‘घर त मेरो यहाँ होइन,
घर त मेरो हिमाली पाखा बेसी हो रे
कुन दिनको संजोकले बने लाहुरे।’
गोपाल योञ्जनको उल्लेखित कालजयी गीतले भनेजस्तै हामी नेपाली हिमालकै काख, पहाडका पाखा र तराइका बेसीहरूमा जन्मेर हुर्केका हौँ अनि आफ्ना सपनाहरूको पखेटा फिँजाउँदै यो वा त्यो बहानामा घर छोडी लाहुरे बन्न पुगेका छौँ।
लाहुरे; केवल पल्टन वा फौजीमा काम गर्न परदेश जाने परदेशी मात्र नभई आफ्नो भूमि छोडी स्वदेश वा विदेश जहाँ भए पनि गन्तव्य चुम्न लालायित पाइलाहरू सबै लाहुरे जस्तै लाग्छ हिजोआज मलाई। जसले, दसैँ, तिहार जस्ता चाडपर्वमा आफ्नो गाउँ ठाउँ सम्झेर झिटीगुन्टा बोकी परिवारलाई साथ लिई गाउँमा रौनक भित्राउँछन्।रित्तिएका गाउँघरलाई पुनः भरिभराउ बनाउँछन् अनि आँगनमा उम्रिएका कुरो र पाती फाँड्दै कमेरो (हिजोआज बजारका रङले) घर पोती टलक्क टल्काउँछन्।
दसैँका २-४ दिन गाउँघरका चिया पसलहरू यस्तै लाहुरेले भरिभराउ हुन्छन् अनि एक अर्काका हालखबर सोध्नेदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका ताता बहस पनि चर्किन्छन्। लाग्छ, यस्तै रमझम सधैँ गाउँमा भइदिए किन उजाडिन्थे हाम्रा बस्तीहरू? किन बाझिन्थे हाम्रा गैरी खेत र पाखो बारीहरू? अनि किन हुन्थे आँखीझ्याल भएका विशाल घरहरूमा केवल २ थान बा आमा मात्रै!
आफ्नो बाध्यता भनौँ वा रहर, काम/पढाइ विशेषले घर छोडी हिँडेका हामीलाई स्वदेश वा विदेश जहाँबाट फर्के पनि गाउँले गर्ने आतिथ्यमा कुनै कन्जुस्याइँ गरेकै छैन। ‘किन मलाइ एक्लाएर गई केही क्षणको लागि मात्र झुल्किन्छौ?’ भनेर गुनासो गर्ने ठाउँ हुँदाहुँदै पनि गाउँले केही गुनासो नै छैन झैँ गरी दिल खोलेर स्वागत गरेझैँ लाग्छ। उमेर ढल्किँदै गरेका बुवा, आमा, हजुरबुबा, हजुरआमाको हातबाट टीका र आशीर्वाद थाप्न लालायित पाइलाहरूले कमसेकम वर्षमा एक पटक भने पनि आफ्नो माटोको स्पर्श गरेका छन् र पारिजात फूलको सुवासमा आनन्द लिन पाएका छन्।
जागिर खान भन्दै आफ्नो घरबाट टाढा रहेका हामी यस्तै झिटीगुन्टा बोकेर सानी छोरी लिई दसैँ मनाउन आफ्नो घर पर्वत पुग्यौँ। जब डेढ वर्षकी छोरी बोकेर दसैँको मौकामा करिब एक वर्षपछि म घर पुगेँ, तब गाउँले मलाई दिएको मायालाई म शब्दमा बयान गर्न सक्दिनँ। घटस्थापनादेखि नै बिदा हुने अफिसको फाइदा उठाउँदै छोरीलाई केही दिन भने पनि बुढा हुनुभएका हजुरबाको काखमा खेल्ने मौका मिलाउन दसैँभन्दा केही दिन अघि नै गाउँमा पुग्दा गाउँघर सुनसान थिए। तर केही दिनपछि गाउँघर भरिन थाले।
