‘पोखरा पनि मान्छे बस्ने ठाउँ हो र? यो त राक्षस बस्ने ठाउँ हो!’
‘किन भाइ यस्तो लागेको तपाईंलाई, के भयो यस्तो?’ हल्का मुस्कुराउँदै प्रश्न गरेँ।
‘गर्मी त्यस्तै छ। असिनपसिन छ। भागदौड त्यस्तै छ। पिच बाटो हनहनती तातेर राप नै आएको छ। हरियाली कहीँ कतै छैन,’ जवाफ पाएको थिएँ मैले।
झन्डै १५ वर्ष काठमाडौँ बसेर कामको सिलसिलामा पोखरा आइपुगेको म। काठमाडौँलाई चालक कृष्ण भाइले के भन्दा हुन्, सोचिरहेछु!
गर्मी त काठमाडौँको तुलनामा पोखरामा अलिक बढी नै रहेछ। तर २/४ जना साथीहरू बाटोमा भेट हुँदा यसो रुखको वा चौपारिको छायामुनि थ्याच्च बसौँ भन्ने ठाउँहरू पोखराका चोक-चोकमा देख्न सकिन्छ नै। त्यो देख्दा खुसी लाग्छ।
कृष्ण भाइले भनेजस्तो पोखरा ठ्याक्कै त्यस्तो पनि होइन, साँच्चिकै सुन्दर छ। खै उनले किन यस्तो कुरा गरे? मैले खासै तर्क/स्पष्टीकरण गर्न/दिनतिर लागिनँ पनि!
हल्का काला काला वर्णका, पेट पनि हल्का लागेका, झ्याम्मै अनि बाक्ला दाह्री पालेका, गर्मीले लगाएको टिसर्ट भिजेका कृष्ण भाइ, म यात्रारत जिपमा चालक थिए। पोखराबाट अर्जुन चौपारि (स्याङ्जा) हुँदै छापसम्मको मेरो यात्रा तियो।
घटना असार ७ गतेको हो यो। बुबाको श्राद्धका निम्ति गाउँ जाँदै थिएँ। जिपमा म लगायत दुई जना अरू यात्रु हुनुन्थ्यो।
‘छोरेपाटन कटिसकेपछि अलिक आरामको महसुस हुन्छ,’ चालक कृष्ण भाइ भन्दै थिए। उनी पर्वतको लाम्तुनबाट दिनहुँ पोखरा आउने जाने गर्छन्।
गाउँमा बिहान पारेको मोही, तताएर तयार पारेको घिउ, तिहुन तरकारी पोखराका घर-घरमा पुर्याउने काम कृष्णले गर्छन्। मेरै आमालाई नि सामानसहित मेरो डेरामा ल्याइपुर्याएका थिएँ।
सोच्दछु, जमाना कति सहज भयो! फोनका भरमा गाडी घर-घरमा लिन आउने भए।
हाम्रो जिप छोरेपाटनबाट उकालो लाग्यो। गाडी खाली खाली छ। बर्खाको समय जताततै हरियाली छ।
‘ए, कृष्ण बाजा लगा,’ हामीसँग यात्रारत एक जना गुरुङ्सेनी आमाको फर्माइस आयो। कृष्ण नौमती बाजा लगाउँछन्। म आफ्नै लयमा मन्द मुस्कान दिन्छु।
उखरमाउलो गर्मीले अत्त्याएको शरीरले शीतल महसुस गर्छ। मन त्यसै त्यसै चङ्गा छ।
पृथ्वी चोकबाट २:३० मा हिँडाउने बाचा गरेका कृष्णले ३:२५ सम्म पनि गाडी गुडाएनन्। मलाई पनि त्यति विघ्न हतारै पनि थिएन किनकि मैले घरमै जाने जिप फेला पारेको थिएँ। गाडी गुडाउन थालेपछि भने तुफानै गतिमा कुदाए। एकै छिन जस्तो लाग्ने भालु पहाड नजिक रहेका होटेलमा जिप पुर्याए। त्यही खाजा खाने निधो भयो। मेरो एक छाके भएकाले मैले कालो चिया मात्र खाएँ।
