अस्ति दार्जिलिङबाट सिक्किम जाने क्रममा गाडीमा भेटिएका त्यतै घर भएका एक सहयात्रीले अलैँची मर्दै गएकोबारे एक नयाँ अनुमान गरेका थिए। उनका अनुसार गाउँ-गाउँसम्म विद्युत् विस्तार भएपछि त्यसको नाङ्गो तारबाट आएको रेडिएसनका कारण अलैँची मर्न थालेको हो। उनको यो अनुमान पनि पत्याउनै नसकिने खालको होइन। हामी यता इलामतिर पनि अलैँची मर्दै गएकामा त्यस्तै खालका अनेक अनुमान गर्छौँ।
पहिले एकपल्ट अलैँची रोपेपछि त्यो तिसौँ वर्षसम्म टिक्थ्यो। प्रत्येक वर्ष नयाँ टुसा पलाउँदै यसको बगानमा सदाबहार हरियाली छाउँथ्यो। अरू अन्न नफल्ने कछाड, भिर, पाखा, खोल्सा जताततै अलैँची फलेको हुन्थ्यो। सामान्य गोडमेल गर्नबाहेक ठुलो दुःख नगरी यसले मनग्गे आम्दानी दिन्थ्यो। तर केही वर्ष अघिदेखि त्यत्तिकै यसको बगान सखाप भएको छ। मकै पाकेपछि ढोड सुकेजस्तो सुकेर अलैँची सबै मर्न थाल्यो।
यो मर्नुमा हामीले पनि त्यस्तै अनेक अनुमान गरेका थियौँ। छहारीका लागि लगाएका उत्तिस र मलताका रुखमा हुने एक प्रकारको झुसिल्किराका कारण अलैँची मरेको हो भन्ने अनुमान थियो। ठुलो प्रयत्न गरेर बगानलाई झुसिल्किराबाट मुक्त गराएपछि पनि मर्ने क्रम नरोकिएपछि त्यसले होइन रहेछ भन्ने खुल्यो।
त्यसपछि बगानमा हुने हरियो रङको खबटे किराले गाना खाएर अलैँची मरेको अनुमान भयो। त्यस्तो किराको धुइँपत्ताल खोजी गरेर नाश गरेपछि पनि अलैँची मर्दै रह्यो। त्यसपछि लसुन प्याज बढी खाएर बगानमा प्रवेश गर्दा मरेको रहेछ भन्ने अर्को अनुमान गरियो। लसुन प्याज बिनाको सात्त्विक भोजन गरेर जाँदा पनि अलैँची मर्ने क्रम रोकिएन र अहिले त सखाप नै भएको छ। पहिले २५/३० मन जति अलैँची बनाउनेहरूको अहिले एक झ्याङ पनि नरहेपछि यसको जति मूल्य आए पनि कृषकलाई केही लाभ भयो र?
ब्रिटिसहरू दार्जिलिङमा आएर बस्न थालेपछि नयाँ खेती प्रणालीको विकास गरे। अलैँची, अदुवा, अम्लिसो आदि उतै जानेहरूले बिस्तारै बिस्तारै इलाम भित्र्याएका थिए। गाउँघरतिर अझै पनि ठुला र बढी दूध दिने गाईलाई बेलायती गाई भन्ने चलन छ। उनीहरूले दार्जिलिङमा बसेर शिक्षा र कृषि प्रणालीमा गरेको सुधारको केही मात्रामा लाभ इलामले पनि लियो।
यता इलाममा उत्पादन गरिएको अलैँची, चिया, अदुवा, कुचो, घिउ जस्ता वस्तुहरू ब्रिटिसहरूले बनाएको बजारमा नै बिक्दै रह्यो। हामीले आफ्नो नयाँ बजार बनाउने त कुरै थिएन, हामीले उत्पादन गरेर पठाएका सामग्रीहरू कहाँ पुग्छन् र के-के कार्यमा उपयोग हुन्छन् भन्ने समेत हामी उत्पादन गर्नेहरूलाई केही थाहा भएन। अर्को कुरा रोग र किराको प्रकोपमा के गर्ने भन्ने पनि केही थाहा छैन। हाम्रो त भगवान् भरोसामा चलेको खेती प्रणाली रहेछ।
ब्रिटिसहरूले भारत छाडेपछि हाम्रा त्यस्ता उत्पादनहरूमाथि भारतीय व्यापारीहरूको पकड रह्यो। अहिले हाम्रा उत्पादनहरूको मूल्य उनीहरूकै हातमा छ। गत साल प्रतिमन २५० रुपैयाँमा पनि नबिकेको अदुवा यो वर्ष प्रतिमन १० हजार रुपैयाँसम्ममा बिक्यो। यसरी नै बिक्री हुने आशामा खेती गरियो भने अर्को वर्ष भाउ घटेर लगानी उठाउन नै गाह्रो हुन्छ। अदुवाको भाउ प्रतिमन पाँच हजारसम्म स्थिर रूपमा रहन सके पनि इलामले मात्रै अर्बौँ रुपैयाँको अदुवा निकासी गर्न सक्छ तर अवस्था सोचेजस्तो रहँदैन।
