दसैँ-तिहार बिदा सकिएको समय या भनौँ मजस्तै देश भित्रैका परदेशीको जन्मभूमि छोड्ने समय। चाडपर्वहरू सकिए भन्दा पनि आफू हुर्किएको गाउँ-ठाउँमा केही दिनलाई भए पनि रमाउने दिन सकिए भन्ने कुराले मन यसै खल्लो बनाइरह्यो।
आमा-बाबाले अर्मपर्म गरेर रोपेको धान लगायत अन्य खेतीपातीले पनि केही दिन रोकियोस् भन्ने आशा गरेजस्तै लाग्यो। एक महिनादेखि भरिपूर्ण घरले बिस्तारै शून्यताको महसुस गर्दै थियो।
मन नलाई नलाई भए पनि फर्कनको लागि अघिल्लो दिन नै बसको टिकट लिन गएँ। तर आखिर म मात्रै पनि त यसरी गाउँ छाड्नेको भिडमा थिइनँ; सबैको समस्या उस्तै। सिट सबै प्याक। उभिएर भए पनि १५० किलोमिटर यात्रा गर्नु बाहेकको विकल्प रहेन।
फर्कने दिन गहभरि आँसु पारेर साइतको टीका लगाइदिँदै आमाले ‘अबको भेट अर्को दसैँमा त होला नि छोरी’ भन्दा लाग्यो ‘जन्मिएको घर, हिँड्न सिकाएको आँगन, अस्ताउँदो सूर्यसँगै उमेरको दिन ढल्कँदै गरेका बाबा-आमा छोडेर अनजान सहरमा एउटा कोठालाई आफ्नो महल सम्झिएर बस्नेलाई त जन्मभूमि छोड्न यति गाह्रो छ भने झन् अनजान देशका अनजान सहरहरूमा जाने परदेशीहरूको मन कस्तो हुँदो हो!’
जसोतसो मन सम्हाल्दै आमाले राखिदिएको त्यो कोसेलीको झोला त के गह्रुङ्गो हुँदो हो, त्योभन्दा धेरै गह्रुङ्गो त मेरो मन भएको थियो। यस्तै गह्रुङ्गो मन लिएर अब छिटै सफलताका पाइला टेक्छु भन्ने अठोट मनमा लिँदै घरबाट हिँडेँ।
घरबाट केही परको दूरीमा बसले पर्खिरहेको थियो। बिदाइ गर्न आएकी आमालाई बसको झ्यालबाट नछेकुन्जेलसम्म हेरिरहेँ। बस अघि बढेसँगै बिस्तारै ठुला-ठुला पहाडले आमासँगै पूरै गाउँ नै छेक्यो।
त्यसपछि मनमा अनेक कुरा आउन थाले। अब उही दैनिकी; बिहान कलेज, दिउँसो कोठा भाडा तिर्न भए पनि केही जागिर, साँझ पढाइ। यस्तै त रहेछ!
मानिसको भिडभाड साथै खल्लो मनले होला म आफैमा हराइरहेकी थिएँ। भिडभाड त्यसैमाथि हुँदै नभएका पूर्व प्रेमीको झल्को दिलाउने ड्राइभर दाइले बजाएका सेन्टिमेन्टल गीत। जसोतसो यात्रा चलिरहेकै थियो।
म उभिएको छेउनिर सिटमा बसेका दुई जना आमाको भलाकुसारी प्रस्टै सुनिन्थ्यो। बेवास्ता गर्दा गर्दै पनि ‘मेरी छोरीलाई सरकारी जागिरे (शिक्षक) केटा माग्न आएको थियो। त्यस्तो जागिरेसँग बिहे गर्दिए दुःख पाउँछे भनेर वास्ता गरिएन’ भनेको ट्याक्कै कानमा पर्यो।
अहिलेको जमानामा पहिलो कुरा त मागी विवाह लोप हुन लागिसक्यो, त्यसैमाथि शिक्षकको जागिरलाई जागिर नसोच्ने म निकै अचम्ममा परेँ।
यत्तिकैमा अर्की आमाले कुरा थप्नुभयो, ‘ठिक गर्नु भएछ। मासिक तिस हजार तलब बुझ्नेलाई छोरी दिनभन्दा त बरु खाडी मुलुक गएकै किन नहोस्, परदेशीलाई छोरी दिए सुख पाउँछे।’
यो कुरा बेवास्ता गर्दा गर्दै पनि मेरो कानसम्म आइरहेको थियो। आमालाई केही प्रतिक्रिया दिन त मन थियो तर यत्तिकै अरूको सोचमा बाधा पुर्याउन पनि त भएन। हुन त अहिलेको अवस्थालाई राम्ररी बुझेकै भएर उहाँहरूले यी कुरा गरिरहनु भएको थियो। तर देशमै केही गरौँ भन्ने सोच भएकी मलाई ती कुरा आश्चर्य लाग्नु स्वाभाविक नै हो।
हुन त म शिक्षक सेवामा आबद्ध मान्छे पनि हैन तर पनि शिक्षा पेसा यसरी अपहेलित भएकोमा निकै नराम्रो लागिरहेको थियो। मनमनै सोचेँ; फूल सरि हुर्काएकी छोरी अरूलाई सुम्पिन पनि धन-सम्पत्ति पैसासँग तुलना गर्नु पर्ने यो अवस्थामा शैक्षिक मात्र नभएर निजामती सेवाको पनि त यस्तै हालत होला।
फेरि आमाको भलाकुसारी सुनिन लाग्यो, ‘अहिले त बरु केटो जति कुलतमा लागेको किन नहोस्, टन्न पैसा कमाउनी चाहिँ हुनुपर्छ।’
पुनः यस्तै भलाकुसारी चलिरह्यो, ‘अहिलेको परिवेशमा इज्जत, मान-सम्मानभन्दा ठुलो पैसा नै छ। बिरामी भएर हस्पिटल गए म यस्तो जागिरे हो भनेर भएन, सुरुमै यस्तो यस्तो रोग लाएको छ उपचारको लागि यति रकम चाहिन्छ भन्दै बिल आउँछ। त्यो बेलामा त सरकारी जागिरेले कमाएको होस् वा खाडीको लाहुरेले, आखिर रोगभन्दा पैसा नै ठुलो हुन्छ।’
आमाहरूसँग केही बोल्ने, प्रतिक्रिया दिने मन त थियो तर अन्त्यमा मेरो मौनताले नै जित्यो। मेरो गन्तव्य स्थल अर्थात् कर्मथलो निर आएर बस रोकियो। आमाहरूका कुरामा अचम्म मान्दै गाउँबाट लिएर आएको जेब्रा झोला अटो बोलाएर राख्दै डेरातर्फ लागेँ।