प्रविधिले दिएको फाइदा किन उपभोग नगर्ने सोच मनका पलायो। त्यही मौकामा भालु पहाडसहितको सानो भिडियो क्लिप तयार पारेँ। फेसबुकको माई स्टोरीमा पनि अपलोड गरिहालेँ। अर्जुनचौपारीबाट गाउँका लागि उकालो लागेपछि कृष्णले फेरि भने, ‘दाइ, अब तपाईंले अर्कै महसुस गर्नुहुन्छ। खोलाको कलकल सुमधुर आवाज, चराचुरुङ्गीको कलरव स्वर, सिरसिर चल्ने शीतल हावा तपाईंलाई स्वर्गको अनुभूति हुने छ।’
म हाँसेँ र मुन्टो हल्लाएँ।
६ बजेतिर जिप म ओर्लने ठाउँमा रोकियो। भाडा तिरेर म धन्यवादसहित कृष्ण भाइसँग बिदा भएँ।
बाटा घाटा कतै कालोपत्रे भइसके, कतै हुने तरखरमा छन्। सुविधाहरू थपिँदै छन्। जीवन सहज पनि बनेको छ तर गाउँ सुनसान छन्। यही कुरा सोच्दै घरतिर लखर लखर लाग्दै छु।
भोलिपल्ट श्राद्ध कर्म सकेर म ३ बजेतिर अर्जुनचौपारी नजिक ससुराली गाउँमा बास बस्ने उद्देश्यअनुरूप बाटो लाग्छु। आमा भन्दै हुनुन्थ्यो, ‘टन्टलापुर घाम छ, अलिकपछि जाऊ न।’
‘भो आमा! बचेखुचेका बाँकी परिवारका सबैसँग भेट गर्दै झर्छु,’ भन्दै म हिँडी पनि हालेँ।
गोरेटा बाटाहरू पनि सिमेन्ट लगाएर चिटिक्क पारिएका छन्। म आरामसँग फोटाहरू, भिडियोहरू खिच्दै छु। अनि फेसबुकको माई स्टोरीमा अपलोड पनि गरिहरेछु।
मलाई किन-किन गाउँ पुगेपछि सबैसँग एक पटक भेटेर सन्चो बिसन्चो साट्न मन लाग्छ। आखिर मरेर जाने चोला नै हो। मान्छेले के नै पो लग्छ र!
थुम्की आइपुगेपछि लगभग गाउँकै उमेरले डाँडो काटिसक्नु भएकी हजुरआमासँग भेट भयो। एउटा सेल्फी खिचेँ। हजुरआमालाई फेसबुकमा राखेको कुरा बताएँ। मुजा परेको अनुहार हर्षित भयो।
‘ए! तिम्रो बाउ पनि त्यस्तै तियो। बोलाउँदै हिँड्थ्यो। माया गर्थ्यो। अल्पायु रहिछ,’ हजुरआमा भन्दै हुनुन्थ्यो।
म नोस्टाल्जिक भएँ। बुबाको त्यो स्वभावलाई परख गर्ने मेरो उमेर नै कहाँ भएको तियो र! म ३२ औँ श्राद्ध गर्ने मेलोमा गाउँ पुगेको थिएँ। हजुरआमासँग बिदा मागेर म लागेँ गन्तव्यतिर।
बाटोमा ढावाको जरुवा पानीको धारा छ। हामी कुनै जमानामा थिन आरारोट बिस्कुट त्यही पानीमा भिजाएर खान्थ्यौँ। जब जब म पानी प्यासको अनुभव गर्छु, त्यही ढावाको पानी सम्झिन्छु। ती यादगारहरूलाई पनि मैले मोबाइलमा कैद गरेँ।
मेरो जेठो छोरो (११ वर्ष) काठमाडौँमा जन्म्यो, उतै हुर्कियो। पोखरा आइसकेपछि ऊ पटक्कै खुसी छैन। टाउको दुख्यो भनेर हस्पिटल नै लग्नुपर्ने परिस्थिति सिर्जना भयो। कारण रहेछ एक्लोपन! अहिले बिस्तारै बानी पर्दै छ।
सोच्दै छु, मान्छेका लागि ऊ जहाँ जन्मियो, हुर्कियो त्यही नै प्यारो रहेछ। त्यहाँ चाहे हरियाली होस् वा कङ्क्रिट नै किन नहोस्!
