साउन महिनाको पहिलो शुक्रवार, लामो समयपछि म काठमाडौँ गएको थिएँ। सोही दिन साँझपख म, दिदी र भाइ असनतिर घुम्दै थियौँ। त्यस्तै ८ बजेको थियो होला। गाडी पाइने सम्भावना नदेखेर हामीले पठाओबाट ट्याक्सी अर्डर गर्यौँ। केही बेरमा एउटा ट्याक्सी लिएर अन्दाजी ५५/६० वर्षका दाइ आउनु भयो।
त्यो दाइको आधा कपाल झरेको थियो, तालु स्पष्ट देखिन्थ्यो, बाँकी भएको थोरै कपाल पनि सेतो भएर फुलेको थियो। सायद बिहानदेखि बेलुकासम्मको कामले होला उहाँको शरीर थाकेको देखिन्थ्यो। अनुहारमा थोरै पीडा, आँखामा थोरै निराशा र त्यसैभित्र कतै एउटा असन्तोष पनि लुकेको थियो।
हामी ट्याक्सीमा चढ्यौँ। ट्याक्सी चाबहिलतर्फ जाँदै थियो। केही बेरको लागि ट्याक्सीमा सन्नाटा छाएको थियो। त्यतिकैमा त्यही दाइले ‘बाबुहरूको घर कहाँ नि?’ भनेर सोध्नु भयो। मैले ‘दाइ हाम्रो घर त स्याङ्जा हो नि, सबैले स्याङ्जाली भन्छन् हामीलाई’ भनेर हाँस्दै भनेँ।
दाइले पनि हाँस्दै भन्नुभयो, ‘ए स्याङ्जा पो हो? स्याङ्जा कुन ठाउँ?’
प्रश्नको प्रतिउत्तरमा मैले ‘स्याङ्जाको गल्याङ बजारमा हो दाइ’ भनेँ। साथै ‘दाइ हजुर त्यहाँ जानु भएको छ?’ भनेर सोधेँ।
‘म तिम्रो बजारमा तिमी जन्मिनभन्दा अघि नै पुगेको थिएँ’ भन्नुभयो। दाइले गल्याङ्ग बजारमा रहेको आँधीखोला हाइड्रो पावर कम्पनी, मिर्मी बजारमा रहेको कालीगण्डकी हाइड्रो पावर कम्पनी र स्याङ्जा-पाल्पा सिमानामा रहेको रानीमहल क्षेत्रमा गएको र त्यसै बारेमा कुरा गर्दै हुनु हुन्थ्यो।
‘दाइ त्यत्रो धेरै ठाउँ घुम्नु भएको रहेछ। स्याङ्जा कस्तो लाग्यो त हजुरलाई?’ मैले प्रश्न गरेँ।
‘त्यता बस्न त धेरै ठिक छ नि भाइ। स्याङ्जा काठमाडौँभन्दा साँच्चै अलग छ। स्याङ्जामा प्रकृतिसँग निकै जोडिएर बस्न सकिन्छ। त्यहाँको हरियाली, शान्त वातावरण र मानिसको आत्मीयता काठमाडौँको भिडभाड र प्रदूषणले कहिल्यै दिन सक्दैन। काठमाडौँमा पैसा र अवसर त छ तर यहाँ समयको अभाव र तनावको बोझ पनि त छ। स्याङ्जाको बिहान सुनौलो घाम र स्वच्छ हावाले सुरु हुन्छ, जबकि काठमाडौँको बिहान गाडीको हर्न र धुलो धुवाँले घेरिएको हुन्छ। हरेक दिन स्याङ्जामा सूर्यास्तले आकाश नै रङ्गाउँछ र मानिसको अनुहारमा सन्तुष्टि झल्काइदिन्छ। के त्यो यहाँ काठमाडौँमा सम्भव होला त? अहँ कुनै हालतमा छैन। यो धुवाँ-धूलो होहल्ला र प्रदूषण बाहेक केही छैन। स्याङ्जा र काठमाडौँ त तुलना गर्न नै मिल्दैन नि भाइ।’
