तपाईंलाई तपाईंको बचपनको के के कुरा याद छ? यदि हात्तीछाप चप्पल, टुकीमारा बत्ती, बलवान खैनी, याक चुरोट, इगल वाला नोटबुक, सुकाखाले चकलेट आदि इत्यादि याद छ भने चाहिँ यो लेख पक्कै तपाईंको वर्तमान जीवनसँग मेल खान सक्छ।
आफ्नै अनुभवबाट म सुरू गर्छु। पेसाले म एक शिक्षक अनि अविवाहित। आजकल शिक्षण सिकाइ क्रियाकलापभन्दा बाहेकको अतिरिक्त समयमा जब म मेरा विद्यार्थीहरूसँग हुन्छु तब सधैं एउटै विषय उठान हुन्छ विद्यार्थीहरूबाट। त्यो हो मेरो ‘बिहे’ को कुरा।
'सरको बिहे कहिले हो?'
'हामीलाई पनि बोलाउनुस् है, जन्ती जानु पर्छ।'
'सर जस्तो हेण्डसम मान्छेको त गर्लफ्रेन्ड होला नि, बिहे गर्नु नि'
'सर म केटी खोज्दिम?'
हो, यी र यस्तै प्रश्नहरू ममाथि मेरा विद्यार्थीले यसरी थुपार्छन् र चासो दिन्छन् कि म एक परीक्षार्थी हुँ अनि उनीहरू मेरो परीक्षा लिइरहेका छन्। अझ यतिसम्मको गम्भीरता देखाउँछन् कि मानौं मेरो बिहे भएन भने उनीहरू स्वयम् परीक्षामा फेल हुन्छन्।
यो मेरो अनुभवसँगै यस्तै अनुभवहरू विभिन्न क्षेत्रमा जोडिनु भएका र उमेर एक बीस जोड आधा दशक आसपास भएका आम युवाहरूले गरिरहनुभएको छ भन्नेमा म पूर्ण विश्वस्त छु।
साढे दुई दशक आसपास उमेर पुगेपछि युवाहरूको जीवनमा सबैभन्दा बढी सुनिने प्रश्न हुन्छ, 'अब बिहे कहिले गर्ने?'
जहाँ गए पनि जुनसुकै जमघटमा भेटे पनि यही प्रश्नले युवाहरू घेरिएका हुन्छन्। परिवार, इष्टमित्र र समाज सबैले यसरी प्रश्नको सुर्केनी कस्छन् कि मानौं युवाहरूको उमेरको कुनै महत्वपूर्ण घण्टी बजिसकेको छ, जसको आवाज बिहे नगरेसम्म रोकिँदैन।
हिजोआजको युवा पुस्ताले व्यक्तिगत स्वतन्त्रता र करिअरलाई मुख्य प्राथमिकतामा राखेका हुन्छन् तर पनि बिहेको कुरा टार्न भने असम्भव जस्तै हुन्छ।
समाजमा बिहेप्रतिको धारणा यति गहिरो छ कि जब उमेरले २५ आसपास टेक्छ, युवाहरूलाई बिहेको लागि मानसिक र सामाजिक रूपमा तयार हुन दबाब दिन थालिन्छ। इमाइल दुर्खीम, टाल्कट पार्सन्स, एन्थनी गिडेन्स जस्ता प्रसिद्ध समाजशास्त्रीहरूले विवाहलाई सामाजिक प्रक्रियाको रूपमा परिभाषित गरेका छन् जसअनुसार ‘विवाह व्यक्तिगत छनोटमाथि निर्भर नगरी समाजले निर्धारित गरेका नियम र अपेक्षाहरूको आधारमा काम गर्छ।’
'हाम्रो पालामा त हामीले २२/२३ मै बिहे गरेको; तिम्रो त अब बेला हैन अबेला हुन लाग्यो।' भनेर हतास लगाउने एकथरी समूह पनि भेटिन्छन् हाम्रो समाजमा।
