हिजोआज गाउँघरतिर आगो सल्काउन प्लास्टिकका चप्पल तथा प्लास्टिकजन्य सामाग्री प्रयोग गर्ने बानीको विकास भएको देख्छु। मैले जहाँ देख्छु, ‘यो गलत भएकाले त्यस्तो गर्नै हुन्न, यसले स्वास्थ्य अनि पृथ्वीलाई ठुलो असर गरिरहेको छ’ भन्छु। तर मान्छे सुने नसुने झैँ गरेको देखेर म चिन्तित छु।
मेरो कार्यस्थल चैनपुर नगरपालिका नजिक एक जना सानो भाइले प्लास्टिक जलाएर फोहोर विसर्जन गरेको देखेँ। मैले यस्तै भनेर सम्झाएँ। तर ती बालकको दिएको उत्तरले म स्तब्ध भएँ। उनले भनेँ, ‘हाम्रो बुकमा काहीँ लेखिएको छैन, सरहरूले भन्नु भएको पनि छैन प्लास्टिक जलाउनु हुन्न भनेर।’
विकास, आधुनिकता र सहरीकरणसँगै मानव जीवन सहज हुँदै गइरहेको छ, तर यसक ‘साइड इफेक्ट’ ले भने हाम्रो वातावरणमा गहिरो असर पारिरहेको छ। यसैबिच प्लास्टिकको अत्यधिक प्रयोग र यसको फोहोर व्यवस्थापनको अभावले सम्पूर्ण पृथ्वीलाई चुनौतीपूर्ण अवस्थामा पुर्याइदिएको छ।
आज प्लास्टिक प्रदूषणले मानव सभ्यता, जैविक विविधता र सम्पूर्ण वातावरणलाई तहसनहस बनाइरहेको छ। सन् १९०७ मा जब पहिलो पटक ‘बेक्लाइट’ नामक प्लास्टिक बनाइयो, तब यसलाई चमत्कारी पदार्थका रूपमा हेरिएको थियो। तर आज यो चमत्कार नै पृथ्वीका लागि अभिशाप साबित भइरहेको छ।
नेपाल जस्तो विकासशील देशमा प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणमा गम्भीर संकट निम्त्याएको छ।
प्लास्टिक उपयोगिताबाट समस्या
प्लास्टिकको जन्मले मानव जीवनमा अभूतपूर्व सहजता ल्याएको कुरा अस्वीकार गर्न सकिँदैन। यो हल्का, किफायती, दिगो र पानी–प्रतिरोधी छ, जसले गर्दा दैनिक जीवनमा यसको प्रयोग व्यापक बनेको छ। प्लास्टिक झोला, बोतल, प्याकेजिङ सामग्री, भाँडाकुँडा, औद्योगिक उत्पादनदेखि मेडिकल उपकरणसम्म यसको प्रयोग अनिवार्य जस्तै भएको छ। तर यसको साइड–इफेक्ट भने भयावह छ। प्लास्टिक जैविक रूपमा नष्ट नहुने र हजारौँ वर्षसम्म वातावरणमा रहने भएकाले यो धर्तीका लागि ठुलो खतरा बनेको छ।
प्लास्टिक प्रदूषणको प्रभाव
१. माटो र कृषि प्रणालीमा असर
प्लास्टिक फोहोरको थुप्रो जमिनमा पुरिँदा माटोको उर्वराशक्ति घटाउँछ। प्लास्टिक बगेर खेतबारीमा पुग्दा पानी र हावा माटोभित्र प्रवेश गर्न पाउँदैन, जसले जमिन बाँझो बनाउँछ।
२. जल प्रदूषण
नेपालका नदी, खोल्साखोल्सी, ताल तलैया प्लास्टिक फोहोरले भरिएका छन्। बागमती, विष्णुमतीजस्ता नदीहरूमा प्लास्टिकका थुप्राहरू देख्न सकिन्छ। पानीजन्य जीवजन्तुहरू प्लास्टिक खाँदा मर्छन्। समुद्रमा ८० प्रतिशत फोहोर प्लास्टिककै रहेको अनुसन्धानले देखाएको छ।
३. स्वास्थ्यमा असर
प्लास्टिकका सूक्ष्म कणहरू (माइक्रो प्लास्टिक) पानी, हावा र खानामा मिसिँदै शरीरभित्र पसेर मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेका छन्। प्लास्टिकजन्य रसायनले क्यान्सर, हर्मोन असन्तुलन, पेटको रोग जस्ता समस्याहरू निम्त्याउँछन्।
४. वन्यजन्तु र पर्यावरणमा असर
वन्यजन्तुहरूले प्लास्टिक खान्छन् र पेटमा अड्किएर मर्छन्। अनुसन्धानअनुसार हरेक वर्ष लाखौँ चराचुरुङ्गी र जनावरहरू प्लास्टिकको कारण मरेका छन्।
५. जलवायु परिवर्तनमा प्रभाव
प्लास्टिक उत्पादन र जलाउन प्रयोग गरिने जीवाश्म इन्धनले वातावरणमा ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ, जसले जलवायु परिवर्तनलाई तीव्र बनाइरहेको छ।
नेपालमा पनि प्लास्टिक झोला र बोतलको प्रयोग तीव्र रूपमा बढिरहेको छ। बजारमा सस्तो मूल्यमा प्लास्टिक झोला पाइने र यसको दिगोपनका कारण मानिसहरूले बारम्बार प्रयोग गर्छन्। तर प्रयोगपछि त्यसलाई फ्याँक्दा यसको उचित व्यवस्थापन नहुँदा वातावरणीय संकट उत्पन्न भएको छ।