दाइको यो भनाइ त केही मात्रामा ठिक नै लाग्यो मलाई। मलाई त अझै धेरै कुरा सुन्न मन लाग्यो। ‘दाइ, स्याङ्जाको बारेमा अझै के-के सुन्नु भएको छ अझै भन्नु न हामीलाई,’ मैले भनेँ।
त्यतिकैमा दाइले मुस्कुराउँदै भन्नुभयो, ‘अँ मैले पनि स्याङ्जालीहरू धेरै बाठा हुन्छन् भन्ने त्यस्तै ३ ओटा कुरा सुनेको छु।’
हामी स्याङ्जाली नै भए पनि त्यो बारेमा जानकार नभएको हुनाले हामीलाई पनि त्यो कुरा जान्ने धेरै नै मन जाग्यो।
‘दाइ हामीलाई पनि भन्नु न त्यस बारेमा, हामीलाई त यो बारेमा केही जानकार नै छैन,’ मैले भनेँ।
दाइले भन्नुभयो, ‘मैले पनि सुनेको हो भाइ, सत्यतथ्य के हो मलाई थाहा भएन। गल्ती भएमा माफ पाऊँ है।’
‘स्याङ्जालीहरूको बानी नै फरक हुन्छ रे नि। साथी गहिरो निद्रामा हुँदा साथीहरूको जग्गा नामसारी गरिदिन्छन् रे। त्यही भएर स्याङ्जालीहरू सँगै एउटै कोठामा सुत्नु परे हात मुठी पारेर, बूढी औँला मुठीभित्र राखेर सुत्ने गर्नु पर्छ रे।
त्यस्तै, आफ्नी छोरीको अरू कुनै जिल्लाका मानिससँग बिहे भयो भने, बिहेपश्चात् ज्वाइँमाथि नै अदालतमा मुद्दा हालिदिन्छन् रे। अनि ज्वाइँले अदालतको तारिख धाउँदै-धाउँदै, अन्ततः उनीहरू जस्तै बाठो बनाउन पुग्छन् रे र अन्त्यमा मुद्दा नै फिर्ता लिन्छन् रे।
अझ मैले सुनेको, नेपालमा सरकारी जागिर खाने मध्ये सबैभन्दा धेरै त स्याङ्जाली नै हुन्छन् रे,’ दाइले भन्नुभयो।
मलाई त यो कुरा सुनेर धेरै नै अचम्म लाग्यो। स्याङ्जाली भन्न केही मात्रामा गर्व नि लाग्यो अनि केही मात्रामा लाज पनि लाग्यो। सायद स्याङ्जालीहरू साँच्चै फटाहा त नहोलान्। कुनै बेला, कुनै समय, कुनै ठाउँमा कुनै स्याङ्जालीहरूले फट्याई गरेको थिए होला। तर त्यही कुरालाई आधार मानेर अहिलेसम्म सबै स्याङ्जालीहरूलाई दोष लगाउनु अलि उचित नहोला।
‘अनि दाइ हजुरको घर कहाँ नि?’ मैले सोधेँ।
दाइले हाँस्दै भन्नुभयो, ‘मेरो ट्याक्सीमा चढ्ने सबैले चढ्ने बित्तिकै घर कहाँ हो भनेर सोध्छन्। हजुरहरूले अलि ढिलो सोध्नु भयो। अब आफैँ अनुमान गर्नु कहाँ होला मेरो घर कहाँ पर्यो होला?’