फलानाका घरमा को-को आएछन्? फलानाको छोरा बुहारी किन आएनन्? भन्दै घरघरमा छलफल हुन थाले। सफा मौसम, न चिसो न तातो हावाको प्रवाह, धान बारीमा झुल्दै गरेका धानका बाला, फक्रिँदै गरेका सयपत्री, यस्तै यस्तै वातावरणले सर्लक्क ढाकेको थियो गाउँघरलाई।
सके धेरै नसके एउटा भने पनि भैँसी पाल्नु हाम्रो गाउँका मान्छेले अझै आफ्नो शोभाका रूपमा लिन्छन्। अझ भनौँ, हात-खुट्टा चलुन्जेल गोठ खाली राख्न मन मान्दैन हाम्रा बा-आमाहरूको। बिहान बेलुका उभ्रिएको खाना होस् वा आँगन वरिपरिका घाँस झारलाई व्यवस्थित गर्न होस्, गाउँका घरमा एउटा न एउटा चौपाया पालिएकै हुन्छ। हाम्रोजस्तो पहाडी क्षेत्रमा भैँसीलाई नै दूधको मुख्य स्रोतको रूपमा लिइन्छ र पाल्न धेरैको रोजाइमा परेको पाइन्छ।
यो दसैँमा जाँदा हाम्रो घरमा भैँसी भए पनि दूध सुकेको अवस्थामा रहेछ। तर गाउँका प्रायः सबै घरहरूमा दूध दिने लैनो भैँसी रहेछन्। माथि, तल, दायाँ, बायाँ आफन्तलाई भेट्छु/बोलाउँछु भनेर जाँदा प्रायः दुहुनो भैँसी भएका सबैको घरमा पुग्दा लैनो भैँसीकै दूधले स्वागत गर्नुभयो। एकै पटक धेरै आफन्तकोमा पुग्दा त भयो, भर्खरै मात्र अर्को घरमा खाएर आएको भन्नुपर्थ्यो। त्यतिखेर इन्कार गरेको त्यो शुद्ध र पोसिलो दूध अहिले म सम्झिरहन्छु र स्वादको आनन्द कल्पिरहन्छु।
अहिले हाम्री छोरी सानी भएर उनलाई दूध आवश्यक पर्छ भन्ने थाहा भएर हो वा हाम्रो घरमा दूध नभएर हो, आफन्तले अम्खोराभरि दूध पठाइदिँदा मलाइ गाउँ र आफन्तप्रति निकै श्रद्धाभाव जाग्यो। आहा! अझै बाँकी छ है हाम्रो गाउँघरमा यस्तो हार्दिकता र आत्मीयता। जताततैबाट अम्खोराभरि दूध आउँदा आफ्नो घरमा दुहुनो भैँसी हुनेभन्दा धेरै दूध जम्मा हुन्थ्यो कहिलेकाहीँ। जता पुगे पनि अलिकति दूध खाऊ है, नभए लिएर जाऊ है त भन्नुहुन्थ्यो।
कसैले त राती ८ बजे भए पनि फोन गरी बोलाउनु हुन्थ्यो र गिलासभरि दूध टक्राउनु हुन्थ्यो। सामान्य रूपमा हेर्दा यो विषय सामान्य नै होला तर यो व्यवहारले भने मेरो मन मस्तिष्कलाई छोइरह्यो र भावुक बनाइरह्यो। गाउँमा रहेको आत्मीयता र हार्दिकताको स्वाद पस्किन ढिलै भए पनि कलमलाई झस्काइरह्यो।
लैनो भैँसीको दूधसँगै गाउँले साँचिराखेको आत्मीयता वर्तमान स्वार्थी समाज र समयमा साँच्चै उदाहरणीय छ। वल्लो-पल्लो कोठाकै मान्छे नचिन्ने र एउटा हाँसो दिन पनि कन्जुस्याइँ गर्ने सहरी बसाइको एकल काटे प्रवृत्तिलाई यसले राम्रै सबक सिकाएको छ।
हाम्रा गाउँघरको जस्तै हार्दिकता र आत्मीयता जुगौँजुगसम्म बचाइराख्न हामी सबैलाई प्रेरणा मिलिरहोस् जसले हाम्रो संस्कृति र मौलिकता जगेर्नामा थप मलजल पुग्नेछ।