विशेष गरी सहर क्षेत्र, पर्यटनस्थल र ग्रामीण क्षेत्रसम्म प्लास्टिकको फोहोरको समस्या छ। हिमाल, पहाड र तराईका खोलानालामा प्लास्टिकले प्रदूषण निम्त्याएको देख्न सकिन्छ।
समाधानका उपायहरू
१. प्लास्टिकको प्रयोगमा कमी
प्लास्टिकको सट्टा कागज, कपडा वा जूटका झोलाको प्रयोग गर्नुपर्छ। ‘वन टाइम युज’ अर्थात् ए पटक मात्र प्रयो हुने प्लास्टिकका उत्पादनहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ।
२. रिसाइकलिङ प्रणालीको विस्तार
प्रयोग भइसकेका प्लास्टिकलाई रिसाइकल गर्नका लागि सरकारी र गैरसरकारी संयन्त्रहरूलाई मजबुत बनाउनु आवश्यक छ। रिसाइकलिङ उद्योगलाई प्रोत्साहन दिन नीति निर्माण गर्नुपर्छ।
३. जनचेतना कार्यक्रमहरू
प्लास्टिकको असरबारे जनचेतना कार्यक्रम सञ्चालन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। स्कुल, कलेजदेखि सामाजिक समूहहरूमा ‘प्लास्टिक प्रयोग नगर्ने’ अभियान सञ्चालन गर्नुपर्छ। विद्यालयमार्फत विद्यार्थी र धार्मिक प्रवचनमार्फत आम धार्मिक संस्कृतिका रूपमा यसको चेतनाको गुणस्तर बढाउनु पर्दछ।
४. सरकारी नीति र नियमको कार्यान्वयन
नेपाल सरकारले ४० माक्रन मुनिका प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो तर यसको प्रभावकारी कार्यान्वयन भएन। नियमलाई सशक्त बनाउँदै अनुगमनलाई कडा बनाउनुपर्छ।
५. व्यावसायिक जिम्मेवारी
बजारमा प्लास्टिक प्याकेजिङ गरिएका उत्पादन बेच्ने व्यावसायिक क्षेत्रले प्लास्टिकको विकल्प खोज्नुपर्छ। ‘हरियो उत्पादन, स्वच्छ वातावरण’ नारालाई आत्मसात् गर्नुपर्छ।
६. सामुदायिक सहभागिता
स्थानीय तह र समुदायले प्लास्टिक व्यवस्थापनमा पहल लिनुपर्छ। प्लास्टिक सङ्कलन अभियान र ‘प्लास्टिकमुक्त गाउँ’ अभियान सञ्चालन गरिनुपर्छ।
७. प्रविधिको प्रयोगबाट समाधान
प्रविधिको सहायताले प्लास्टिकको विकेन्द्रीकृत व्यवस्थापन गर्न सकिन्छ। बायोडिग्रेडेबल प्लास्टिकको विकास र प्लास्टिकलाई वैकल्पिक रूपमा पुनः प्रयोग गर्न प्रविधिहरूमा लगानी गर्नुपर्छ।
हाल विश्वका केही देशहरूले प्लास्टिकबाट इन्धन बनाउने प्रविधि विकास गरिसकेका छन्। नेपालले पनि यसतर्फ ध्यान दिनु आवश्यक छ।
८. नागरिकको जिम्मेवारी
हामी सबैले साना–साना बानीहरू परिवर्तन गर्न थाल्नुपर्छ। बजार जाँदा कपडाको झोला लैजाने। प्लास्टिकका सामान पुनः प्रयोग गर्ने। प्लास्टिक फोहोरलाई घरमै छुट्टाएर राख्ने। युवाहरूले प्लास्टिकविरुद्ध अभियान सञ्चालन गरी आफ्नो समुदायलाई सचेत बनाउने पहल गर्नुपर्छ।
९. पर्यावरणीय संस्कृतिको विकास- नवीन संस्कृतिका रूपमा पर्यावरणीय संस्कृतिको विकास हुनु पर्छ आम जन मानसमा संस्कृतिकै रूपमा प्लास्टिक प्रयोग नगर्ने, नजलाउने, बिरुवा रोप्ने, बिरुवालाई माया गर्ने, घर वरपर हरियाली बनाउने जैविक विविधता नष्ट गर्न नलाग्ने, वातावरण संरक्षणलाई उच्च प्राथमिकता गर्ने जस्ता नवीन मागलाई संस्कृतिका रुपामै समाजले ग्रहण गर्नु पर्छ। जुन दिगो रूपान्तरणको आधार हो।
‘नो प्लास्टिक- प्लास्टिक नलानुस् न है’ भन्ने सन्देशलाई व्यवहारमा लागू गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ। प्लास्टिक प्रदूषणले आज हाम्रो वातावरण मात्र होइन, भविष्यका सन्ततिहरूको अस्तित्वमाथि पनि गम्भीर प्रश्न उठाइरहेको छ।
यदि हामीले आजै सचेत भएर प्लास्टिकको प्रयोगलाई नियन्त्रण गर्न सकेनौँ भने, हाम्रो प्रकृति, जीवजन्तु र सम्पूर्ण मानव सभ्यता संकटमा पर्न सक्छ। त्यसैले प्लास्टिकको विकल्प खोज्ने र वातावरणलाई सफा राख्ने अभियानमा सरकार, समुदाय र नागरिक सबैको सहकार्य अनिवार्य छ। प्रकृति जोगाउनु भनेको हाम्रो भविष्य जोगाउनु हो। आउनुहोस्, प्लास्टिकमुक्त समाज निर्माणका लागि प्रतिबद्ध बनौँ।