दाइको बोल्ने शैली हाम्रो जस्तै थियो र नेपालको बारेमा यति धेरै जानकार भएको हुँदा दाइ नेपालभित्रै कुनै जिल्लाको हुनुहुन्छ होला जस्तो लाग्यो। हामीले एकपछि अर्को गर्दै नेपालको पूर्वदेखि पश्चिमको अधिकांश जिल्लाको नाम भन्यौँ। प्रत्येक चोटि दाइले होइन-होइन भन्दै जानु भयो। मलाई त धेरै नै मज्जा लागिरहेको थियो।
‘के दाइको घर नेपालमा नै हैन?’ भन्दै मैले सोधेँ। दाइले ‘मेरो घर नेपालमा हैन इन्डियामा हो’ भन्नुभयो।
मलाई त धेरै नै अचम्म लाग्यो। कोही परदेशको मान्छेले हामीभन्दा राम्रो नेपाली भाषा बोल्न सक्छन्, हामीलाई भन्दा राम्रो हाम्रो गाउँ-ठाउँको बारेमा जानकार हुन्छ तर कसरी? मलाई त विश्वास नै लागेन।
मैले त ‘होइन होला दाइ, यस्तो मज्जासँग प्रस्ट नेपाली बोल्न सक्नु हुन्छ’ भनेँ। दाइले मुसुक्क मुस्कुराउँदै ‘भा,इ भाषा न हो सिक्न परेपछि सिकी हालिन्छ नि’ भन्नुभयो।
‘अनि दाइ, हजुर किन र कसरी नेपाल आउनु भयो नि?’ मैले सोधेँ।
दाइले हाँस्दै भन्नुभयो, ‘भाइ, कुरा त्यस्तै हो— जहाँ पुग्दैन गाडी, त्यहाँ पुग्छन् बिहारी। मेरो घर बिहार, भारत हो तर ९ वर्षको उमेरमै बाबासँग काठमाडौँ आइपुगेँ। सुरुमा गाडी बनाउने वर्कसपमा काम गर्न थालेँ। त्यही वर्कसपमा मैले ३३ वर्ष काम गरेँ। मेरो मेहनत र इमानदारी देखेर मेरो साहु खुसी हुनुहुन्थ्यो। अन्ततः उहाँले मलाई गाडी किनिदिनु भयो अनि ‘अब यसैबाट तेरो घर परिवार चला’ भनेर भन्नु भयो। त्यस दिनदेखि मेरो भित्री मनदेखि नै इमानदारिता हुने भने आफ्नो देशमा मात्र होइन परदेशमा पनि कदर हुँदो रहेछ भन्ने महसुस भयो, शरीरले जति साथ दिन्छ त्यतिन्जेल नेपालमै काम गर्छु भन्ने भयो।’
‘अनि दाइ, त्यति स्यानो उमेरमा आउनु भएको रहेछ, नेपालको अंगीकृत नागरिकता लिनु भएको छ कि छैन त हजुरले?’
अनि दाइले भन्नुभयो ‘यहाँको अंगीकृत नागरिकता मैले लिएको छैन नि भाइ। नेपाल मेरो कर्मभूमि हो, म यहाँ कर्म गर्न आएको हुँ। यसको अर्थ मैले नेपाललाई माया नगरेको होइन मेरो जीवनको अमूल्य समय यहीँ बितेको छ, यहीँको माटो र मान्छेप्रति अथाह माया छ। तर यथार्थ के छ भने, यहाँको सरकार जनताको लागि केही गर्नै सक्दैन, यो अत्यन्तै नाजुक अवस्थामा छ।
कहिलेकाहीँ लाग्थ्यो भारतको नागरिकता त्यागेर नेपालकै नागरिकता लिऊँ कि भनेर तर आजभोलि महसुस गर्छु, त्यो निर्णय नगरेको नै मेरो सबैभन्दा सही कदम रहेछ। अमेरिका वा अस्ट्रेलिया जस्तो विकास नभएता पनि भारतमा अवसर धेरै छन्। पढ्न, कमाउन, केही गर्न चाहनेका लागि बाटो खुला छ।