हामी अल्छी हुँदा खेती गर्न छाडेर उत्पादन घटेको हो भन्ने धेरैलाई लागेको छ। सबैलाई थाहा नै होला गत साल भारतमा टमाटरको उच्च अभाव रहँदा महँगो मूल्यमा नेपाली टमाटरले भारतीय बजार पाएको थियो। त्यस्तै महँगो मूल्यको कुरा नगरौँ, किसानको हातमा प्रतिकिलो ५० रुपैयाँ पर्ने गरी निकासीको नियमित बजार प्राप्त भए पनि हजारौँ टन टमाटर निकासी गर्न सकिन्थ्यो। किसानलाई खेती गर र उत्पादन बढाऊ भन्नै पर्ने थिएन।
अहिले अधिकांश खाडी मुलुकहरूमा हरियो तरकारीको उच्च अभाव छ। त्यहाँ काम गर्न पुगेका नेपालीहरू पनि मासुभन्दा महँगो मूल्यमा तरकारी किनेर खान्छन्। त्यहाँका बजारसम्म हाम्रो आफ्नै उत्पादन बिक्री गर्ने पहुँच पुग्न सके हाम्रा लागि वरदान साबित हुने थियो।
भूपरिवेष्टित मुलुक भएको हुनाले समुद्रको माध्यमबाट बजारसम्म पुग्न नपाउनु नेपालीहरूको सबैभन्दा ठुलो दुर्भाग्य हो। त्यसैले नेपाली उत्पादनले विदेशी बजारमा मूल्य पाउन भाग्यकै भर पर्नुपर्ने हुन्छ। भारतीय बजारमा जबसम्म उनीहरूको आफ्नो उत्पादनले बजारको माग पूरा गर्छ, मूल्य जति पुगे पनि नेपाली उत्पादनले प्रवेश नै पाउन सक्दैन। चोरी निकासीद्वारा नगन्य मूल्यमा बिक्ने हो। उनीहरूको आफ्नो उत्पादनले नपुग्ने भएपछि मात्र नेपाली उत्पादनले प्रवेश पाउने हो।
प्रवेश पाउँदाका बखत पनि अलैँची, अदुवा, कुचो जस्ता उत्पादनहरूमा व्यापारीहरूद्वारा एक प्रकारको सिन्डिकेट कायम गरी निश्चित मूल्य तोकिन्छ। कृषकको हातबाट व्यापारीको हातमा पुगेपछि मात्र सामानको मूल्य बढ्न थाल्छ। हाम्रा उत्पादनहरूमध्ये यो वर्ष अलैँची र अदुवाले मूल्य पाएजस्तै अवस्था रहँदा नयाँ हलचल नै उत्पन्न गराउँछ।
१४औँ शताब्दीमा एसियाको भ्रमण गरेर फर्किएका मार्को पोलोले भारत सुन, चाँदी, हिरा, मोती, जुहारत र सुगन्धित मरमसलाको देश हो भनी वर्णन गरेका थिए। त्यही वाक्यांशका भरमा धेरै युरोपियनहरू भारत खोज्दै आएका हुन्। त्यसै बेला व्यापारीको भेषमा आएका ब्रिटिसहरूले भारतलाई उपनिवेश नै बनाए। व्यापारिक कला भएका उनीहरूले भारतमा उत्पादित चिया र सुगन्धित मरमसलाको व्यापारबाट आफ्नो अर्थतन्त्र निकै बलियो बनाएका थिए।
सुगन्धित मसला वर्गमा पर्ने अलैँची पनि त्यसै बेलादेखि युरोपतिर निकासी हुँदै आएको हो। यसमा वर्षौँ अघिदेखि निश्चित व्यापारीहरूको संलग्नता छ, माग र निकासीको सन्तुलन छ। त्यसैले केही नेपाली व्यापारीहरूले आफै प्याकेजिङ गरेर निकासी लागि गरेको प्रयास सफल हुन सकेको देखिँदैन।
यहाँ उत्पादित नगदे बालीको मूल्य सधैँ उतारचढाव भइरहन्छ। गत तीन वर्षमा अलैँचीको मूल्य २५ देखि ५० हजार हाराहारीमा रह्यो। यो वर्ष १ लाख १० हजारसम्मको उच्च मूल्य छुँदै गरेको देखिन्छ। यस वर्ष इलामभन्दा बाहिरका जिल्लाहरूमा खेती गर्दै गरेका अलैँची कृषकहरूले निकै लाभ उठाएको देखियो।
