाहै भएन कहिलेदेखि यस्तो व्यवहार गर्नेहरूलाई समाजको नायक–नेता मान्न थालेँ–
– कानुनको धज्जी उडाउने,
– ममाथि गलत भएको थियो, मैले पनि गलत गर्दा हुन्छ भन्ने,
– यो समाजमा नियम नमिची केही पनि हुँदैन भन्ने मानक स्थापित गर्ने,
– भुइँमान्छेलाई बेवास्ता गर्ने र सामाजिक सञ्जालमा धेरै प्रशंसा पाउने।
कुनै बेला मर्यादा, सत्य निष्ठा र संघर्षलाई नायकत्वको मानक मान्ने मेरो चेतना यति तल कसरी गयो मैले थाहा नै पाइनँ।
मैले उल्लेख गरेका पात्रहरू कति यही समाजका स्थापित व्यक्तित्व होलान्, कति काल्पनिक दुनियाँका होलान्। व्यक्तिको विश्वास र आस्थाको कुरा पनि होला। कसको आस्थामा टेकेर आफू अडिने भन्ने कुरा नितान्त व्यक्तिगत होला।
समाज बन्ने त विचारबाटै हो।
समाज परिवर्तन गर्ने आशा देखाएर नेता बनेको राजनीतिज्ञ राम र युधिष्ठिरको आचरण नलिई चलचित्रको अनिल कपुर बनेर आयो भने? हामीले उसैलाई नायक मानेर उसकै विचार अन्तिम सत्य हो भन्यौं भने?
सिनेमाको निर्देशकले आफ्नो सिर्जनात्मक स्वतन्त्रताबाट एउटा नेताले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने भाष्य स्थापित गरिदिए। दर्शकले अमरिश पुरीको हत्यामाथिको राजनीतीकरणमा पनि उठेर ताली बजाए। निर्देशक सफल भए।
राज्य सत्ता यसरी कहाँ चल्छ र! यसको आफ्नै विधि र पद्धति हुन्छ।
समाजको परिधिबाहिरको नायकलाई अबिर लगाउने परिकल्पना गर्ने समाज कालान्तरमा दुर्घटनामा पर्न सक्छ। यस्तो नायक अपेक्षा गर्ने समाजले नायकहरूलाई खलनायक बनाउन सक्छ।
आजको अस्थिर समाजको आवश्यकता राम र युधिष्ठिर हुन् कि अरू कोही भन्ने कुरामा बहस गर्नुअघि यस्ता पात्र कसरी उत्पन्न हुन्छन् भन्ने केलाउनु महत्वपूर्ण हुन्छ।
देशमा राजनीतिक संकट आएपछि एन्टीहिरो जन्मिन्छ।
एन्टीहिरो समाजमा हाईहाई हुन्छ, ऊ जटिल पनि हुन्छ जसले परम्परागत नायकको परिभाषालाई चुनौती दिन्छ। एन्टीहिरोको उद्देश्य शंकास्पद पनि लाग्छ। नैतिकताको परिधि पनि संकुचित हुन्छ तर पनि समाजले उसैलाई मन पराउँछ।
यस्तो एन्टीहिरोमा भावनात्मक कुरा प्रस्तुत गरेर समाजको नीतिनियम तोड्ने र आफूले भनेको कुरा सही हो भन्ने भाष्य निर्माण गर्ने खुबी हुन्छ। सत्य, त्रेता र द्वापर युगमा कि नायक हुन्थे कि खलनायक। नायकजस्ता खलनायक र खलनायक जस्ता नायक हुँदैनथे। सही र गलतका बीच प्रस्ट भिन्नता हुन्थ्यो।
समाज बदलिँदै गयो अनि सही र गलतबीचको घेरा पनि साँघुरिँदै गयो। अहिले एउटाले सही मानेको कुरा अर्कोले गलत मान्छ। यस्तै अवस्थामा एन्टीहिरोहरू जन्मिन्छन्। बर्तोल्तले 'जुन समाजलाई नायक चाहिन्छ, त्यो समाज अभागी हो' भनेका थिए। अचेल मलाई त्यस्तै लाग्छ। हामी अभागी समाजका अभागी मानिस हौं जसलाई भोलिको राजनीतिक परिदृश्यको कुनै हेक्का छैन।
यही सन्दर्भमा एउटा कथा सुनाउँछु। नसुनेको कथा होइन तर एउटै कुरा दसपटक नै सुनेको भए पनि एघारौं पटक सुन्दा फरक लाग्न सक्छ।
एकादेशमा एक जना राजा थिए, पोसाक अर्थात लुगाका असाध्यै सौखिन। एकपटक लगाएको लुगा अर्कोपटक लगाउँदैन थिए। उनको यस्तो बानी थाहा पाएर एकपटक दुई जना फेसन डिजाइनर आए। उनीहरूले आफ्नो डिजाइनको बयान गरे। चर्चा दरबारसम्म पुग्यो।