भारतमा बेरोजगारलाई नि:शुल्क राशन दिइन्छ, विद्यार्थीलाई आर्थिक अभावका कारण पढाइ रोकिँदैन। छात्रवृत्ति वा निर–ब्याज ऋणमार्फत सहयोग दिइन्छ। तर नेपालमा? कुरा मात्र हुन्छ, कार्यान्वयन कहिले पनि हुँदैन।
नेपाल कहिलेकाहीँ मलाई बाँदर जस्तो र नेपालीहरू बाँदरको बच्चाबच्ची जस्तो लाग्छ। बाँदरले बच्चा त जन्माउँछ तर न बस्ने सुरक्षित ठाउँ हुन्छ, न खाने व्यवस्था, न आफ्नो बच्चालाई पेट भर्ने गरी स्तनपान नै गराउन नै सक्छ। यहाँको धेरै नेपालीहरू पनि त्यस्तै अवस्था भोगिरहेका छन्। घर त छ तर जीवनका आधारभूत सुविधा र अवसरबाट वञ्चित छन्। सरकार भने जनतालाई लुटेर मात्र बसेको छ।
ट्याक्सी चलाउँदा म असङ्ख्य यात्रुहरू भेट्छु। धेरै विमानस्थलतर्फ जाने र केही मात्रामा फर्किने पनि। जाने सबैका आँखा रसाएका हुन्छन्। धेरैको परिवार छुटिएको देखेको छु, धेरैका आँसु यतै मेरो गाडीमा खसेका देखेको छु। ती आँसु बाध्यता र सरकारी विफलताको प्रतिफल हुन्। आफैँ झरेका आँसु होइनन्। सरकारले झारेका आँसु हुन्।
हरेक दिन मैले यस गाडीमा चढाउने युवा-युवतीहरूमा असन्तुष्टि भेटेको छु। धेरैको मन विदेशतर्फ पलायन हुने भेटेको छु। यस्तो अवस्था देख्दा मन भारी हुन्छ। किनकि थोरै मात्र सही दिशा र सुधार भए, सबैलाई यस्तो दुःख हुने थिएन हो। आफ्नो परिवार छोडेर विदेश पलायन हुने थिएनन् होला। आफ्नो रगत र पसिना परदेशमा पोख्दैन थिए होला।
कोही बेला नेपालीहरूसँग यही विषयमा मेरो छलफल पनि हुन्छ। जसले यो बुझेको छन्, उनीहरूले हो भन्छन्, आफ्नो पीडा पोख्छन्। जसले बुझेको छैनन् उल्टै मलाई त विदेशीले हाम्रो देशको बारेमा नबोल भन्छन्।
होला म विदेशी हुँ
तर मेरो तन र मन नेपालमा छ।
होला मेरो जन्म विदेशमा भयो
तर मेरो जीवन नेपाल मा कटाएको छु।
होला मेरो जन्म विदेशमा भयो
तर मेरो रगतमा र पसिनामा नेपाल छ।
होला मेरो नागरिकता परदेशको तर
नेपाली जीवन म कटाइरहेछु।
होला समृद्ध नेपाल कुनै दिन
सर्वप्रथम अंगीकृत नागरिकता मै लिने छु
सर्वप्रथम अंगीकृत नागरिकता मै लिने छु।’
दाइले यति भनिसक्दा हामी हाम्रो गन्तव्यसम्म पुगिसकेका थियौँ। दाइसँग फेरि कुनै दिन भेट होस् है भनी पुकारी गाडीबाट हामी ओर्लियौँ।
दाइको यति राम्रो कुरा सुनेर मेरो मन नै चिसो भएर आएको थियो। साँच्चै! दाइले नेपाल र नेपालीको बारेमा यति धेरै अध्ययन गर्नु भएको रहेछ। नेपाल र नेपालीप्रति यति धेरै माया गर्नु भएको रहेछ। साँच्चै हाम्रो देशले आफ्नो नागरिकलाई केही गर्न नै सकेको छैन। दिन प्रतिदिन नागरिक परदेशिनेको सङ्ख्या बढ्दो छ। सरकारले छिटोभन्दा छिटो राम्रो पहल गर्न जरुरी छ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।