इलाममा पनि निकै दुःख गरेर केही मात्रामा अलैँची उत्पादन गर्ने कृषकहरू रहेका छन्। मल, पानी, गोडमेल, छहारी आदिको आवश्यक व्यवस्था गरी निकै स्याहार गरे केही मात्रामा फल्न सक्छ। राख्दा तर उही माटोमा ३ देखि ४ वर्षसम्म मात्र टिक्दै रहेको देखिन्छ। नयाँ बोट लगाउँदा त्यो सरेर उत्पादन दिन्छ नै भन्ने कुनै टुङ्गो हुँदैन। यही मूल्य कायम रहे त जस्तोसुकै दुःख र खर्च गरेर भए पनि उत्पादन बढाउन सकिन्छ। तर दुःखको कुरो अर्को वर्ष भाउ घटेर ३० हजारभन्दा पनि तल आइदिन्छ।
पहाडी भेकमा उत्पादन हुने हरेक नगदे बालीहरूले यस्तै मूल्य पाउने र त्यो मूल्य स्थिर रहने हो भने कृषकहरू आफ्नो पेसाबाट विमुख हुनुपर्ने थिएन। पहाडबाट तराई झर्ने र विदेश जाने क्रम पनि रोकिने थियो। तर खोल्सामा फल्ने कालो सुनले प्रतिमन १ लाखभन्दा बढी मूल्य पायो भनेर जिब्रो काढ्दै बस्नु मात्रै हो। अर्को साल नर्सरी हुनेहरूको करोडौँको बिरुवा बिक्न सक्ला। आफूले मरी तरी केही उत्पादन गरेको बेलामा चाहिँ भाउ ३ गुना घटेको हुन्छ। फेरि जाँगर सेलाउँछ।
उत्पादित वस्तु स्थिर र सुहाउँदो मूल्यमा बिक्ने हो भने कुनै किसानलाई पनि आफ्नो बारी बाँझो राखेर बस्ने मन हुँदैन। कृषकहरू त उखु बेचेको करोडौँ रुपैयाँ नपाउँदा पनि खेती गर्न छाडेका छैनन्। दूध बेचेको अर्बौँ रुपैयाँ नपाउँदा पनि गाई पाल्न छोडेका छैनन्।
अहिले हाम्रो देशको सबभन्दा ठुलो समस्या भनेको उत्पादन र त्यसको वितरण प्रणालीको गडबडी हो।
एकातिर उत्पादन भएको वस्तुले बजार पाएन भन्ने कृषकको गुनासो छ, अर्कोतिर त्यही वस्तु बजारमा पाइएन भन्ने उपभोक्ताको गुनासो। त्यस्तो गडबडी नहुने हो भने देशभित्र गर्दै आइएको खर्बौँको आयात उल्लेख्य मात्रामा घटाउन सकिन्छ।
कृषकहरूमा व्यापारिक गुण नहुनु अर्को ठुलो समस्या हो। निर्वाहमुखी कृषि प्रणालीलाई छाडेर व्यावसायिक कृषि प्रणालीलाई अँगाल्न खोज्दै गरेका हामीले उत्पादन मात्र गर्यौँ, उत्पादनलाई बजारसम्म पुर्याउन सकेनौँ। अस्तिसम्म त हाम्रा लागि अन्न किनेर खानु र तरकारी बेच्नु शरमका विषय थिए। हामी बजारसम्म तरकारी बेच्न जानु त मागेर खानु जस्तै हो भन्ने सोच्छौँ। देश माथि उठ्नुमा देशका प्रत्येक नागरिकको व्यापारिक गुण हुनु आवश्यक रहेछ।
हाम्रो त व्यापार पनि बदनाम छ। अरूलाई व्यापारिक सेवा दिएबापत सेवा शुल्क उठाउनु व्यापारिक धर्म हो। तर यहाँ ग्राहकको गोजी हेरेर सामानको मूल्य निर्धारण हुन्छ। आवश्यकतामा सामान नकिनी हुँदैन। धेरैपल्ट उपभोक्ताहरू वस्तुको गुणस्तर मूल्यमा ठगिएको अनुभव गर्छन्। सेवा दिएर होइन, ठगेर कमाउने हाम्रो व्यापारको संस्कार बसेको छ। कतिपय अवस्थामा त खाद्य वस्तुमा अखाद्य पदार्थ मिसाएर अमानवीय कार्य समेत गर्न पछि पर्दैनौँ। अचानक कुनै वस्तुको मूल्यमा भारी गिरावट आउनुको मुख्य कारण यो पनि हुन सक्छ। केही वर्षदेखि अलैँचीमा पनि अलैँची जस्तै देखिने चुरुम्फो मिसाइन थालेको देखिन्छ।
अहिले अलैँची मासिएर नगन्य उत्पादन मात्र भएको बेला यसको मूल्य आकासिएको छ। यसले बजारमा उत्साह ल्याएको छ तर वास्तविक किसानहरू उत्साहित छैनन्। बगान मासिनुको वास्तविक कारण नै थाहा नपाएका उनीहरूका लागि अहिलेको अलैँचीको मूल्य निकै बोझिलो भएको छ।ब