यो भनेको केवल एक सामाजिक दबाब होइन, परम्परागत मूल्य मान्यताको आवाज पनि हो, जसले हरेक पुस्तालाई प्रभावित गर्दै आएको छ।
आजको युवाले भने विवाहलाई अलि फरक रूपमा बुझ्न थालेको मेरो अनुभवले बताउँछ। २१ औं शताब्दी का युवामा व्यक्तिगत स्वतन्त्रता र करिअरले मात्र महत्व पाएको छैन, प्रेम र सम्वन्धको कुरा पनि मुख्य मुद्दा बनेको छ। हिजोआज धेरै युवा प्रेम सम्बन्धमा छन्, र उनीहरूले प्रेम विवाहलाई आफ्नो जीवनको प्रमुख निर्णयको रूपमा लिएका छन्। प्रेम विवाहको चलन बढ्दै जाँदा, जो प्रेम सम्बन्धमा छैनन्, उनीहरूको लागि बिहेको प्रक्रिया झनै कठिन देखिन्छ। मागी विवाहको कुरा गर्दा, अहिलेको युवालाई झन् गाह्रो छ, बढ्दो आधुनिकताको प्रभाव सङ्गै प्रायः सबै प्रेम सम्बन्धमा रहेका कारण उपयुक्त जोडी भेट्नै मुश्किल छ।
बिहे गर्ने उमेर पुगिसकेपछि, समाजले एउटा तरिका अपनाउँछ। जब कोही प्रेम सम्बन्धमा छैनन्, हाम्रो सामाजिक एकाइहरुले थरी थरी प्रस्ताव राख्न थाल्छन्। कति बेला फोटो देखाउँछन् र भन्छन् 'केटी/केटा राम्री/राम्रो छ, परिवार राम्रो छ, कुलघरान राम्रो छ, पढाई अनि सम्पति पनि टन्न भएका, यो मौका जान दिनु हुन् है!"
अझै कतिपय बेला त सिधै खुट्टा तान्छन्, 'उमेर त गयो त, अब ढिला गर्न हुँदैन है नत्र बुढेशकालमा तातो पानी दिने नी कोही नहोला।' यसरी समाजले व्यक्तिलाई बिहेको चक्करमा धकेल्न कोसिस गर्छ, मानौं उनीहरूलाई आफ्नो जिन्दगीको अन्तिम निर्णय लिन प्रेरित गरिँदै छ।
विदेश जाने चाहना अहिलेका युवाहरूको अर्को ठूलो सपना बनेको छ। पढाइको लागि, कामको लागि, अथवा नयाँ अवसरहरूको खोजीमा विदेश जानु हिजोआज सामान्य कुरा भइसकेको छ। तर यसले पनि बिहेको प्रक्रियालाई एकदमै जटिल बनाएको छ। धेरै युवा भने विदेश जानु र बिहे गर्नु एकैचोटि सम्भव छैन भन्ने ठान्छन्। उनीहरूको सोच छ, "पहिले विदेशमा केही गर्ने, त्यसपछि मात्र बिहे।" यसरी विदेश जाने सपना भएकाहरूले बिहेको निर्णयलाई धकेल्दै लैजान्छन्।
अर्कोतिर, देशमै बस्न चाहने युवा पुस्ताले भने थप अरू समस्याको पनि सामना गर्नुपर्छ। विदेश गएको साथीहरूले बिहे गरिसक्दा, धन कमाई सक्दा देशमै बस्नेहरूलाई लाग्छ, 'के म एक्लो हुने हो?' यही डरले गर्दा कतिपय युवाहरू बिहेको प्रश्नमा अझ गहिरो विचारमा पर्छन्। समाजले विदेश नगएका युवालाई अलि फरक आँखाले हेर्ने गर्छ। आफन्तले बेला बेलामा भनिदिन्छन्, 'विदेश त जान सक्नु भएन, के अब बिहे पनि नगर्ने?'