राजाले ती फेसन डिजाइनरलाई दरबारमा बोलाए र लुगा बनाउन आदेश दिए।
उनीहरूले राजालाई भने– महाराज, हामीले बनाएको लुगा लिन बुद्धिमान मानिसलाई पठाउनु होला, जो बुद्धिमान हुन्छ उसले मात्रै लुगा देख्छ।
राजाले त्यसै गर्ने भए अनि डिजाइनरलाई बिदा गरे।
केही दिनपछि राजाले आफ्ना एक मन्त्रीलाई नयाँ डिजाइनको लुगा हेर्न पठाए। मन्त्रीले लुगा देखेन तर बुद्धिहीन ठहरिन डरले लुगा देखेको कुरा गर्यो र खुब तारिफ गर्यो। लुगा लिन राजा आफैं गए। डिजाइनरले लुगा देखाएझैं गरे तर राजाले देखेनन्। राजा आफैं बुद्धिहीन ठहरिने डरले लुगाको तारिफ गरे, कस्तो राम्रो रहेछ भने।
डिजाइनरले लुगा हातमा राखिदिएझैं गरे। राजाले पनि समाएझैं गरे। अंगरक्षकहरूले पनि लुगा देखेनन् तर सबैलाई बुद्धिहीन ठहरिने डर भयो। सबैले क्या राम्रो भन्दै तारिफ गरे।
राजालाई विषेश डिजाइनको नयाँ लुगा पहिर्याउन विशेष समारोह आयोजना गरियो। राजाले आङका लुगा खोलेर नयाँ लुगा पहिरिए। अर्थात् पहिरएझैं गरे। खासमा लुगा छैन तर बुद्धिहीन ठहरिने डर सबैलाई छ।
राजा नयाँ लुगा लगाएर प्रजाहरूको बीचबाट यात्रामा निस्किए। सबैले उनको पहिरनको प्रशंसा गरे। त्यही हुलबाट 'राजाको लुगा खोइ? राजा त नांगै छन्' भन्दै बालक करायो। सबैको ध्यान त्यही बालकमा गयो। सबैले शिर निहुराए। राजा लाजले भागे।
यो कथा पहिलोपटक सुन्दा म बाल्यावस्थामै थिएँ। कथा खुब रमाइलो लागेको थियो। आजकाल यो कथाले घोचिरहन्छ। जनताको सेवा गर्ने उद्देश्यको राजा अर्थात् आजको नेता कालान्तरमा के कारणले नांगै भयो भन्ने लाग्छ।
कारण धेरै हुन सक्लान्। समाज र राजाको सम्बन्धमा पर्खाल होला। राजाका सल्लाहकार खराब भए होला। समयले दिएको जिम्मेवारी बोध गर्न नसकी राज्यसत्ताको उन्मादमा परे होला। म राजा हुँ, मैले भनेको र गरेको सबै ठिक हन्छ भन्ने पर्यो होला।
रामायण र महाभारतका कथाहरू, हामीले हेर्ने सुन्ने सिनेमाका कथा, पुस्तकमा पढेका परिकल्पना अनेक हुन सक्छन्। समाज त हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ। समाजको बागडोर हातमा लिनेहरू गलत हुँदा 'करम भी होगा, धरम भी होगा, कलिजुग में शरम नहोगा' भन्ने स्थिति भएको छ।
जनतामा छाएको निराशालाई अस्त्र बनाएर राजनीतिक शक्तिहरूको उदय भएको एतिहास छ। एउटा शासनको पतन र अर्कोको उत्थान भएको छ। हाम्रो देशमा जहानियाँ राणा शासन, त्यसपछि राजाको शासन र आजको गणतन्त्र यस्तै यात्राको उपज हो।
यो देशले अहिले नै अर्को राज्यव्यवस्था धान्न सक्दैन। यति कुरा जान्दाजान्दै पनि जनताको भावनामा खेलबाड गर्ने एन्टीहिरो खडा हुँदैछन्। यस्तो अवस्था मौलाउनु खतरा हुन सक्छ।
नायकमा त्याग, समर्पण र बलिदानको साहस चाहिन्छ। प्रेम र विनम्रता पनि चाहिन्छ। नायकले चुपचाप अन्याय सहँदैन, अन्याय गर्दैन। नायकले मै नायक हुँ पनि भन्दैन। असल नियतको नायकले बारबार गल्ती गर्दैन। नायकलाई हेक्का हुनुपर्छ, नियतको कुनै प्रमाण हुँदैन।
ट्विटर :@krantishikha