खासमा मेरो उद्देश्य पनि मज्जासँग घुमफिर गर्दै समय लिएर नै हिँड्ने चाहना थियो।
माई स्टोरीमा भिडियो देखेपछि मेरा एक जना साथी मेक केसीले भेटौँ साथी भनी म्यासेज पठाएँ। मैले तुरुन्तै फोन गरेँ। हाम्रो भेट भयो।
एसएलसीसम्मका मेरो सहपाठी लामो समय इन्डियन आर्मीमा भर्ती भएर जागिर गरे। प्राइभेट स्नातक अनि जागिरबाट अवकाश भएपछि विश्वविद्यालय क्याम्पसमा स्नातकोत्तर उत्तीर्ण गरे। त्यो पनि कलेज टप गरेर। अहिले नजिकै बोर्डिङका प्राचार्य भएर काम गरिरहेछन्। शिक्षा पत्रिकाले आफ्नो फेसबुक पेजमा समेत उनको कथा राखेको तियो। मलाई उनी निकै प्रेरणादायी लाग्छन्।
स्कुलमा बर्खे बिदा रहेछ। उनले चार वर्षमा आफ्ना प्रगतिका कुरा सुनाए। म मक्ख परेर सुनिरहेँ। हामीले विगत र आगतका लामै गफ गर्यौँ।
खैर, साथीले धेरै नै राम्रो काम गरेका छन्। त्यो चेतना स्तर भएको ठाउँमा। अन्त्यमा एउटा सम्झनारूपी तस्बिर खिचेर हामी छुट्टियौँ।
बाटोमै आफैले पढेको विद्यालयमा बस्ने चाहना बन्यो। समय झन्डै ६:४५ भइसकेको तियो। विद्यालय सुनसान तियो। सरर हेरेँ अनि फर्की पनि हालेँ।
त्यही बिचमा मलाई तीन पटक फोन आइसकेको तियो। अँध्यारो पनि भइसकेको तियो। म अलिक लामा पाइला गरी हिँड्दै थिएँ। बाटामै घर पर्ने वडा अध्यक्ष दाजुले नै बोलाउनुभयो। त्यही मौकामा मलाई विद्यालय स्तरमा अध्यापन गराउने आदरणीय गुरु जीतबहादुरको आगमन भयो। एकै छिन हामी गफियौँ। त्यसपछि म घरतिर लागेँ।
घरमा आमाको गुनासो थियो, ‘किन सधैँ यति ढिला!’
भोलिपल्ट बिहानै पोखरा पुग्नु पर्ने तियो। ६:३० मा नै इको भ्यान मेरा लागि तयारी तियो। भर्खरै युवा अवस्थाका सागर भाइ इको चालक थिए। उनले मलाई आफू सँगैको सिटमा बस्न सुझाए। हुन त सागर भाइको इकोमा यो मेरा तेस्रो यात्रा तियो। उनले बजारतिर प्यासेन्जरका लागि इको कुदाए। बाटोमा भेट्ने जति दाइ, दिदी, अङ्कल आन्टी सबैलाई नमस्ते, गुड मर्निङ भन्न कत्ति पनि भुलेनन्।
म सुन्दै छु, अहिलेका पुस्तालाई आफन्तसँग, ठुलाबडासँग आदर सत्कार गर्न नै आउँदैन भन्ने जुन आरोप छ। मलाई ठ्याक्कै त्यस्तै हो भन्ने लाग्दैन।
एक जना दिदीले झन्डै १५ तोला जतिको गरगहनाको कुटुरो नै सागरलाई जिम्मा लगाइन्। पोखरा बुहारीलाई दिनका लागि। अलिक अगाडि आएपछि एक जना बुबाले तरकारीको बोरा चढाए। अनि बाबु अघिल्लो पटकको पनि मैले तिमीलाई पैसा दिएको थिइनँ भन्दै कन्डक्टरलाई पैसा थमाए।
सोच्दछु, समाज विश्वासकै भरमा त चलेको छ।
यात्रामा हामीले गाउँघरका, व्यक्तिका चरित्र बारे लामै कुरा गर्यौँ। अन्ततः सागरले मलाई मेरो घरमा नै पुर्याइदिए। धन्यवादसहित हामी छुट्टियौँ। पोखरा बिहानै (१०:३०) तातिसकेको तियो।
म वाशरूममा पसिना पखाल्दै छु अनि तीन दिन अगाडि उनै कृष्ण भाइले भनेको सम्झिँदै छु, ‘पोखरा पनि मान्छे बस्ने ठाउँ हो र?’