बिहे सामाजिक मूल्य र परम्परासँग पनि गहिरो रूपमा जोडिएको छ। नेपाली समाजमा बिहेलाई एउटा महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक अनुष्ठान मानिन्छ। तर, आधुनिक युवा पुस्ता यो सोचसँग पूर्ण रूपमा सहमत छैन। बिहे भनेको केवल दुई परिवारको एकता होइन, दुई व्यक्तिको बीचको आपसी समझदारी र साझेदारी पनि हो भन्ने कुरा युवाहरूले महसुस गरेका छन्। उनीहरू चाहन्छन्, बिहे दुवैजनाको स्वतन्त्रता र इच्छालाई सम्मान गर्ने खालको होस्। तर, परम्परागत रीतिरिवाज र परिवारको दबाबका कारण यो कुरा सहज हुन सकेको छैन।
आधुनिक युवालाई बिहेको परम्परागत प्रक्रिया बोझिलो लाग्न थालेको छ। ठूल्ठूला बिहे भोज, धार्मिक अनुष्ठान, र समाजको उच्च अपेक्षाहरूले गर्दा उनीहरूलाई लाग्छ, ‘बिहे केवल सामाजिक जिम्मेवारी मात्र होइन, आफ्नो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्याउने कुरा हो। यस्तो लाग्छ, कि बिहे भनेको आर्थिक, सामाजिक, र व्यक्तिगत जिम्मेवारीको नयाँ सुरूवात हो।’ यसै कारण, कतिपयलाई बिहेपछि आफ्नो स्वतन्त्रता गुम्नसक्छ भन्ने डर हुन्छ। सामान्य विवाहमा लाग्ने खर्च जुटाउन पनि नसकिने अवस्था र खर्च गर्न नसके सामाजिक अपहेलनामा परिने चिन्ताले पनि विवाहदेखि युवाहरू पर भागिरहेका छन्।
बिहेको सकारात्मक पक्ष पनि छ। परिवारको साथ र समझदारीले जिन्दगीलाई सजिलो बनाउन सक्छ। दुई व्यक्तिबीचको साझेदारीले जीवनको हरेक चुनौतीमा सँगै सामना गर्ने अवसर दिन्छ। यसरी, बिहेले दुई व्यक्तिको सम्बन्धलाई बलियो बनाउन सक्छ, तर यो तबमात्र सम्भव हुन्छ जब दुवै जनाले एक अर्कालाई सही रूपमा बुझ्छन्।
बिहेको मुद्दामा परिवारको दृष्टिकोण र युवाहरूको दृष्टिकोणबीचको फरकले गर्दा अहिलेको पुस्तालाई धेरै द्वन्द्व झेल्नु परेको छ। समाजले परम्परागत रूपमा हेर्दा, बिहे छिटो गर्नुपर्छ भन्ने सोच हुन्छ। तर, युवा पुस्ता आफ्नो जीवनको निर्णय आफै गर्न चाहन्छन्। उनीहरू बुझ्दैछन् कि बिहे केवल सामाजिक जिम्मेवारी होइन, व्यक्तिगत स्वतन्त्रताको पनि कुरा हो।
नतिजामा अहिलेको युवापुस्ताले समाजको दबाब र व्यक्तिगत स्वतन्त्रताको बीचमा सन्तुलन खोज्ने प्रयास गरिरहेका छन्। प्रेम सम्बन्धमा नहुनेहरूलाई मागी विवाह थप असहज र अप्ठ्यारो हुन पुगेको छ, विदेश जाने चाहनाले बिहेको निर्णयलाई ढिला गराउने र स्वदेश फर्कने अन्यौलताले पनि विवाहको नाम देखि यो युवा पुस्ता डराउँदै छ।
परम्परागत मान्यतासँगको संघर्षले गर्दा यो प्रक्रिया अझै जटिल देखिन्छ। तर, यो कुरा पनि सत्य हो कि विवाह एउटा महत्वपूर्ण निर्णय हो, र यसलाई केटा केटीको आपसी समझदारी, भविष्यको योजना तथा सामाजिक, आर्थिक र सांस्कृतिक मर्यादा भित्र रहेर पूरा गरिनु पर्छ। साथै, विवाहको विषय थप व्यक्तिगत निर्णयको रूपमा विकसित हुनु आवश्यक छ भन्ने विचार आजको युवाको रहेको बुझ्न सकिन्छ।